आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Sunday, October 23, 2016

अर्मा जनस्वास्थ्य अभियानबारे एक चर्चा

लोकेन्द्र डि.सी.‘विजय’,   हेल्थ असिस्टेन्ट (अधिकृत छैठौं) 
विषय प्रवेशः
हामीलाई सबैभन्दा बढि प्यारो र माया लाग्ने वस्तुहरुमध्ये आफ्नो व्यक्तिगत जीवन नै पहिलो हुने गर्दछ । हामी जसरी पनि आफ्नो व्यक्तिगत जीवनलाई सकेजति राम्रो, सुरक्षित र स्वस्थ राख्नमा सकेको कोशिस गर्दछौं  तरपनि हाम्रो अज्ञानता, लापरवाही र असम्हारका कारण फेरी कुनै न कुनै व्यक्तिगत स्वास्थ्य (शारीरिक, मानसिक र सामाजिक अवस्था) मा कमजोरी महशुस गरिरहेकका हुन्छौं । जब हाम्रो व्यक्तिगत स्वास्थ्य नै समस्यामा पर्दछ अनि हामी पारीवारिक, सामाजिक एवम् पर्यावरणीय हिसाबमै कमजोर भई रोगी बन्न पुग्दछौं र उपचारात्मक रुपमा अत्यन्तै झन्जेटिलो, महँगो, पहुँचको कमी, कहींकतै रुढिगत तनाव आदिमा डुबिरहेका हुन्छौं । जसबाट मातृ मृत्यु, वाल मृत्यु र अकालमा हुने मृत्युका घटनाहरुले दिनानु दिन पिरोलिन बाध्य हुन्छौं । यस्ता यावत समस्याहरुबाट जोगिन अब हामी सचेत नबनी सुखै छैन । हामीले सुन्ने गरेका छौं, ‘रोगको उपचार गर्नु भन्दा रोगै लाग्न नदिनु वेश’, यदि यसो हो भने हामी सबै आ–आफ्नो स्थानबाट सजग र सतर्क रहनैपर्छ साथै यस्तो जनचेतनाको लागि सरोकारवाला सबै दृढताकासाथ लागि पर्नु पर्छ र स्वस्थ, सवल र समृद्ध समाज निर्माणको मार्ग तय गर्नु पर्दछ । यहि लक्ष्य, उद्धेश्य र प्रतिवद्धतासहित हामी हाम्रो जिम्मेवारीमा खट्नुपर्ने महशुस गर्दै हामीले स्वास्थ्य चौकी अर्मामा एउटा प्रतिवद्धता जाहेर गर्दै अर्मामा जनस्वास्थ्य अभियानलाई अगाडि बढाईरहेका छौं । ‘जनस्वास्थ्यको काम ! जनताहरुकै विचमा हाम्रो अभियान ! !’ भन्ने मूल नाराका साथ गत श्रावण ९ गतेदेखि गुणस्तरीय स्वास्थ्य सरसफाई र स्वास्थ्य सेवाको लागि मुख्यतः व्यक्तिगत स्वास्थ्य सरसफाई (नङ काट्ने, साबुन पानीले हात धुने व्यवहार प्रवद्र्धन गर्ने, मुखको सफाई र दाँत माझ्ने, कानको सफाई, आँखा र नाकको सुरक्षा, लत्ता कपडाको सफाई नुहाउने र जुम्रा निर्मूल पार्ने), घर आँगन र विद्यालयको वातावरणीय सफाई, सुरक्षित मातृत्व, वाल स्वास्थ्य, पोषण, खोप, परिवार नियोजन, विभिन्न रोगात्मक अवस्थाको पहिचान गरी उपचार व्यवस्थापन र प्रेषण आदि गतिविधिलाई हामीले अभियानात्मक रुपमा अगाडि बढाएका छौं । जसलाई संक्षिप्तमा चर्चा गर्ने प्रयास गरिएको छ ।

स्वास्थ्य चौकी अर्माको अवस्था र दायित्वः
कचौरा आकारको भू वनावट भएको अर्मा गा.वि.स.को वडा नं. ८ मा स्वास्थ्य चौकी भवन जसमा स्वास्थ्य चौकीको सम्पूर्ण कामकाजसहित एक खोप केन्द्रको गतिविधि सञ्चालन हुने गर्दछ, वडा नं. ३ को घण्ठाना र वडा नं. ९ को काँडामा १÷१ गाउँघर क्लिनिक र खोप केन्द्र रहेका छन् भने प्रत्येक वडामा १÷१ जना गरी ९ जना महिला स्वास्थ्य स्वयं सेविका र स्वास्थ्य चौकीमा हे.अ.१, अ.हे.व.२, अ.न.मी.१, अस्थायी÷करार अ.न.मी.२ र कार्यालय सहयोगी १ जना कार्यरत रहेको अवस्था छ । नेपाल सरकारको लगानीमा यति धेरै स्वास्थ्य कर्मचारी हुँदाहँदै पनि सामाजिक÷सामुदायिक स्वास्थ्य चेतना, ज्ञान, सीप र धारणाको विकास गराउनमा भने गा.वि.स.मा केही चुनौतीहरु अवश्य रहेका छन् । यस्तो अवस्थालाई मध्यनजर गर्दै जनस्वास्थ्य समस्याहरुको सही पहिचान र समाधानको लागि हाम्रो स्वास्थ्य चौकी जनस्वास्थ्य अभियानमा लाग्नु पर्ने महशुस गर्दै हामीले विशेष गरी स्वास्थ्य चौकीमा इन्चार्जको रुपमा हेल्थ असिस्टेन्टको पदस्थापना भई सकेपछि गत श्रावण ९ गते नै स्वास्थ्य चौकी व्यवस्थापन समितिको विस्तारित वैठक बसेर लिईएका महत्वपूर्ण निर्णयहरु कार्यान्वयन गर्दै स्वास्थ्य चौकीका प्रतिकारात्मक, प्रर्वद्धनात्मक र उपचारात्मक सेवाहरुलाई व्यवस्थित गर्ने प्रयास गरिएको छ । उक्त सेवाका खाँतिर स्वास्थ्य चौकी व्यवस्थापन समिति, स्वास्थ्यकर्मीहरु र महिला स्वास्थ्य स्वयं सेविकाहरुको विचमा नयाँ खालको जिम्मेवारी र दायित्वबोध सिर्जना भएको छ ।

अर्मा जनस्वास्थ्य अभियानका गतिविधिहरुः
    
    (क) मातृशिशु भेटघाट कार्यक्रमः 

            हामी चाहन्छौं कि राम्रो एवम् गुणस्तरीय स्वास्थ्य सरसफाई गरी स्वास्थ्यमा प्रर्वद्धन कायम गर्ने र गुणस्तरीय स्वास्थ्य उपचारलाई प्रभावकारी तुल्याउने । जस अनुरुप हामीले पहिलो चरणमा हाम्रो गा.वि.स. भरीकै जनसंख्या करिब ४५०० मध्ये करिब ९०० जना (आमा र २ वर्ष मुनिका वालबालिका) सँग प्रत्येक्ष भेटघाट गरी उनिहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिने प्रयत्न गर्यौं । यस क्रममा हाम्रो गा.वि.स. स्थित खोप केन्द्र, गाउँघर क्लिनिक, आमा समूहका वैठकहरु तथा स्वास्थ्य चौकीमा कार्यक्रमलाई व्यवस्थित बनाई स्वास्थ्यसम्बन्धी अभियानात्मक सन्देश दिंदै अधिकतम उपस्थितिको वातावरण बनायौं । उचित स्वास्थ्य सल्लाह, स्वास्थ्य सेवा र सुविधाको पहुँचबाट टाढा भएकाहरुलाई यसबाट थोरै भए पनि राहतको महशुस गराउँदै हामीले आमा र बच्चाको व्यक्तिगत सरसफाई, स्तनपान, पूर्णस्तनपान, थप र पोषिलो खानेकुरा, पारिवारिक सरसहयोग, खोप, परिवार नियोजन लगायत सुत्केरी अवस्था र वाल्यकालीन अवस्थाको रोगात्मक स्थितिलाई औंल्याउँदै उचित परामर्श, स्वास्थ्य शिक्षा र उपचार व्यवस्थापनलाई सहज बनाउन हामी सबै जागरुक बनेर लाग्यौं । यस कदमको शुरुवातबाट नै अर्मामा गम्भीरताकासाथ व्यक्तिगत सरसफाई (नङ काट्ने, साबुन पानीले हात धुने, मुखको सफाई र दाँत माझ्ने, कानको सफाई, आँखा र नाकको सुरक्षा, लत्ता कपडाको सफाई नुहाउने र जुम्रा मार्ने), घर आँगन सरसफाई, पानीका मुल धारा पँधेरा सफाई गर्ने सम्बन्धी व्यवस्थित र चेतनायुक्त जागरण पैदा भयो । हाल यो क्रम निरन्तरतामा अगाडि बढिरहेका छ ।

   
 (ख) विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रमः
               विद्यालय एक पवित्र स्थल एवम् समूहको केन्द्रिकरण हुने र थुप्रै सूचना र ज्ञानको प्रवाह हुने क्षेत्र हो, जहाँ समाजमा भएका सबै जातजाति, वर्ग, लिङ्ग, र समुदायका वालवालिकाहरुको उपस्थिति रहेको हुन्छ । हामीले हाम्रो जनस्वास्थ्य शिक्षा प्रदान गर्ने र यसको सन्देशलाई व्यापक पार्ने आकाँक्षासहित गुणस्तरीय स्वास्थ्य सरसफाई र स्वास्थ्य सेवाको लागि अर्मा गा.वि.स.मा रहेका आधारभूत र मा.वि. गरी ९ वटा विद्यालयका प्रधानध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र स्वास्थ्य चौकी व्यवस्थापन समिति सम्मिलित वैठक बसी भाद्र १२ गतेदेखि विद्यालय स्वास्थ्य शिक्षा तथा स्वास्थ्य परिक्षण कार्यक्रमलाई सञ्चालन गर्ने निर्णय गर्यौं । त्यसै अनुरुप हामी स्वास्थ्य चौकीको नियमित काम र स्वास्थ्यकर्मीको खटनपटनलाई सुचारु गर्दै विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रममा होमियौं । जस अनुसार भाद्र १२ गते श्री जनजागरण प्रा.वि.अर्मा–७ गातिनमा विद्यार्थी ११३, अभिभावक ९३, शिक्षक ५ जना, भाद्र १४ गते श्री सरस्वति मा.वि.अर्मा–२ चिन्तुमा विद्यार्थी २७६, अभिभावक ११३, शिक्षक ८ जना, भाद्र १७ गते श्री जनसेवा प्रा.वि.अर्मा–३ घण्ठानामा विद्यार्थी ७८, अभिभावक ७६, शिक्षक ४ जना, भाद्र २३ गते श्री दिपज्योति प्रा.वि.अर्मा–९ काँडामा विद्यार्थी ७१, अभिभावक ६४, शिक्षक ४ जना, भाद्र २४ गते श्री जनकल्याण नि.मा.वि.अर्मा–६ बागखोरमा विद्यार्थी २१३, अभिभावक ५३, शिक्षक ६ जना, भाद्र २६ गते श्री ज्ञानज्योति प्रा.वि.अर्मा–५ टिमुरबोटमा विद्यार्थी ८९, अभिभावक ३७, शिक्षक ३ जना, भाद्र २७ गते श्री शिव नि.मा.वि.अर्मा–८ काफलबोटमा विद्यार्थी १६१, अभिभावक ४८, शिक्षक ६ जना, भाद्र २८ गते श्री ज्ञानकुञ्ज प्रा.वि. अर्मा–८ रानीचिउरामा विद्यार्थी ३६, अभिभावक ३४, शिक्षक २ जना र भाद्र ३१ गते श्री सरस्वति उच्च मा.वि. अर्मा–१ अर्माडाँडामा एक भव्य समारोहको आयोजना गरी गा.वि.स.स्तरीय विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न भएको छ । गा.वि.स. भरीकै सबै विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकको प्रतिनिधित्वसहित उच्च मा.वि.अर्माडाँडाको कार्यक्रमलाई गा.वि.स.सचिब एवम् स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष श्री कविराज के.सी.को अध्यक्षतामा जिल्ला स्वास्थ्य कार्यालय रुकुमका निमित्त प्रमुख डा.मान बहादुर के.सी.को प्रमुख आतिथ्यतासहित विशिष्ट अतिथि जिल्ला विकास कार्यालयका लेखापाल सुदर्शन शाह, अतिथिहरु जि.स्वा.का. वालस्वास्थ्य तथा पोषण फाँट प्रमुख काली बहादुर ओली, मातृशिशु तथा सुरक्षित मातृत्व फाँट प्रमुख दिपा पुन, क्षयरोग तथा कुष्ठरोग निवारण जिल्ला सहायक गजेन्द्र यादव, राजनीतिक दल प्रतिनिधिहरुः कर्ण बहादुर डाँगी नेपाली काँग्रेस, अहिभान खड्का ने.क.पा.(एमाले), भूपालसिं ओली ‘पृथ्वी’ ने.क.पा.माओवादी केन्द्र, जिल्ला अस्पताल सल्लेमा कार्यरत स्टाफ नर्स सम्झना खड्का, मग्मा स्वास्थ्य चौकीमा कार्यरत अ.हे.व. शुसिला रोका, महत स्वास्थ्य चौकीमा कार्यरत अ.न.मी. निर्मला खड्का, अर्मा गा.वि.स.स्थित सबै विद्यालयका प्रधानाध्यापकहरु, वडा नागरिक मञ्चका अध्यक्षहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरु, स्वास्थ्य चौकीका सम्पूर्ण कर्मचारीहरु, उच्च मा.वि.मा अध्ययनरत विद्यार्थी करिब ४८३ जना, शिक्षक १२ जना, ८०० जनाभन्दा बढि अभिभावकजनहरुको उपस्थिति र प्रहरी चौकी सिम्लीको विशेष सुरक्षा व्यवस्थापनमा, ‘जनस्वास्थ्यको काम ! जनताहरुकै विचमा हाम्रो अभियान ! !’ भन्ने स्वास्थ्य सन्देशसहित सम्पन्न गरेका छौं । यो कार्यक्रमबाट जनस्वाथ्यको क्षेत्रमा नयाँ जग बसाल्दै अर्मामा सँधै विग्रिरहेको स्वास्थ्य, सामाजिक र राजनीतिक वातावरणलाई सहज, सरल र समझदारीपूर्ण बनाई एकाकार भएर हरेक सामाजिक काममा अगाडि बढ्न मद्धत मिलेको निष्कर्ष कार्यक्रममा उपस्थितजनहरुबाट अभिव्यक्त भएको छ ।

जनस्वास्थ्य अभियानमा देखिएका समस्या र समाधानको उपायः
हामी जनस्वास्थ्य क्षेत्रमा अभियानात्मक ढँगले होमिईसकेपछि पहिलो चरणमा मातृशिशु भेटघाट कार्यक्रममा न्यून सरसफाई अवस्था, आमाहरुको गर्भ परीक्षण, खोप, परिवार नियोजन आदिमा कमसल ज्ञान तथा वालवालिका विरामी परेको खण्डमा उदासिन एवम् रुढीगत चेत भएको र पूर्ण स्तनपान, थप खानेकुराको बारेमा गम्भीर नभएको समस्याको हामीले नजिकबाट अनुभूत गर्न पायौँ । यसको लागि व्यक्तिगत सरसफाईमा आमाले नङ काट्ने, साबुन पानीले हात धुने यसमा खासगरी खाना बनाउनु अघि, आफूले खानुभन्दा र बच्चालाई खुवाउनुभन्दा अघि दिसा गरिसकेपछि र बच्चाको दिसा धोइदिईसकेपछि मिचिमिचि हात धुने, मुखको सफाई र दाँत माझ्ने, कानको सफाई, आँखा र नाकको सुरक्षा, आफ्ना र बच्चाका लत्ता कपडा ओछ्यानको सफाई गर्ने नुहाउने र जुम्रा निर्मूल पार्ने, घर आँगन, गाउँ समुदायको सरसफाई, स्वच्छ पिउने पानी वालवालिकाको स्वास्थ्य अवस्थाबारे शिक्षा र परामर्श सेवा दिने काम भएको छ । यसका अलावा महिला स्वास्थ्य स्वयंसेविकाको कामलाई व्यवस्थित गर्दै गाउँघर क्लिनिक र खोप केन्द्रहरुको प्रभावकारी परिचालन गर्ने दायित्वबोध गर्दै उपर्युक्त समस्याहरु समाधान गर्न सकिने निष्कर्ष निकालेर अगाडि बढ्न मार्ग निर्देश भएको छ ।
एवम् प्रकारले हामी जनस्वास्थ्यको अभियानलाई विद्यालय स्वास्थ्य शिक्षा तथा स्वास्थ्य परिक्षणको कार्यक्रम तय गरी विद्यालयहरुमा गयौं । त्यहाँ पुग्दा कतिपया विद्यालयहरुको स्वास्थ्य जोखिमपूर्ण वातावरणीय अवस्था देख्दा हामी अत्यन्तै चिन्तित बनेका छौं । हामीले विद्यालयको वातावरण विद्यार्थीको स्वास्थ्य अवस्थाको परिक्षण गर्दा केही विद्यालयका कक्षाकोठाहरुको असहजपूर्ण अवस्था, भवनहरुको जीर्णपन, चर्पी तथा खाने पानीको समस्या, अधिकांश विद्यार्थीहरुको व्यक्तिगत स्वास्थ्यमा सरसफाईको कमजोर अवस्थाः नङ नकाटेको, दाँतमा किरा लागेको, कान पाकेको र कानमा फोहर जमेको, नुहाई धुवाईको समस्याको कारण एलर्जी, दाद, लुतोजस्ता तुरुन्तै एकअर्काको विचमा सर्न सक्ने रोगहरु र जुम्राको महामारी आदि समस्याको रुपमा देखा परे । करिब २०७५ जना जति विद्यार्थी, शिक्षक, अभिभावकहरुको उपर्युक्त स्वास्थ्य अवस्थाबाट हामीले गम्भीरतापूर्वक व्यक्तिगत स्वास्थ्य सरसफाईमा उदासिन, पारिवारिक स्वास्थ्य चेतनाको कमी, लापरवाही र सरोकारवालाहरुको रेखदेखको अभावको कारण यी समस्या विद्यमान रहेको निष्कर्ष निकालेका छौं । यसको लागि विद्यालयहरुमा भवन, कक्षकोठा, चर्पी निर्माण, खाने पानीको व्यवस्थापन गर्न विद्यालयहरुका व्यवस्थापन समिति, गा.वि.स.कार्यालय, विभिन्न राजनीतिक दलहरु, सरोकारवाला निकायहरु र जनसमुदाय सक्रिय भई लाग्नु पर्ने आवश्यकता हामीले औंल्याएका छौं । साथै व्यक्तिको स्वास्थ्यमा देखा परेका समस्याहरुको लागि विद्यार्थी, शिक्षक र अभिभावकहरुको विचमा गुणस्तरीय स्वास्थ्य सरसफाईमा जोड गर्नेः जसको लागि नङ काट्ने, साबुन पानीले मिचिमिचि हात धुने, मुखको सफाई र दाँत माझ्ने, कानको सफाई, आँखा र नाकको सुरक्षा, लत्ता कपडाको सफाई नुहाउने र जुम्रा मार्न राम्रो सरसफाई, कपाल कोर्ने, घर आँगन र विद्यालयको वातावरण स्वच्छ सफा राख्ने साथै स्वस्थ खाना, शुद्ध पिउने पानी, फोहरमैलाको सहि व्यवस्थापन आदिबारे स्वास्थ्य शिक्षा प्रदान गरिएको छ । सँगसँगै स्वास्थ्यमा देखा परेका रोगात्मक अवस्थाको लागि उपयुक्त निदानसहित आधारभूत औषधी उपचार गरी आवश्यक सल्लाहसुझाव प्रदान गरिएको छ । यो क्रमलाई हमेशा जनसमुदाय, विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मीहरु र सरोकारवालाहरु सहभागी भई निरन्तर अनुगमन, नियमन र प्रभावकारी तुल्याउँदै लैजानु पर्दछ ।

हाम्रो आगामी कदमः
अर्माको जनस्वास्थ्य अभियानको सन्दर्भमा हामीले एक कदम अगाडि बढेर अब अर्को कदमको तयारीमा जुट्दैछौं । हामी आधारभूत स्वास्थ्य सरसफाई एवम् विभिन्न प्रतिकारात्मक गतिविधि, प्रर्वद्धनात्मक स्वास्थ्य अवस्था र उपचार व्यवस्थापनलाई हाम्रो स्थिति अनुसार व्यवस्थित पार्नु पर्ने, व्यक्तिगत, घर आँगन, विद्यालय आदि सरसफाईमा जोड गर्दै स्वस्थ खाना, शुद्ध पिउने पानी, हात धुने व्यवहारमा प्रर्वद्धन र फोहरमैला व्यवस्थापन सम्बन्धी हरेक वडा समुदायस्तरमा अभियान जारी रहनेछ । विद्यालयहरुमा चर्पी निर्माण तथा मर्मत र पानीको आपूर्तिको लागि गा.वि.स.कार्यालय, विभिन्न राजनीतिक दलहरु, जिल्लास्थित विभिन्न सरोकारवाला संघसंस्थाहरुलाई परिचालित हुन सहयोगी भूमिका निर्वाह गर्दै निकट भविष्यमै गा.वि.स.लाई पूर्ण खोपयुक्त, पूर्ण सरसफाईयुक्त, पूर्ण छुवाछुतरहित आदि बनाउन हामी जनस्वास्थ्यको क्षेत्रबाट दोस्रो कदम चाल्दैछौं ।

निष्कर्षः
हामीलाई सर्वविदितै छ कि नेपालको संविधान २०७२ ले हरेक नेपालीलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार प्रदान गरेको छ त्यस्तै राष्ट्रसंघीय महासभाले पनि खानेपानी सरसफाईलाई आधारभूत मानव अधिकारको रुपमा घोषणा गरिसकेको परिवेशमा हामीले हाम्रो समुदायमा रहेका सबै लक्षित वर्ग गर्भवति आमा, सुत्केरी आमा, नवजात शिशु, भविष्यका कर्णधार वालवालिकाहरु र आम जनसमुदायको स्वास्थ्य रक्षामा सकेको र उत्कृष्ठ भूमिकाको लागि हामी हाम्रो जिम्मेवारीमा प्रतिवद्ध रहँदै जनस्वास्थ्यको दृष्टिकोणले स्वस्थ खाना, शुद्ध पिउने पानी, हात धुने व्यवहारमा प्रर्वद्धन र फोहरमैला व्यवस्थापनजस्ता स्वास्थ्यमा प्रत्येक्ष सरोकार राख्ने संवेदनशील विषयमा आम जन समुदाय, नागरिक समाज, शिक्षक, विद्यार्थी, वुद्धिजिवि, जनस्वास्वास्थ्यकर्मीहरु सबैले प्रतिकारात्मक सेवाबाट स्वास्थ्यमा प्रर्वद्धन कायम गरी स्वच्छ, स्वस्थ, सवल, सम्मुनत र समृद्ध समाज निर्माणमा जोड दिनु आजको आवश्यकता हो ।                                                                     
स्वास्थ्य चौकी अर्मा    २०७३÷०६÷०२





0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |