आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Sunday, February 5, 2017

माक्र्सवादी ज्ञान सिद्धान्तका सन्दर्भमा

दर्शन
– हस्तबहादुर केसी
ज्ञान सम्बन्धी सिद्धान्त द्वन्द्वात्मक भौतिकवादको एक महत्वपूर्ण तत्व हो । अन्तर्राष्ट्रिय सर्वहारावर्गका महान्् नेता भ्लादिमिर इल्वीच लेनिनले माक्र्सवादी ज्ञान– सिद्धान्तका बारेमा भन्नुभएको छ– ‘द्वन्द्ववाद माक्र्सवादको ज्ञान सम्बन्धी सिद्धान्त हो’– लेनिन, सङ्कलित रचनाहरू, भाग ३८, पृ. ३६२ ।
द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त भौतिक संसार र चेतनाबीचको सम्बन्धको आधारभूत सवालको अर्को महत्वपूर्ण पक्षसित सम्बन्धित छ । आफु रहेको संसारलाई हामी जान्न सक्छौँ कि सक्दैनौँ ? के त्यो यथार्थको ठीक प्रतिबिम्ब हुन सक्छ ? के चिन्तन र सत्ताको मेल हुन सक्छ ? यी प्रश्नहरूको जवाफ पनि भौतिकवाद र आदर्शवादले एकदमै भिन्न–भिन्न ढङ्गले दिएका छन् । यस विषयमा दार्शनिकहरू दुई खेमामा विभाजित । यो संसार ज्ञेय छ (बुझ्न र जान्न सकिन्छ) भन्ने दार्शनिकहरू भौतिकवादी खेमामा खडा भएका छन् भने यो संसार अज्ञेय छ (बुझ्न र जान्न सकिँदैन) भन्ने दार्शनिकहरू आदर्शवादी (अध्यात्मवादी) खेमामा खडा हुन पुगेका छन् ।
जीवन र जगत्को सामान्य नियमहरूको अध्ययन दर्शन हो । दर्शनको खास अर्थ ‘हेर्न खोज्नु र बुझ्नु’ हुन्छ । विश्व ब्रह्माण्डको उत्पत्ति कसरी भयो ? पृथ्वीमा जीवजन्तु र मानिसको उत्पत्ति कसरी भयो ? जीवन र जगत्लाई चलाउने शक्ति या नियम के हुन् ? पदार्थको स्थान पहिलो कि चेतनाको स्थान पहिलो ? आदि विषयहरूको खोज, व्याख्या र दृष्टिकोणलाई दर्शन भनिन्छ । आज विश्वमा धेरै प्रकारका दर्शनहरू देखिए पनि मुख्यतया दर्शन दुई प्रकारका छन् । एकथरि चेतनालाई आदि तत्व वा मूल तत्व मानेर जगत्लाई त्यसको स्वतःस्फूर्त रचना मान्ने अध्यात्मवादी दर्शन र अर्को पदार्थलाई मूल तत्व र त्यसको विकसित रूपलाई चेतना मान्ने भौतिकवादी दर्शन ।
पदार्थलाई आदितत्व र चेतनालाई पदार्थबाटै उत्पन्न भएको कुरा मान्ने दार्शनिकहरू भौतिकवादसित सम्बन्धित छन् । उनीहरूको दृष्टिकोणमा पदार्थ शाश्वत् छ अर्थात् कसैले पनि कहिल्यै पनि पदार्थको सृष्टि गरेको होइन र वस्तुगत जगत्मा कुनै किसिमको अलौकिक वा पारलौकिक शक्तिको अस्तित्व छैन । चेतना चाहिँ पदार्थको ऐतिहासिक विकासको उपज हो भन्ने अवधारणा भौतिकवादी दार्शनिकहरूको रहेको छ भने ‘आत्मा’ चेतनालाई आदि तत्व मान्ने दार्शनिकहरू अध्यात्मवादसित सम्बन्धित छन् । उनीहरूको दृष्टिकोणमा पदार्थभन्दा पहिले नै चेतनाको अस्तित्व थियो र त्यसैले पदार्थलाई जन्माएको हो अर्थात् चेतना नै सम्पूर्ण अस्तित्वको पूर्वाधार हो भन्ने दार्शनिकहरू अध्यात्मवादसित सम्बन्धित छन् र उनीहरूले जगत्को बोधगम्यतालाई अस्वीकार गर्छन् ।
द्वन्द्वात्मक भौतिकवादी दार्शनिक एवम्् वैज्ञानिक साम्यवादका प्रवर्तक कार्ल माक्र्सको उदय हुनुभन्दा पहिले नै जीवन र जगत्लाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने कार्य प्रशस्त मात्रामा भइसकेको थियो तर जीवन र जगत्लाई सञ्चालन गर्ने र त्यसलाई बदल्ने सन्दर्भमा अध्यात्मवादी धारणाले काम गर्दै आएको थियो । दर्शनका क्षेत्रमा भएका सबभन्दा पछिल्लो विकासका क्रममा शास्त्रीय जर्मन दर्शनका रूपमा हेगेलको द्वन्द्ववाद र लुडाविक फायरवाखको भौतिकवादको रूपमा देखापरेको थियो । तत्कालीन समयमा देखापरेका यी दुई दर्शनका मूल्यवान् तथा सुसङ्गत विचारहरूलाई आत्मसात् गरेर कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सेले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनको विकास गरे । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन माक्र्सवादी विश्वदृष्टिकोण हो । यसले प्रकृति, मानव समाज र विचारधारात्मक विकासका अधिकतम सामान्य नियमहरूको अध्ययन र वैज्ञानिक व्याख्या गर्दछ । माक्र्सवादी दर्शन त्यस्तो दर्शन हो, जसले विश्वलाई रूपान्तरण गर्नका लागि त्यसलाई बुझ्ने प्रयत्न गर्दछ । यस विषयमा कार्ल माक्र्सले यसरी व्याख्या गर्नुभएको छ– ‘दार्शनिकहरूले संसारको बेग्लाबेग्लै व्याख्या मात्रै गरेका छन् तर गाँठी कुरा त त्यसलाई बदल्नु पो हो त ।’– कार्ल माक्र्स, फायरवाख सम्बन्धी प्रस्थापनाहरू ।
प्रकृति, समाज, राज्यव्यवस्था आदि बारेमा कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले महान्् खोज र प्रयोगद्वारा निकाल्नुभएको वैज्ञानिक तथा क्रान्तिकारी विचार, सिद्धान्त र व्यवहारको संयुक्त योगलाई माक्र्सवाद भनिन्छ । माक्र्सवादले सामन्त वर्ग र पुँजीपतिवर्गको राज्यव्यवस्थालाई निषेध गरेर सर्वहारा श्रमजीवीवर्गको राज्यव्यवस्था स्थापना गर्ने सही तथा क्रान्तिकारी बाटो देखाउँछ । विश्व ब्रह्माण्डको सृष्टि र सञ्चालन ईश्वरले गर्दछ भन्ने सृष्टिवादी अध्यात्मवादको पूर्ण रूपले खण्डन गरी त्यसको ठाउँमा प्रकृति र समाजको द्वन्द्वात्मक विकासको सिद्धान्त अघि सारेको छ । यसका मौलिक विशेषताहरू द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, वर्गसङ्घर्ष, अतिरिक्त मूल्यको सिद्धान्त, तल्लो वर्गको जनतामा राज्यको शक्ति आदि कुरा लेखेको छन् ।
ज्ञान–सिद्धान्तको क्षेत्र
वस्तुगत जगत्का नियमको सक्रिय तथा उद्देश्यमूलक मानसिक प्रतिबिम्बलाई ज्ञान भनिन्छ । भीआई लेनिनले ‘ज्ञान भनेको वस्तुसँग चिन्तनको शाश्वत् र अन्त्यहीन समानुपातीकरण हो’ भन्नुभएको छ । ज्ञानको आधार भनेको व्यवहार हो । व्यवहार भनेको विश्वलाई रूपान्तरण गर्ने मानिसहरूको भौतिक क्रियाकलाप हो । द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिद्धान्त अनुसार ज्ञानको स्रोत मानिसको चारैतिर जगत्मा उसको व्यवहार हो । ज्ञान प्राप्ति भनेको मानिसको मगजमा वस्तुगत जगत् र त्यसका नियमहरूको क्रियाशील तथा मानसिक क्रियाकलापहरूको प्रतिबिम्ब हो । बाह्य जगत्ले मानिसमाथि असर पार्दछ र मानिस त्यही अनुरूप अनुभूति, अवधारणा र ज्ञान उत्पन्न गर्दछ ।
वस्तुगत जगत्मा रहेका वस्तुहरू तथा घटनाहरूलाई मानवीय ज्ञानको एक मात्र स्रोतको मान्यता दिनु नै माक्र्सवादी तथा द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिद्धान्तको आधारभूत प्रस्थानविन्दु हो । कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले ज्ञान प्राप्तिको वैज्ञानिक तथा व्यावहारिक धरातलमा उभिएर पहिलेका दार्शनिकहरूको सीमिततालाई हटाएर गुणात्मक दृष्टिकोणले नै नयाँ द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिद्धान्तको प्रतिपादन गर्नुभयो । व्यावहारिक अनुभव अर्थात् मानिसहरूको भौतिक उत्पादन सम्बन्धी क्रियाकलापलाई ज्ञान प्राप्तिको आधार मान्नु नै माक्र्सवादी ज्ञान सिद्धान्तको मूलभूत विशेषता हो । माक्र्सवादी दर्शनमा अनुभव भनेको ज्ञान प्राप्तिको प्रक्रियाको आधार र प्रस्थानविन्दु मात्र होइन, यो ज्ञानको सत्यता र सहीपनाको कसौटी हो भनिएको छ । यस विषयमा भीआई लेनिनले भन्नुभएको छ– ‘जीवन र अनुभवको दृष्टिकोण नै ज्ञान सिद्धान्तको पहिलो मुख्य दृष्टिकोण हुनुपर्छ र यसले अनिवार्यतः भौतिकवादमा नै ल्याउनेछ ।’
व्यवहार नै ज्ञान प्राप्तिको पहिलो आधार
द्वन्द्वात्मक भौतिकवादी ज्ञान–सिद्धान्त अनुसार प्रकृति र समाजलाई बदल्न मानिसले गर्ने सक्रिय क्रियाकलापलाई व्यवहार भनिन्छ । श्रम र भौतिक उत्पादन नै त्यसको आधार हो । राजनीतिक सङ्घर्ष सञ्चालन गर्नु, वर्गसङ्घर्षको उठान गर्नु, राष्ट्रिय मुक्ति आन्दोलन तथा वैज्ञानिक अनुसन्धान सबै प्रयोग गर्नु जस्ता सक्रिय व्यवहारद्वारा नै मानिसले प्रकृतिमा भएका ठोस भौतिक वस्तुहरूको रूपान्तरण मात्र नगरेर नयाँ वस्तुहरूको निर्माण समेत गर्दछ । त्यसको निम्ति मानिस प्रत्यक्ष रूपमा श्रममा संलग्न हुनुपर्छ किनभने व्यवहार नै ज्ञानको प्रस्थानविन्दु र आधार हो । सर्वप्रथम स्वयम् ज्ञान नै व्यवहारको आधारमा र मुख्यतया भौतिक उत्पादनको प्रभावले गर्दा उत्पन्न भएको थियो भन्ने कुरा द्वन्द्वात्मक भौतिकवादी (माक्र्सवादी ज्ञान) ज्ञान सिद्धान्तले प्रमाणित गरिदिएको छ । यस विषयमा कमरेड माओत्सेतुङले यसरी व्याख्या गर्नुभएको छ– ‘व्यवहारद्वारा सत्य पत्ता लगाऊ र फेरि व्यवहारद्वारा सत्यको परख गर र त्यसलाई विकसित गर । इन्द्रियग्राह्य ज्ञानबाट सुरु गर र सक्रियतापूर्वक त्यसलाई बुद्धिसङ्गत ज्ञानमा विकसित गर, अनि बुद्धिसङ्गत ज्ञानबाट सुरु गर र मनोगत तथा वस्तुगत दुबै संसारलाई फेर्नका लागि सक्रिय रूपले क्रान्तिकारी व्यवहारको पथप्रदर्शन गर । व्यवहार ज्ञान, फेरि व्यवहार, फेरि ज्ञान । यो क्रम अनन्त रूपले दोहोरिन्छ र प्रत्येक आवृत्तिका साथसाथै व्यवहार र ज्ञानको सारतत्व माथिल्लोस्तरमा पुग्दछ । यो नै सम्पूर्ण द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिद्धान्त हो र यो नै बोध र कार्यको एकता सम्बन्धी द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त हो’ माओत्सेतुङ, सङ्कलित रचना भाग १ पृ. २४६ ।
मानिस आफ्नो अस्तित्वको पहिलो घडीदेखि नै श्रम गर्न बाध्य भयो । मानिस आफ्नो जीवनयापनका साधनहरू जुटाउन बाध्य भयो । श्रमको दौरानमा मानिसले प्रकृतिका जटिलतम शक्तिहरूसित लड्नुप¥यो र तिनलाई बदल्दै आफ्नो हितानुकूल काममा प्रयोग गर्दै विस्तार–विस्तार तिनको ज्ञान पनि हासिल गर्दै गयो । उत्पादनको भावी विकासको निम्ति नयाँ नयाँ ज्ञानको आवश्यकता पर्दै गयो । त्यसको पूर्तिको लागि विविध निर्माणको काममा जुट्दै गयो र विज्ञान र प्रविधिको समेत विकास गर्न सक्षम भयो । वैज्ञानिक ज्ञानले व्यवहारबाट नै यन्त्र, उपकरण र प्रविधिहरूको निर्माण गर्न सफल भयो र व्यवहारले ज्ञान प्राप्तिमा योगदान पु¥याउँदै आएको छ । अतः व्यवहार ज्ञान प्राप्तिको आधार मात्र नभएर मानिसको उद्देश्य प्राप्त गर्ने वैज्ञानिक हतियारको रूपमा प्रमाणित हुन पुग्यो ।
ज्ञान प्राप्ति मानिसहरूको श्रमको एउटा रूप हो । यो मानिसको सैद्धान्तिक क्रियाकलाप पनि हो । सिद्धान्तले स्वतः वास्तविकतालाई सक्दैन, त्यसमा सिद्धान्त र व्यवहारका बीचमा एकता कायम भएको हुन्छ । यही नै सिद्धान्त र व्यवहारबीचको अन्तर हो । अव्यावहारिक सिद्धान्त निरर्थक हुन्छ । भनिन्छ, सिद्धान्तविनाको व्यवहार अन्धो हुन्छ र सिद्धान्तले व्यवहारलाई बाटो देखाउँछ । आफ्नो सुप्रसिद्ध लेख व्यवहारबारेमा कमरेड माओत्सेतुङले सिद्धान्त र व्यवहारको सम्बन्धबारे निचोडको रूपमा भन्नुभएको छ– ‘हाम्रो निष्कर्ष हो, मनोगत र वस्तुगतको सिद्धान्त र व्यवहारको ज्ञान र ठोस कार्यको ऐतिहासिक एकता’ माओत्सेतुङ चुनिएका रचनाहरू, भाग १ पृ. ३०८ ।
प्रत्यक्ष अनुभवबाट भावनात्मक चिन्तन
द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त अनुसार ज्ञान प्राप्ति स्थिर हुँदैन । यो निरन्तर गतिशील र विकासशील हुन्छ । प्रत्यक्ष अनुभवबाट भावनात्मक चिन्तनतिरको गतिमा ज्ञान प्राप्तिको विकास प्रक्रियाको अभिव्यक्ति भएको पाइन्छ । यस विषयमा लेनिनले भन्नुभएको छ– ‘प्रत्यक्षबोधबाट भावनात्मक चिन्तनतिर, अनि त्यसबाट व्यवहारतिरको बाटो नै सत्यको ज्ञान अर्थात् वस्तुगत यथार्थताको ज्ञानको मार्ग हो’ भीआई लेनिन, सङ्कलित रचना सङ्ग्रह, खण्ड २९ पृ. १५२–१५३ ।
ज्ञानेन्द्रियहरूको सहायताबाट बाह्य जगत्का वस्तुहरूको परिचयद्वारा नै ज्ञान प्राप्तिको प्रक्रिया सुरु हुन्छ । दैनिक अनुभवबाट नै मानिसलाई यस कुरामा विश्वास हुन्छ । प्रत्यक्ष अनुभव नै ज्ञान प्राप्तिको बाटोमा चालिने पहिलो पाइला हो । ज्ञान प्राप्तिको बाटोमा अनुभूतिहरूको ज्यादै ठुलो महत्व हुन्छ किनभने जगत्का वस्तुहरूबाट ठीक–ठीक जानकारी राख्न तिनले मानिसलाई आवश्यक सामग्रीहरू दिन्छन् । ज्ञान प्राप्तिको सम्पूर्ण प्रक्रिया तथ्यहरूमा आधारित हुन्छ । माक्र्सवादी दार्शनिकहरूले ज्ञान प्राप्तिको जटिलतम प्रक्रियामा वस्तुगत जगत्बाट त्यसलाई अलग्याउन पर्दा हाल्दै आएको अध्यात्मवादको ज्ञान शास्त्रीय मूल प्रवृत्तिहरूलाई चकनाचुर पारिदिएका छन् । लेनिनले अध्यात्मवादलाई ‘फलहीन फूल’ को संज्ञा दिनुभएको छ ।
सत्यको बारेमा माक्र्सवादी दृष्टिकोण
द्वन्द्वात्मक भौतिकवादमा ‘सत्य’ भन्ने शब्दले वस्तु सम्बन्धी त्यो ज्ञान बुझाउँछ, जसले त्यस वस्तुको सही प्रतिबिम्ब उतार्दछ र जुन त्यस वस्तुको अनुरूप हुन्छ । द्वन्द्वात्मक भौतिकवादले मानव जातिको युगौँको व्यवहार तथा विज्ञानका उपलब्धिहरूको आधारमा सत्य वस्तुरपरक हुन्छ भन्ने पुष्टि गरेको छ । जस्तै, पृथ्वी भकुण्डो जस्तो गोलो छ भन्ने निष्कर्षलाई नै लिन सकिन्छ । यो निष्कर्ष सत्य छ किनभने त्यो वास्तविकताको अनुरूप छ । यो पृथ्वीको स्वरूप मानिसले सोचेभन्दा धेरै बाहिर छ किनभने मानिसभन्दा धेरै पहिले नै पृथ्वीको अस्तित्व थियो । माक्र्सवादी ज्ञान सिद्धान्तले ‘पदार्थ प्रथमोत्पन्न हो र चेतना द्वितीयोत्पन्न हो’, ‘चेतना मस्तिष्कको स्वभाव हो’ भन्ने अवधारणा नै सत्यको बारेमा माक्र्सवादी दृष्टिकोण हो ।
व्यवहार नै सत्यको कसौटी
माक्र्सवादी दार्शनिकहरूले व्यवहारलाई नै सत्यको कसौटी हो भन्ने प्रमाण प्रस्तुत गरेका छन् । द्वन्द्वात्मक भौतिकवादमा सत्य भन्नाले वस्तु सम्बन्धी त्यो ज्ञानलाई बुझिन्छ, जसले त्यस वस्तुको सही प्रतिबिम्ब उतार्दछ र जुन त्यसको अनुरूप हुन्छ । जस्तै– ‘पिण्ड अणुहरूबाट बनेको हुन्छ’,‘मानिस भन्दा पहिले नै पृथ्वीको अस्तित्व थियो’, ‘जनता नै इतिहासका वास्तविक निर्माता हुन्’ इत्यादि विज्ञानले सिद्ध गरेका निष्कर्षहरू सत्य छन् भन्ने निचोडमा माक्र्सवादी दार्शनिकहरू पुगेका छन् ।
अध्यात्मवादको विपरीत भौतिकवादले मानव जातिको युगौँदेखिको व्यवहार तथा विज्ञानका उपलब्धिहरूको आधारमा सत्य वस्तुपरक हुन्छ भन्ने दृष्टिकोण गरेको पाइन्छ । सत्यले वस्तुगत रूपमा अस्तित्वमा रहेको जगत्लाई नै प्रतिबिम्बित गर्छ । त्यसै कारणले सत्यको सार पनि मानव चेतनामा निर्भर रहँदैन । यस विषयमा भीआई लेनिनले भन्नुभएको छ– ‘सत्य भनेको हाम्रो ज्ञानको यस्तो सार हो, जुन मानिसमा भर पर्दैन, मानव जातिमा भर पर्दैन । सत्यको सार तिनै वस्तुगत प्रक्रियाहरूको निरुपित गर्छन् । जसलाई त्यसले प्रतिबिम्बत गरेको हुन्छ’ लेनिन, सङ्कलित रचना सङ्ग्रह, खण्ड १८, पृष्ठ १३७ ।
उदाहरणको निम्ति ‘पृथ्वी भकुन्डो जस्तै गोलो छ’ भन्ने निष्कर्षलाई लिन सकिन्छ । यो निष्कर्ष सत्य छ किनभने त्यो वास्तविकताको अनुरूप छ । पृथ्वीको रूप मानिसको चेतनामा भर पर्दैन र मानिसभन्दा धेरै पहिलेदेखि नै पृथ्वीको अस्तित्व थियो ।
माक्र्सवादी दार्शनिकहरूले के पुष्टि गर्दै आएका छन् भने सत्यको पत्ता लगाउनु भनेको मानिसबाट स्वतन्त्र रहेको त्यो वस्तुगत आधार पत्ता लगाउनु हो । जसले सत्यको सही निष्कर्ष निकाल्छ र गलतबाट वास्तविक ज्ञानलाई छुट्याउने प्रशस्त सम्भावनाका ढोकाहरू खोलिदिन्छ । व्यवहार नै सत्यको एकमात्र यस्तो कसौटी हो, जुन कुनै पनि विचार वा वैज्ञानिक सिद्धान्तको सत्यताबारे जति पनि विवाद गर्न सकिन्छ तर व्यवहारले अर्थात् भौतिक उत्पादन, राजनीतिक सङ्घर्ष, वैज्ञानिक प्रयोगले मात्र यस विवादको अन्तिम फैसला गर्न सक्छ । यस विषयमा कार्लमाक्र्सले लेख्नुभएको छ– ‘मानव चिन्तनले वस्तुगत सत्यताको अभिव्यक्ति गर्दछ कि गर्दैन भन्ने प्रश्न सैद्धान्तिक प्रश्न होइन, यो त व्यावहारिक प्रश्न हो । व्यवहार नै मानिसले सत्यता अर्थात् आफ्नो चिन्तनको इहलौकिकता, व्यावहारिकता र क्षमता प्रमाणित गर्नुपर्छ’ कार्लमाक्र्स र फ्रेडरिक एङ्गेल्स, सङ्कलित रचना सङ्ग्रह खण्ड ३, पृ. १ ।
तर विभिन्न किसिमका अध्यात्मवादीहरू द्वन्द्वात्मक भौतिकवादको यस महत्वपूर्ण निष्कर्षसित सहमत छैनन्, उनीहरू ज्ञान प्राप्तिमा व्यवहारको महत्वलाई अस्वीकार गर्दछन् र स्वयम् मनुष्य तथा उसको चिन्तन नै सत्यको कसी हो भन्ने ठान्दछन् ।
व्यवहारको जग भनेको मानवीय श्रमशीलता र भौतिक उत्पादन हो । ज्ञानको समष्टिगत व्यवहारबाट प्रमाणित पक्षलाई सिद्धान्त भनिन्छ । सिद्धान्त स्वयम्ले समाजलाई बदल्न सक्दैन । त्यस सिद्धान्तले व्यवहारलाई मार्गदर्शन गर्न महत्वपूर्ण भूमिका खेल्दछ । ज्ञान र सिद्धान्त सही छ कि छैन भनेर जाँच्ने एक मात्र कसौटी व्यवहार हो । ज्ञान र व्यवहारको अन्योन्याश्रित सम्बन्ध रहेको छ ।
ज्ञान प्राप्तिमा अनुभूति, अवधारणा र सिद्धान्तको महत्व
ज्ञान प्राप्ति प्रक्रिया द्वन्द्वात्मक विकासको क्रममा सरलतम् अनुभूतिबाट जटिलतम् वैज्ञानिक सिद्धान्तसम्मको लामो बाटो हो । मानसिको बुद्धि–विवेकले भौतिक वास्तविकताको बारेमा सही ज्ञान प्राप्त गर्ने क्षमता राख्दछ र संसार पूर्णतः बोधगम्य छ ।
मानिसको मगजमा बाह्य जगतले असर पार्दछ र त्यसै अनुरूप मानिसमा अनुभूति, अवधारणा र ज्ञान उत्पन्न गर्दछ । ज्ञानको विषय र स्रोत हामी बाहिरको भौतिक जगत् हो भने ज्ञानको कर्ता, त्यसको वाहक मानव समाज हो । ज्ञान प्राप्तिको प्रक्रिया अज्ञानताबाट ज्ञानीतर्फ, चिन्तन प्रवाहको असीम प्रक्रिया हो ।
प्रकृति र समाजको परिवर्तनका लागि मानिसहरूबाट हुने सक्रिय क्रियाकलापलाई व्यवहार भनिन्छ । व्यवहार नै ज्ञानको प्रस्थान विन्दु र आधार हो । ज्ञान प्राप्ति मानिसको सैद्धान्तिक क्रियाकलाप हो । सिद्धान्तले जगतको प्रतिबिम्ब मात्र उतार्दछ तर आफैँ वास्तविकतालाई बदल्न सक्दैन । सिद्धान्त र व्यवहारबीचको फरक यही हो । सिद्धान्तविनाको व्यवहार अन्धो हुन्छ । कुनै उद्देश्य पूर्तितिर निर्देशित हुँदैन । त्यसैले माक्र्सवाद–लेनिनवादले सिद्धान्त र व्यवहारबीचको एकत्वलाई आफ्नो सर्वोच्च व्यवहारबीचको एकत्वलाई आफ्नो सर्वोच्च सिद्धान्त मान्दछ । यस विषयमा भीआई लेनिनले लेख्नुभएको छ– “प्रत्यक्ष बोधबाट भावनात्मक चिन्तनतिर अनि त्यसबाट व्यवहारतिरको बाटो नै सत्यको ज्ञान अर्थात् वतुगत यर्थाथता ज्ञानको द्वन्द्ववादी बाटो हो ” (लेनिन सङ्कलित रचना सङ्ग्रह, खण्ड २९, पृ. १५२–१५३) ।
ज्ञान, ज्ञान प्राप्त गर्ने तरिकाहरू र ज्ञान तथा व्यवहारबीचको अन्तर्सम्बन्ध आदि विषयको अध्ययन गर्ने दर्शनशास्त्रको विशिष्ट शाखालाई ज्ञान सिद्धान्त भनिन्छ । संसारमा दुईखाले दर्शन भएकाले ज्ञान सिद्धान्त पनि दुईखालका नै छन् । भाववादी ज्ञान सिद्धान्तले ज्ञानलाई ईश्वरीय देन ठान्दछ र मानिसको स्वअनुभव वा संवेदनालाई ज्ञानको सं्रोत मान्दछ । भौतिकवादी ज्ञान सिद्धान्तले ज्ञानलाई मानव मस्तिष्कमा बस्तुगत जगत्को प्रतिबिम्ब भन्दछ र वस्तुगत जगत्लाई ज्ञानको स्रोत एवम् व्यवहारलाई ज्ञानको आधार र लक्ष्य मान्दछ ।
ज्ञान भनेको मानव मस्तिष्क एवम् ज्ञानेन्दीयहरूमा पर्ने पदार्थ वा भौतिक जगत्को पं्रतिबिम्ब हो अर्थात् मानिसको चेतनामा बाह्य वस्तु वा घटनाको अस्तिव, गुण र सम्बन्धहरूको बोध हुनु नै ज्ञान हो । मानवीय चेतनाभन्दा बाहिर स्वतन्त्र रूपले अस्तित्वमा रहेका भौतिक वस्तु र घटनाहरूको बिम्ब ज्ञानेन्द्रीयहरूमा पुग्छ र चेतनाले वस्तु वा घटनाको अस्तित्व, गुण सम्बन्धको बोध गर्दछ, त्यही नै ज्ञान हो । त्यसैले ज्ञानलाई मानव मस्तिष्कमा वस्तुगत जगत्को प्रतिबिम्ब भनिन्छ जुन प्रतिबिम्ब यान्त्रिक वा निष्क्रिय नभई रचनात्मक र क्रियाशील हुन्छ । मानव मस्तिष्क भौतिक पदार्थको अत्यन्त उन्नत किसिमको सुसङ्गठित रूप हो जसमा बाह्य जगतलाई परिवर्तन गर्न सक्ने विशेष गुण हुन्छ ।
मानिसले ज्ञानेन्द्रियहरू मार्फत बाह्य जगत्का बस्तु तथा घटनाहरूको बारेमा प्राप्त गर्ने पहिलो अनुभूति हो– ऐन्द्रिक ज्ञान । अनुभूतिलाई लेनिनले वस्तुगत जगत्को मनोगत चित्र भन्नुभएको छ । ऐन्द्रिक ज्ञानले वस्तुहरूको आन्तरिक स्वभाव, तिनको सारतत्व र तिनका विकासका नियमहरूको उद्घाटन गर्न सक्दैन ।
ज्ञान प्राप्तिको विकासमा ऐन्द्रिक ज्ञानभन्दा उच्चस्तरीय चरण हो– तार्किक ज्ञान । तार्किक चिन्तनको मुख्य रूप अवधारणा हो । अवधारणाले वस्तुहरूको गौण लक्षणहरूलाई महŒव नदिई प्रमुख र आम पक्षहरूलाई मात्र प्रतिबिम्ब गर्दछ । व्यवहार नै अवधारणाको उत्पत्तिको आधार हो । ऐन्द्रिक ज्ञानबाट तार्किक ज्ञानतिर सङ्क्रमण भन्नु ज्ञान प्राप्तिको प्रक्रियामा द्वन्द्वात्मक फड्को हो । यस्तो फड्को व्यवहारको आधारमा मात्र सम्पन्न गर्न सकिन्छ ।
ज्ञान कुनै तम्तयार वा अपरिवर्तनीय विषय होइन । प्रत्यक्ष बोध वा अनुभूति ज्ञान प्राप्तिको पहिलो खुड्किलो हो । अज्ञानबाट ज्ञान प्राप्त हुन्छ र अल्प ज्ञानबाट अधिक ज्ञान प्राप्त हुँदै जान्छ । यो प्रक्रिया निरिन्तर जारी रहन्छ । खण्ड–खण्ड गरेर निरन्तरताको निश्चित सीमाहरू हुँदै अनन्तताको, विशिष्ट वा ठोस हुँदै आम वा सामान्यको र सापेक्ष सत्य हुँदै निरपेक्ष सत्यको ज्ञान हुन्छ । ज्ञानको स्रोतको रूपमा रहेको वस्तुगत जगत् निरन्तर गतिशील एवम् विकासशील भएको हुनाले ज्ञान प्राप्तिको प्रक्रिया पनि निरन्तर गतिशील र विकासशील हुन्छ । यो द्वन्द्वात्मक ढङ्गले अगाडि बढिरहन्छ । ज्ञान वृद्धि हुँदै जाँदा कहिलेकाहीँ पुराना मान्यताहरू विस्थापित भएर नयाँ मान्यताहरू स्थापित हुन समेत पुग्दछन् ।
ज्ञान प्राप्तिमा निष्कर्षको ठुलो महत्व हुन्छ । निष्कर्ष भनेको चिन्तनको त्यो रूप हो, जसले कुनै कुराको पुष्टि वा नकार गर्दछ । निष्कर्षभित्र निश्चित अवधारणाहरू पर्दछन् । अवधारणा र निष्कर्षहरू अन्योन्याश्रित हुन्छन् । निश्चित निष्कर्षहरूको आधारमा प्राप्त गरिने नयाँ निष्कर्षलाई अनुमान भन्दछन् । अनुमानको सहायताद्वारा नै विद्यमान ज्ञानबाट नयाँ ज्ञान प्राप्त गर्न सकिन्छ । अवधारणा, निष्कर्ष र अनुमान यी सबैको जटिलतम समुच्चय एवम् एकत्वद्वारा नै परिकल्पना र सिद्धान्त निर्मित हुन्छन् । परिकल्पना भने घटना र नियमहरूको बारेमा पूर्व अनुमान गर्नु हो ।
सत्य ज्ञान प्राप्तिको प्रमुख तत्व हो । सत्य भन्नाले वस्तु सम्बन्धी त्यस्तो ज्ञान हो, जसले त्यस वस्तुको सही प्रतिबिम्ब उतार्नुको साथै त्यस अनुरूप हुन्छ । सत्य सदा वस्तुपरक हुन्छ । सत्य सधैँँ यथार्थ हुन्छ । यथार्थ नै सत्य हो । कुनै ज्ञान पूर्णतः र निरपेक्ष रूपमा वास्तविक अनुरूप छ भने त्यसलाई निरपेक्ष सत्य भनिन्छ । कुनै ज्ञान आंशिक रूपमा मात्र वास्तविकता अनुरूप छ भने त्यस्तालाई सापेक्ष सत्य भनिन्छ ।
सत्य जहिले पनि मूर्त हुन्छ, भावनात्मक हुँदैन । सत्यका बारेमा कार्ल माक्र्सले लेख्नुभएको छ– “मानव चिन्तनले वस्तुगत सत्यताको अभिव्यक्ति गर्छ कि गर्दैन भन्ने प्रश्न सैद्धान्तिक प्रश्न होइन । यो व्यावहारिक प्रश्न हो । व्यवहार नै मानिसले सत्यता अर्थात् आफ्नो चिन्तनको इहलौकिकत, वास्तविकता र क्षमता प्रमाणित गर्नुपर्दछ” (काल्र्स माक्र्स–फ्रेडरिक एङ्गेल्स, सङ्कलित रचना सङ्ग्रह खण्ड ३ पृ. १) । अतः व्यवहार नै सत्यको एक मात्र कसौटी हो र यो नै ज्ञान प्राप्तिको प्रमुख आधार हो ।
वैज्ञानिक ज्ञानको विधि र पद्धतिबारे
भौतिकवादी दर्शनले मानिसले प्राप्त गर्दै आएको ज्ञानको बारेमा वैज्ञानिक रूपमा विविध विधि र पद्धतिका माध्यमबाट सटिक विश्लेषण गरेको छ । मानिसको इच्छाशक्तिदेखि स्वतन्त्र रहेको भौतिक जगत्, मानिसले लगाएको श्रम र व्यवहारद्वारा मानिसका ज्ञानेन्द्रीयका माध्यमले मस्तिष्कमा प्रतिबिम्बित भएको जगत् र जीवनलाई ज्ञान भनिन्छ । अर्को शब्दमा ज्ञान पदार्थको सबभन्दा सुसङ्गठित र सुन्दर उपज हो । ज्ञान व्यवहारबाट बिम्ब निस्कन्छ र पुनः व्यवहारमा जान र अघि बढ्न यसले बाटो देखाउँछ अर्थात्् वस्तुगत जगत्का नियमको सक्रिय तथा उद्देश्यमूलक मानसिक प्रतिबिम्बलाई ज्ञान भनिन्छ भने वस्तुगत जगत्का वास्तविकताहरूलाई आफ्नो पक्षमा ल्याउनको निम्ति गरिने उद्देश्यमूलक भौतिक र मानसिक क्रियाकलापलाई व्यवहार भनिन्छ । ज्ञानको स्रोत मानिसको चारैतिरको जगत्मा उसको व्यवहार हो र त्यसप्रतिको क्रियाकलाप र व्यवहारबाट उसले ज्ञान प्राप्त गर्दछ ।
ब्रह्माण्डमा रहेका वस्तुहरू र घटनाहरूको आन्तरिक स्वभाव तथा सारतत्व तिनको कार्य तथा विकासका नियमहरू पत्ता लगाउनु नै वैज्ञानिक ज्ञान प्राप्तिको लक्ष्य हो । वस्तुगत जगत्मा घट्ने कुनै पनि घटनाहरूको नियमको सारतत्व सतहमा देखापर्दैनन् । तिनलाई पत्ता लगाउनको निम्ति विज्ञान तथा व्यवहारको दीर्घकालीन र जटिलतम विकासको प्रक्रियामा वैज्ञानिक अनुसन्धानका अनेकौँ विधि र पद्धतिहरू तयार पारिएका छन् । यी वैज्ञानिक विधि तथा पद्धतिहरूको हरक्षेत्रमा महत्व हुन्छ । वास्तविक जगत्का विभिन्न घटनाहरूको अनुसन्धान गर्दा जुनसुकै विज्ञानमा पनि ती विधि र पद्धतिको उपयोग गरिन्छ । वैज्ञानिक ज्ञान प्राप्तिको एउटा ज्यादै नै प्रचलित विधि हो– वैज्ञानिक निरीक्षण एवम्् अनुसन्धान । जगत्का वस्तुहरू र घटनाक्रमहरूलाई उनीहरूको स्वाभाविक रूपमा अर्थात्् प्रत्यक्ष वास्तविकतामा ती जस्ता छन् त्यस्तै रूपमा गम्भीररूपले ध्यान दिएर हेर्नु र बोध गर्नु नै वैज्ञानिक निरीक्षण हो । यो विशेष गरी प्राकृतिक विज्ञानहरूमा उपयुक्त हुन्छ । ज्ञान प्राप्तिको एउटा अति महत्वपूर्ण पद्धति हो– प्रयोग । प्राकृतिक विज्ञानमा त्यसको व्यापक रूपले उपयोग गरिन्छ । सामाजिक विज्ञानहरूमा पनि त्यसको महत्व उल्लेखनीय रहन्छ । विज्ञानको क्षेत्रमा प्रयोगशालामा गरिने सानातिना प्रयोगहरूदेखि लिएर ठुल्ठुला उत्पादन सम्बन्धी प्रयोगहरूसम्म प्रयोगहरूको चरित्र ज्यादै महत्वपूर्ण हुन्छ । आजको युगमा जुनबेला विज्ञान प्रत्यक्ष उत्पादन शक्तिमा परिणत भएको छ स्वयम् उत्पादन नै एक विशाल प्रयोग क्षेत्र बन्न गएको छ । जहाँ वैज्ञानिक आविष्कारहरू नवीनतम प्रविधि र प्राद्योगिकी, श्रमको सङ्गठन र सञ्चालन सम्बन्धी नयाँ वैज्ञानिक तरिकाहरूको कठोर तथा सर्वतोमुखी परीक्षण हुन्छ ।
वैज्ञानिक ज्ञान प्राप्तिमा उपकरणहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । निरीक्षण तथा प्रयोग कार्य मानिसहरूले विशेष गरी अनुसन्धानकर्ताहरूले मुख्यतया ज्ञानेन्द्रीयहरूको सहायताबाट गर्दैछन् तर ज्ञानेन्द्रीयहरूको क्षमता सीमित हुन्छ । मान्छेको आँखाले मिलिमिटरको चालीसौँ खण्डभन्दा सानो आकार नभएको वस्तुलाई मात्र देख्न सक्छ । उपकरणहरूको सहायताले ज्ञानेन्द्रीयहरूको सीमिततालाई हटाउन सकिन्छ । उपकरणबिना विज्ञान खास गरिकन आधुनिक विज्ञानको कल्पनासम्म गर्न गाह्रो हुन्छ । जस्तो आधुनिक इलेक्ट्रोनिक सुक्ष्मदर्शक यन्त्रले वस्तुको आकारलाई दसौँ लाख गुणासम्म वृद्धि गर्छ । विज्ञानमा उपयोगमा ल्याइने यन्त्र र उपकरणहरू विभिन्न प्रकारका हुन्छन् । नाप लिने र निरीक्षण गर्ने साधनहरू, समयसूचक यन्त्र, दूरविक्षण यन्त्र, सुक्ष्मदर्शक यन्त्र, भोल्टामिटर, एमिटर, विश्लेषणात्मक तराजु, भूकम्पमापक यन्त्र आदि । त्यसपछि अङ्कन गर्ने उपकरणहरू– फोटो सम्बन्धी यन्त्र, माइक्रो फिल्म, स्मरण शक्ति भएको टेप, समय जाँच्ने घडी इत्यादि उल्लेखनीय छन् । साथै सञ्चारका साधनहरू– टेलिग्राफ, टेलिफोन, रेडियो, टेलिभिजन, रेडियोलोकेटर, फोटोसेल, डिकटाफोन, सङ्केत उपकरण इत्यादि । त्यस्तै सङ्गणना उपकरणहरू– गणना गर्ने यन्त्रहरू जस्तै क्यालकुलेटर, स्लाइड रुल, कम्प्यूटर, गणितीय तालिका इत्यादिको उल्लेख गर्नु अत्यावश्यक हुन्छ । आधुनिक विज्ञानमा सङ्गणना प्रविधिको भूमिका निकै महत्वपूर्ण हुन्छ । यसले मानिसको बौद्धिक सामथ्र्यलाई ठुलो स्तरसम्म विस्तृत गराइदिन्छ । उपकरणहरू सुक्ष्म प्रक्रियाहरू अनुसन्धानका महत्वपूर्ण साधन हुन् ।
विश्लेषण र संश्लेषणको पनि वैज्ञानिक ज्ञान प्राप्तिको क्षेत्रमा अत्यन्त महत्वपूर्ण स्थान छ । कुनै पनि वस्तु विभिन्न अङ्गहरू, पक्षहरू र स्वभावहरूको एकमुष्ठ प्रणाली हो । जुन तत्वहरू र पक्षहरू मिलेर वस्तु बनेको हुन्छ तिनको स्थान बुझ्न तीमध्ये सारगर्वित तथा प्रमुख कुरा छुट्याउनको लागि वस्तुको विभाजन गर्नु भनेकै विश्लेषण हो । यस विषयमा लेनिनले लेख्नुभएको छ– ‘विश्लेषण भनेको कुनै निश्चित घटनालाई खण्ड–खण्ड पारेर हेर्नु वा विभिन्न भागहरूमा विभाजित गर्नु हो ।’ अतः विश्लेषण निर्जीव पनि हुन सक्तछ र तार्किक वा भावनात्मक पनि हुन सक्तछ । निर्जीव विश्लेषण प्रकृतिको अनुसन्धानमा प्रयोग गरिन्छ भने कुनै कारणले गर्दा वस्तुलाई खण्ड–खण्डमा विभाजित गर्न सकिएन भने तार्किक विश्लेषणको उपयोग गरिन्छ । जैविक अङ्गहरू तथा सामाजिक प्रणालीहरूको अनुसन्धानमा विशेषरूपले तार्किक विश्लेषणको प्रयोग गरेको पाइन्छ ।
वैज्ञानिक ज्ञान प्राप्तिको क्षेत्रमा विश्लेषणको विपरीत संश्लेषण भनेको वस्तुका विभिन्न खण्ड र पक्षहरूको निर्जीव अथवा तार्किक संयोजन हो । यस पद्धतिबाट वस्तुको आन्तरिक, अत्यावश्यक सम्बन्धहरू पत्ता लगाउन सकिन्छ र यसैका आधारमा वस्तुको निम्ति स्वाभाविक नियमको उद्घाटन गरिन्छ । व्यवहारकै आधारमा मानिसको विश्लेषणात्मक तथा संश्लेषणात्मक ज्ञान प्राप्तिको क्षमता देखापरेको थियो भन्ने वैज्ञानिकहरूको दावी छ । विश्लेषण र संश्लेषणको आपसी एकता हुन्छ किनभने वस्तु र यसका अङ्गहरू तथा पक्षहरूको पनि एकत्व हुन्छ । वैज्ञानिक ज्ञान प्राप्तिका क्षेत्रमा ऐतिहासिक तथा तार्किक पद्धतिहरू, अमूर्त र मूर्त, गणितीय पद्धतिहरूको पनि त्यत्तिकै महत्व हुन्छ ।
माक्र्सवादी ज्ञान सिद्धान्तको महत्व
माक्र्सवाद सर्वहारा वर्गको मुक्तिको सिद्धान्त हो । माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । माक्र्सको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो, दर्शन मानिसको सामान्य दृष्टिकोण हो र यो दर्शनको सिद्धान्त भौतिकवाद हो । माक्र्सवादले लेनिनवाद–माओवादमा विकास गरिसकेको छ र माक्र्सवाद–लेनिनवाद–माओवाद विश्व सर्वहारावर्गको मुक्तिको मार्गदर्शक तथा पथप्रदर्शक सिद्धान्त हो ।
दर्शन भनेको एउटा विश्वदृष्टिकोण हो अर्थात् विश्वलाई हेर्ने एउटा दृष्टिकोण हो र त्यो विज्ञानको यस्तो शाखा हो, जसले प्रकृति, समाज र मानवीय चिन्तनको विकासका नियमहरूको अध्ययन गर्दछ । हरेक वस्तुहरूको आ–आफ्नै परिभाषा हुन्छ । माक्र्सवादी परिभाषा अनुसार दर्शन भनेको सैद्धान्तिक ज्ञानको त्यो रूप हो, जसले विश्वदृष्टिकोणसित प्रकृति र समाजलाई हेर्ने दृष्टिकोणसित सम्बन्धित सामान्य सवालहरूको विश्लेषण र व्याख्या । प्रस्तुत गर्दछ । प्रकृति र समाजको विकास कुन ढङ्गबाट हुनेगर्छ, ऐतिहासिक विकासका मूल कारण र प्रेरक शक्तिहरू के हुन् ? हाम्रो यस संसारलाई कुन रूपमा बुझ्ने र फेर्न सकिन्छ ? यी र यस्ता प्रकारको सामथ्र्य माक्र्सवादी दर्शनले मात्र राख्दछ ।
अतः दर्शनको अध्ययनले मानिसमा युक्तिसङ्गत ढङ्गले सोच्ने क्षमताको विकास गराउँदछ । व्यक्तिको सैद्धान्तिक चिन्तनले दर्शनमा आफ्नो तरिका र सारतत्व भेटाउँछ भन्ने दर्शनले सैद्धान्तिक चिन्तनलाई रूप र ढाँचा प्रदान गर्दछ, व्यक्तिको चिन्तनधारालाई निर्देशित गर्दछ । त्यसैले माक्र्सवाद विश्वसर्वहारावर्गको आफ्नो दृष्टिकोण हो ।
माक्र्सवादमा ज्ञानका अनेक शाखाहरू छन् ः माक्र्सवादी दर्शन, माक्र्सवादी अर्थशास्त्र, माक्र्सवादी समाजशास्त्र, अर्थात् वर्गसङ्घर्ष सम्बन्धी सिद्धान्त तर जग चाहिँ माक्र्सवादी दर्शन हो । यही कुरालाई मनन गरिएन भने हाम्रो एउटा साझा भाषा वा कुनै साझा तरिका हुनेछैन् र हामी चिजलाई स्पष्ट नपारीकन यताउतितर्फ गरिरहने छौँ, द्वन्द्वात्मक भौतिकवादलाई बुझेपछि धेरै दुःखबाट बचिनेछ र धेरै गल्तीहरू हट्नेछन् भन्ने माओको गहन संश्लेषणबाट हामी के कुरा प्राप्त गर्दैछौँ भने संसारलाई बदल्न र फेर्न चाहने जो कोहीले पनि माक्र्सवादको अध्ययन गर्न र ज्ञान प्राप्त गर्न जरूरी छ किनकि माक्र्सवाद ज्ञानको विशाल भण्डार हो । सर्वहारावर्गको आफ्नो विश्वदृष्टिकोण हो । एउटा सही भनाइ के छ भने दृष्टिकोण नभएको मानिस जरा नभएको रूख जस्तै हो । क्रान्तिकारी दृष्टिकोण नभइकन सच्चा क्रान्तिकारी बन्न सकिँदैन । समाजमा आमूल परिवर्तन ल्याउने सङ्घर्षमा योग्य र समर्थवाण जोधाहा बन्ने हो भने प्रत्येक क्रान्तिकारीले आफ्नो दिमागलाई क्रान्तिकारीकरण गर्नैपर्छ अर्थात् उसले क्रान्तिकारी दृष्टिकोण ग्रहण गर्न सक्नुपर्दछ । यस्तो दृष्टिकोणले मात्र उसको निम्ति प्रस्ट दिशा र दूरदर्शन प्रदान गर्दछ । यहाँ उल्लेख गरिएको दृष्टिकोणको तात्पर्य माक्र्सवादी दृष्टिकोण हो । यो ज्ञान माक्र्सवादी ज्ञान–सिद्धान्तसित अन्तर्सम्बन्धित रहेको छ । यो र यसै प्रकारका तमाम ज्ञानहरू माक्र्सवादी ज्ञान सिद्धान्तले प्रदान गर्ने भएकोले एउटा क्रान्तिकारी माक्र्सवादीका लागि माक्र्सवादी ज्ञान–सिद्धान्तको बढी महत्व छ ।
निष्कर्ष
ज्ञान प्राप्तिका धेरै शाखाहरू छन्, जसमध्ये माक्र्सवादी ज्ञान–सिद्धान्त ज्ञान प्राप्तिको सबैभन्दा वैज्ञानिक शाखा हो । माक्र्सवादले माक्र्सवादका प्रवर्तक कार्ल–माक्र्सकै शब्दमा ‘संसारको व्याख्या त सबैले गरेका छन् तर मुख्य कुरा त्यसलाई बदल्नु हो’ भने झैं संसारलाई बुझ्न मात्र होइन त्यसलाई बदल्नको निम्ति माक्र्सवाद मात्रै एक वैज्ञानिक अस्त्रको रूपमा प्रमाणित हुन पुगेको छ । संसारलाई बुझ्न र बदल्न तथा नयाँ संसार निर्माण गर्न चाहने हामी माक्र्सवादी–लेनिनवादी–माओवादी क्रान्तिकारीहरूले माक्र्सवादका सबै दार्शनिक तथा सैद्धान्तिक मान्यताहरूप्रति गहिरो ज्ञान प्राप्ति नगरिकन हामी संसारलाई बदल्न सक्दैनौँ र सुन्दर संसार निर्माण गर्ने हाम्रा सपनाहरू कल्पनामै सीमित रहेर मनोगतवादमा गएर टुङ्गिनेछन् । त्यसो भएर हामी क्रान्तिकारी कम्युनिस्टहरूले माक्र्सवादका विविध पक्षहरूमा गहिरो ज्ञान प्राप्त गर्नको निम्ति माक्र्सवादी ज्ञान–सिद्धान्तले महत्वपूर्ण मदत गर्दछ किनभने ज्ञान प्राप्तिको सन्दर्भमा हामी कुन निष्कर्षमा पुग्छौँ भने हरेक वस्तुको विकास छिप्छिपेबाट गहिराइतिर सरलबाट जटिलतातिर सानोबाट ठुलोतिर, सजिलोबाट अप्ठ्यारोको बाटोबाट मात्र अगाडि बढ्न सक्दछ । यो नै माक्र्सवादी प्रमुख आधार हो । त्यसैले हाम्रो क्रान्तिकारी जीवनमा माक्र्सवादी ज्ञान–सिद्धान्तको महत्वपूर्ण स्थान रहेको छ किनभने माक्र्सवाद सर्वहारावर्गको विश्वदृष्टिकोण हो । यसकै आधारमा मात्र हामी संसारलाई बदल्न र वर्गविहीन, राज्यविहीन मानव समाजको निर्माण गर्न सक्षम हुन्छौँ । त्यसैले हामी मालेमावादी क्रान्तिकारीहरूले माक्र्सवादलाई जीवनदर्शनको रूपमा आत्मसात गर्न जरूरी छ ।
सन्दर्भ सामग्रीहरू
१. कार्ल माक्र्स, पुँजी खण्ड १ र २
२. फ्रेडरिक एङ्गेल्स, ड्युहरिङ्ग मतखण्डन
३. माक्र्स–एङ्गेल्स, सङ्कलित रचना सङ्ग्रह ः भाग १, २, ३, ८, १०, २०, ३२, ४२, ४३
४. लेनिन सङ्कलित रचना सङ्ग्रह, भाग– ५, १८, १९, २४, ३८
५. माओत्सेतुङ् चुनिएका रचनाहरू, भाग– १, २, ३, ५, ८
६. लेनिन ः एक पाइला अगाडि दुई पाइला पछाडि
७. महान््् रूसी अक्टुबर क्रान्तिको इतिहास
८. चिनियाँ नयाँ जनवादी क्रान्तिको इतिहास
९. महान््् बहस
१०. हो चि मिन्ह, क्रान्तिकारी नैतिकता
११. कम्युनिस्ट नैतिकता
१२. स्टालिन–लेनिनवादका आधारहरू
१३. प्लेखानोभ, चुनिएका दार्शनिक कृतिहरू ः भाग १ र २
१४. लेनिन, माक्र्स–एङ्गेल्स–माक्र्सवाद
१७. मोहन वैद्य ‘किरण’, माक्र्सवादी दर्शन
१८. कृष्णदास श्रेष्ठ, कार्ल माक्र्स ः व्यक्तित्व र कृतित्व
१९. हस्तबहादुर केसी, माक्र्सवादी दर्शनशास्त्रका रूपरेखा
२०. हस्तबहादुर केसी, माक्र्सवादी दर्शनशास्त्रका सिद्धान्तहरू

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |