आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, October 19, 2016

मिसन अर्थात युद्ध पत्रकारिता

नबिन रिजाल
नेकपा (माओवादी) ले २०५२ फागुन १ गते जनयुद्धको घोषणा ग¥यो । यस जनयुद्धमा जनसेनाको जस्तै प्रचार कार्य महत्वपूर्ण थियो । त्यस कार्यमा कर्णाली क्षेत्रमा आँउदा मैले अवसर पाएँ । मेरो रोजाईको विषयबस्तु मिसन पत्रकारिता भएकाले पार्टीले दिएको जिम्मा मैले गम्भीरताका साथ लिए । युद्धलाई वस्तुवादी ढंगवाट विश्लेषण गरी समयसापेक्ष बनाउन आवश्यक थियो । तत्कालिन सरकारले दमन अभियान अगाडि बढायो । तर    गरिब, निमुखा वर्गको मुक्ति चाहनेहरु झनै संगठित हुन थाले । मैले यही कुरा सम्प्रेषण गरेँ । 
राज्यले हाम्रो कामलाई समेत आतंककारीको बिल्ला भिरायो । हामीले आफ्ना कलमलाई झन् तिखो बनाउदै जनतालाई क्रान्तिको पक्षमा लाग्न र स्वतन्त्रताको गीत गाउन आव्हान गर्दै कलम चलायौं । साहित्यिक पत्रिका कलम, जनादेश र जनदिशा दैनिकका प्रधानसम्पादक कृष्णसेन इच्छुकसहित कञ्चन प्रियदर्शी, देवकुमार आचार्य, कमल एसी,  विनोद चौधरी, डि. कौडिण्य, ज्ञानेन्द्र खड्का लगायतलाई कब्जामा लिएर हत्या ग¥यो । राज्यले त्यतिखेर नेपालमा पत्रकारहरुको लागि विश्वकै ठुलो जेल बनायो । प्रायः क्रान्तिकारी पत्रकारहरु जेलमा बन्दी बनायो । 
दैलेखको सन्दर्भमा पनि क्रान्तिकारी पत्रकार देउरुपा सलामी, सुकुल सिंह, राजेश शाही, प्रकाश न्यौपाने जस्ता योद्धाहरुको विभत्स हत्या गरियो । मिलन नेपाली, दण्डपाणी शर्मा जस्ता दर्जनौं पत्रकार राज्यपक्षबाट बेपत्ता पारियो । युद्धको मोर्चामा जीवनको प्रवाह नगरी समाचार संकलन गर्ने पत्रकार नै साहसिक पत्रकार हुन् । फौजी आक्रमणमा माओवादी विद्रोहले पुराना सत्ताका क्याम्पहरु जतिजति हमला गरे, ती सबै मोर्चामा क्रान्तिकारी पत्रकारहरु सहभागी भएका थिए । युद्ध मोर्चाहरुमा संगसंगै दुश्मनसंग पौठेजोरी खेलीरहेका जनसेना र शाहीसेनाका गोलीका पर्राको विचमा कलम रेकर्डर क्यामेरा चलाउनु कम चुनौती थिएन । बाजुराको पाण्डुसेन, रुकुमको रुकुमकोट, अछामको मंगलसेन, अर्घाखाचीको सन्धिखर्क, जुम्लाको खलंगा, डोल्पाको दुनै, रोल्पाको होलेरी, म्याग्दीको बेनी, रोल्पाको सिस्नेगाम, पाल्पाको तानसेन, दैलेखको नौमूलेमा दुनियामा साहसिक पत्रकार सहभागी भएका थिए ।
नेपालमा सरकारभन्दा बाहिर रहेर रेडियो प्रशारण गर्नु कल्पनाको विषय थियो । तर असम्भव भन्ने कुरा केहि हुदो रहेनछ । काठमाडौ महानगरपालिकाले सञ्चालन गरेको रेडियो मेट्रो सँगै अरु पाँच टान्समिटर आएका थिए । त्यसलाई पार्टीले प्रयोग गर्न सफल भएकैले देशभर जनताको पक्षमा रेडियो गणतन्त्र घन्कन पाएको थियो । मैले यीनै रेडियोमा कालिकोट पिली आक्रमणलाई प्रशारण गर्ने मौका पाएँ । त्यतिबेला भेक आवाजका चंख रोकाया पनि हुनुहुन्थ्यो । योजनाबद्ध आक्रमण भएकाले माओवादीले पिली आक्रमण सफल पार्यो । २५० तत्कालिन नेपाली सेनामध्ये एक सय ६९ जनाको मृत्यु भयो । ६० जना कब्जामा परे । विद्रोही सेनाका उच्च तहका कमाण्डरसहित २२ जनाको मृत्यु भयो । यो अभियानमा ज्यानको बाजी थापेर भेरी कर्णाली प्रदेशका सञ्चारमाध्यमका रुपमा जनसन्देश पत्रिका, रेडियो भेक आवाज थियो । रेडियो भेक आवाजमा  रामलाल विकको नेतृत्व थियो । अछाममा सेतीमहाकाली  रेडियो र पत्रपत्रिका थिए । यस्ता सबै क्षेत्रमा विभिन्न नामका मिडियाहरु माओवादीले सञ्चालनमा ल्याएको थियो । रेडियोमा दुई पक्षहरु लडेको आवाज समेत सुनाउनका लागि दोहोरो बन्दुकको बिचमा रुखको आड लिएर आवाज रेर्कड गराउनुपर्ने पीडा पत्रकारलाई छदैं थियो । त्यही अभियानमा मैले मेरो दायित्व बढेको बोध गरेँ ।
खासगरी समाचार संकलनका साधनहरु क्यामरा,   रेकर्डर संरक्षण गर्नु अझै बढी जोखिमपूर्ण थियो । क्यामरा रिल, क्यासेट, ब्याटी, डायरीको संरक्षण पनि उत्तिकै जोखिमपूर्ण थियो । युद्धको भीषणतासंगै विष्फोटन आगोपानी, चिसो गर्मी र रसायन आदिले गर्दा यस्ता सहयोगी साधनहरु कहिलेकाही विग्रने, नष्ट हुने चिन्तासंगै ज्यानको जोखिम राखेर गरिएको यो पत्रकारितालाई आजभोलि कहिकतैबाट हल्का रुपमा विश्लेषण गरेको देख्दा उदेक पनि लाग्ने गर्दछ । तत्कालिन समयमा उच्च हिमाली भेगमा युद्ध मोर्चाहरुमा जाडोले ब्याट्रीका शक्ति नष्ट हुन्थे । बजारको अभावले आवश्यक सामाग्री हुदैन्थ्यो । युद्ध यात्रामा नदी तर्नुपर्ने, वर्षामा हिलोमा हिड्नुपर्दा समाचारका सामग्री भिजेर बिग्रन्थे । यसरी बाँच्ने र मर्ने ठेगान नभएको जोखिमपूर्ण काम गरेका कारण युद्ध पत्रकारिताको   परिभाषा भएको हो । तत्कालिन समयमा माओवादीले सञ्चालन गरेका विभिन्न सञ्चारमाध्यममध्ये केन्द्र भागमा जनादेश र जनदिशा लगायतका पत्रपत्रिका थिए । लिथो मसीबाट जंगलका ओडारमा राखेर प्रकाशित हुन्थे । रेडियो बजाउनका लागि अग्लो रुखका टुप्पामा टावर राखेर बजाउनुपर्ने बाध्यता थियो । असुरक्षा हुनासाथ एक ठाउबाट अर्को ठाउमा रेडियोका सामग्रीहरु डोकोमा बोकेर हिडिन्थ्यो । डोके रेडियो भन्ने चलन पनि थियो । यी मिडियामा युद्ध पत्रकारहरुले जोखिम मोलेर ल्याएका समाचारहरु बज्ने गर्दथे ।
  भेरी कर्णाली प्रदेशको जाजरकोटको खुरु गर्खाकोट जंगलमा रहेको अग्लो डाडामा रेडियो टावर थियो । उता, रुकुमको तीन बहिनी लेकमा जनगणतन्त्र रेडियो थियो । त्यसको सम्पूर्ण जिम्मा सचिन रोकाको थियो । उहा रेडियो प्रबन्ध निर्देशक समेत हुनुहुन्थ्यो । उहाको टिममा लक्ष्मी पुन, मौसम रोका पनि हुनुहुन्थ्यो । अहिले उहाको सक्रियतामा  सुर्खेतमा प्रदेश एफएमको परीक्षण प्रसारण भैरहेको छ । उहाले युद्धको समयमा साहसिक पत्रकारको भूमिका पाएपछि प्रचारप्रसारका गतिविधिहरु पनि आफ्नो उद्देश्य अनुसारको श्रमजीवि सर्वहारा वर्गकै पक्षमा बढी हुने गर्दथे । युद्ध पत्रकारिताको इतिहास हामीसितै छ । हरिमाया शर्मा (आशा) युद्ध  पत्रकारितमा छदा उनका परिवारका चार जना सदस्य राज्य पक्षबाट मारिएका छन् । बाबु, दाजु, बहिनी र आफ्नो नजिकको नातेदार गुमाउदा उनले जीवनको ठूलो पीडा भोग्नुपरेको थियो । अहिले उनी सुर्खेत जिल्लाको नेकपा माओवादी केन्द्र निकटको महिला संयोजक छिन् । यसले युद्धको समय कस्तो थियो भन्ने समेत प्रतिनिधित्व गर्दछ । 
दश वर्षको अवधिमा १७ हजारबढीको ज्यान गएको छ । अब त्यो कथा भैसक्यो भन्नेहरु पनि छन् । किनकी, त्यसलाई लिपीबद्ध गर्न सकिएन । तर, जिउदा योद्धाहरु अहिले पनि प्रमाणका रुपमा रहेका छन् । युद्धको काम सजिलो हुने भएको भए जोकोहीले पनि मोर्चा कस्न तम्सने थिए । तर, त्यस्तो सम्भव छैन् । जनयुद्ध आफैमा अभियान हो । त्यो गरिब, निमुखा, अभावमा जेलिएका, भ्रष्टाचारबाट आक्रान्त भएको मुलुकमा   हुन्छ । यो अभियान सफल गराउनमा युद्ध पत्रकारको पनि ठूलो बलिदानी छ । 
मानव समाजका शोषणका सबै जालोबाट मुक्त गराउन महान विचार दिनुहुने माक्र्स, लेलिन माओले आफ्नो जीवनकाल पत्रकारिताबाटै सुरु गर्नुभएको थियो । दुनियाका महान व्यक्तिको जीवन पत्रकारिताबाटै सुरु भएको पाइन्छ । युद्ध विरासतबाट आएका क्रान्तिकारी पत्रकारहरुले नेपाल पत्रकार महासंघको नेतृत्व पाएसम्म उदाहरणीय काम गर्न सफल भएका छन् । तत्कालिन युद्धकालिन समयदेखि अहिलेसम्म बिभिन्न आरोह र अवरोह पार गर्दे आएका गोविन्द आचार्य, ओम शर्मा, सचिन रोका, बिष्णु सापकोटा लगायतका पत्रकारहरु अग्रज पत्रकारका रुपमा परिचित सँगै अहिलेसम्म नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् ।
सुर्खेत महासंघ गणेश कञ्चन भारतीका कारण उत्कृष्ट महासंघ भएको छ । उनले नया नेपाल दैनिक पत्रिका पनि चलाएका छन् । युद्धमा घाइते पत्रकारहरु पनि छन् । यीनीहरु जीवन निर्वाहमा जटिलता पैदा भएको छ । औषधि खाइरहनुपर्ने, उपचार गरिरहनु पर्दछ । घाइते पत्रकारहरुमा दिपेन्द्र रावल, भवानी ऐर, मौसम रोकालगायत छन् । म पनि जनयुद्धको घाइते र पछि पनि योजनाबद्ध आक्रमणबाट घाइते छु । मैंले अहिले पनि समय समयमा निरन्तर औषधि खाइरहेको छु । दुईपटकसम्मको घाइते युद्धकालिन पत्रकारको सूचीमा म पनि पर्दछु । म शारीरीक रुपमा असक्त छु । युद्ध पत्रकारिताको इतिहाँसमा क्षेत्रप्रताव सुवेदीको पनि कम भूमिका छैन् । युद्धको समयमा थुप्रै जोखिम मोलेर जीवनको प्रभाह नगरि रिपोर्ट संकलन गर्ने मेरो सहपाटी योद्धा मध्येका उनीपनि एउटा पात्र हुन् । जुनसुकै मुल्य र मान्यतामा पनि चाहे युद्ध होस् वा शान्ति होस् पत्रकारहरुको आफ्नो नियम र अनुशासन हुन्छ । तर आजभोलि अव्यवस्थित बन्दै गएको पत्रकारितालाई संवेदनशिल बनाउन सबैको ध्यान जानुपर्ने देखिन्छ । मनपरी बढेको छ । गल्ती नगर्नेहरु कमै मात्रामा भेटिन्छन् । यस्ता सबै कुरालाई निर्मूल गर्न एकजुट हुनुको साटो एकले अर्कालाई अस्तित्व स्विकार गर्न नसक्ने असहज परिस्थिति अहिले पनि विद्यमान छ  । मालिक पत्रकारले मजदुर पत्रकारको पीडा जहिलेसम्म बुझ्दैनन्, तबसम्म यो समस्याको निराकरण हुन सक्दैन् । फरक बिचार राख्नेहरुले यसलाई गलत भनेर ब्याख्या गर्न सक्छन्, तर हामी मिशन पत्रकारिता गर्नेहरु कहिलै बिचलित भएका छैनौ । 
शान्ति प्रकृया शुरु भएपछि मेरो १२ वर्ष  पत्रकारितामै बितीसकेका छन् । हिजोका दिन र आजका दिनमा सोचाई बुझाई र काम गराईमा धेरै भिन्नता छ । हिजोका दिनहरु अतितको सम्झनामा सिमित भैसकेका छन् । यूद्ध पत्रकार अहिले ब्यवसाय पत्रकारको छाता संगठन नेपाल पत्रकार महासघको बिभिन्न नेतृत्वमा छन् । २०६४ सालमा नेपाल पत्रकार महासघ दैलेखको उपाध्यक्ष हुदै अहिले पार्षद छु । हामीलाई नेपाल पत्रकार महासघको नेतृत्व लिने कुरा चुनौतिपुर्ण बन्दै आएको छ । परम्परागत सोच र क्रान्तिकारी पत्रकारहरुलाई देख्न नचाहने केही तत्वका कारण अहिले पनि   क्रान्तिकारी पत्रकारहरु दरिलो संगठन बनाउन समस्यामा छन् । अहिले पनि धेरै ठाउमा आस्थाका आधारमा धेरै अपमान सहनु परेको छ । 
अहिले राज्य व्यवस्थाको नाम फेरिएको छ । तत्कालिन शाही नेपाली सेनाको नाम पनि फेरिएको छ । व्यवस्था फेरीए पनि जनताको अवस्था फेरीन बांकी नै छ । व्यवस्था            परिवर्तनका लागि युद्ध लड्ने माओवादीहरु एक दर्जन समुहमा विभाजित भएपनि फेरी जुट्ने क्रम चलिसकेको छ । यसबाट समाजमा पारेको असर कयौ सताब्दीसम्म मेटिने छैन । नराम्रो पक्षलाई मात्र नहेरी राम्रो पक्षलाई हेर्दा धेरै सकारात्मक   परीवर्तनहरु भएका छन् । नेपाली जनताले अपेक्षा गरे जती नतीजा नआएपनी राजनैतिक क्षेत्रमा ऐतिहासिक उपलब्धीहरु हासील भएका छन् ।
यो परिवर्तनलाई माओवादीहरुले बिगत, वर्तमान र भविष्यलाई समिक्षा गरेर अगाडी बड्न आवश्यक छ ।  अब धेरै कुरामा आफु पनि सुधर्नु आवश्यक छ । मानिसहरु भन्छन् हिजो र आजको समयलाई हेर्दा माओवादीहरुले सवै कुरा छाड्यो, ईतिहाँस र गरिमा छाड्यो, परिवर्तनको मुद्धा छाड्यो, सिद्धान्त छाड्यो, परिवर्तनमा साथ दिने सहयोगिहरुलाई पनि छाड्यो । माओवादी केन्द्र भन्छ, हामिले केही छाडेका छैनौं । मुलुक हाम्रो ऐजण्डामा घुमिराखेको छ । जनतालाई बुझाउन नसक्नु हाम्रो कमजोरी हो । 
माओवादी समय समयमा कमजोर हुँदै जानु एउटा कारण यो पनि हो । दश बर्षे जनयुद्धमा राज्य परिवर्तनका लागि जीवन मरणको लडाँई लडेका माओवादी कार्यकर्ताहरु र आम जनताको जनताको आर्थिक, आवस्था नाजुक छ । माओवादी पटक पटक सत्तामा जाने गरेको छ । जिल्ला देखि केन्द्र सम्म नातापाता आफ्ना सम्बन्ध भएका मानिसहरुले मात्र सहयोग पाउँछन् । जनयुद्धले बिजोग बनाएको कार्यकर्ता र कतिपय जनताहरुको अवस्था झनै नाजुक बन्दै जानुले अरु मुद्धा नछोडेपनि परिवर्तनका सहयोगिहरुलाई सम्मान दिन नसको हो कि जस्तो देखिन्छ । यी यस्तै कमजोरीहरु सुधार गर्न सकेको खण्डमा मात्र माओवादी सँग जोडिएको हालको प्रेस सेन्टर नेपाल पनि अगाडी बढ्न सक्छ । लेखक रिजाल प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य हुन । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |