किरण थापा
संतोष कुमार मिश्र
उदयराज जोशी
देवनाथ शाह
(शाखा अधिकृत, नेपाल सरकार)
काठमाण्डौ–रुकुम चल्ने सार्वजनिक बसबाट आफ्नो बन्दोबस्तीका सामान सहित फिक्का निलो रंगको NASC लेखिएका ट्रयाकसुट पहिरिएका चार अपरिचित युवा अनुहार देख्दा पक्कै पनि मुसिकोट खलगांबासीको मनमा कौतुहलता जागेको हँुदो हो । नयाँ परिवेश तथा नौलो वातावरण लाई कार्यथलो बनाई आएका यी उत्सुक युवाहरुलाई स्थानीय मानिसको आफूहरुप्रतिको चासो बुझ्न त्यति गाह्रो पनि परेन । वित्दो दिनसंगै चिया पसल, पुस्तक पसल, बराह टाकुरा, सल्ले विमानस्थल अनि सेरी गाउँतिर विचरण गर्दा नेपत्थ्यमा उत्सुकतायुक्त वार्तालापबाट मानिसहरुका चासोबारे अड्कल काट्न गाह्रो परेन ।
“यी त खेलाडी हुन !”, “अन्तर्राष्टिय बुद्धिचाल प्रतियोगितामा भाग लिन आएका महान हस्तीहरु हुन !” “काठमाण्डौका विश्वविद्यालयबाट अनुसन्धान गर्न आएका सोधकर्ता हुन !” जस्ता अड्कलबाजीहरु नेपत्थ्यमा सुनिने गरिन्थ्यो । आखिर दुई महिनाको बसाई छँदै थियो , फेरी आफ्नो परिचय दिँदै हिडने कुरा पनि भएन र समय सन्दर्भमा परिचय हुनु त छँदै थियो । त्यसैले, शुरुवाती दिनहरु गुमनाम नै रहने भइयो । वास्तवमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान , जावलाखेल ललितपुरबाट कार्यालय आबद्धताको लागि आएका नेपाल सरकारका चार नवनियुक्त शाखा अधिकृतहरुले रुकुम जिल्लालाई आफ्नो ज्ञानभूमि बनाउदै छन भने थाहा लागेपछि स्थानीय रुकुमेलीहरुको सम्मान, हार्दिकता अनि ममताले जानपहिचानको यो अध्यायलालाई थप गाढा र फलदायी बनाउँदै लग्यो ।
पुस्तकका अध्यायहरुमा वर्णित विवरणहरुभन्दा भिन्न रहेछ रुकुम ! द्वन्द्वको भग्नावशेषबाट तङ्ग्रीएर विकास ,शान्ति र समृद्धिको बाटोतिर तिव्र गतिमा लम्कदै गरेको रहेछ, रुकुम ! द्वन्द्व कालमा बढी प्रभावित रहेका खारा, महत , काँक्रि , चुनवाङ लगायत युद्धग्रस्त गाउँहरुमा गुरिल्ला ट्रेक र युद्ध संग्रहालय मार्फत् विदेशी पर्यटकलाई समेत आकर्षण गर्ने गरी “युद्ध पर्यटन”को शुरुवात भएको छ । युद्धका घाउमा मलहम लगाउने र युद्धबाट त्रसितहरुलाई सान्त्वना दिने यो त साह्रै प्रभावकारी उपाय रहेछ । विकास निर्माणका कार्यहरुमा युद्धग्रस्त बस्तीहरुलाई प्राथमिकता दिएबाट रुकुम जिल्लाले द्वन्द्व तथा शान्ति संवेदनशील विकासको अनुपम उदाहरण पेश गरेको प्रतित हुन्छ ।
त्यस्तै, “रुकुम उज्यालो कार्यक्रम” अन्तर्गत लघु जलविद्युत आयोजनाहरुमा आम जनताको उर्लदो श्रमदान तथा सक्रिय सहभागिता सुन्दा लाग्छ, रुकुमेली जनता विकासप्रति व्याकुल छन् । झोलुङ्गे पुल , ग्रामिण सडक र मध्यपहाडी लोगमार्गले यहाँका दुर्गम गाउँहरु सडक सञ्जालसंग जोडिएका मात्र नभएर रोजगारी , बजार र पर्यटनको विकास भई समग्र जिवनस्तरमा सकारात्मक परिवर्तन आएको छ । संभावनाले भरिपूर्ण यहाँको तरकारी बिउ र पूर्वी भेगमा पाइने यार्सागुम्बा जिल्लाका ब्राण्ड उत्पादनको रुपमा प्रख्यात छ । यार्सागुम्बाले स्थानीय बासिन्दाहरुको जीवनस्तरमा उल्लेख्य सुधार ल्याएको त छँदैछ, संगै यार्सा ट्े«लको माध्यमबाट पर्यापर्र्यटनको पनि विकास हुँदै गएको छ । त्यस्तै मगर समुदायको भूमे नाच, सदियाँै पुराना सांस्कृतिक नीधि तथा मनोरम प्राकृतिक संम्पदाले जिल्लामा पर्यटनको प्रचुर संभावना झल्काउँछ ।
निर्दिष्ट उद्देश्य अनुरुप छोटो समयमा जिल्लाको बस्तुगत स्थितिबारे उल्लेखित जानकारी लिने काम चासो र चाखपूर्वक तवरले भयो । यसका अलावा सेवाप्रदायक निकायमा बसेर काम गरी आवश्यक पेशागत ज्ञान हासिल गर्नु र सेवाग्राहीका समस्या हृदयङ्गम गर्नु दुइ महिने रुकुम बसाईको प्रमुख मक्सद थियो । यस जिल्लामा अवस्थित प्रशासन र विकास सम्बद्ध कार्यालयहरुमा रही कार्य सम्पादन गर्ने क्रममा प्रमुख जिल्ला अधिकारी , स्थानीय विकास अधिकारी लगायत सम्बद्ध कार्यालय प्रमुखहरुको मार्गदर्शन एवम् पृष्ठपोषण अत्यन्त फलदायी रह्यो ।
कार्यतत्परता , अद्यावधिक ज्ञान , अधिक सहजिकरण क्षमता तथा समग्र व्यवस्थापकीय सीपले श्रीमान् प्र.जि.अ. ज्यू प्रति सेवाकाल एवम् सेवपर्यन्त नतमस्तक रहनेछौँ । त्यस्त,ै स्थानीय विकास अधिकारीज्यूको शालिन व्यक्तित्व ,निर्णय गर्ने सीप, कार्यतत्परता ,र जुझारुपनबाट ज्यादै प्रभावित भएका छांै । जिल्लामा कार्यरत सबै राष्ट्रसेवक कर्मचारीहरुको कार्यशैली , व्यवहार र अनुभव हाम्रा लागि सिकाईको पहिलो विन्दु बनेको छ ।
जिल्ला प्रशासन कार्यालय रुकुममा रही कार्य गर्दा दैनिक प्रशासन, नागरिकता, राहदानी, संस्था दर्ता, विपद् व्यवस्थापन, शान्ति सुरक्षा सम्वन्धी कार्य प्रकृति र प्रकृयावारे वुझ्ने अवसर पाइयो । जिल्लामा अवस्थित सम्पूर्ण सार्वजनिक निकाय एवम् तीनका कृयाकलापको सुपरीवेक्षण, नियन्त्रण र समन्वयमा यसको भूमिका महत्वपूर्ण र संवेदनशील रहेको छ । सेवाग्राहीको बढ्दो अपेक्षा र थेगिनसक्नुको कार्यचाप तर न्यून दरबन्दी भएर पनि अविच्छिन्न सेवा प्रवाह गर्ने यहाँका कर्मचारीको भागिरथ सेवा सह्रानीय छ । यद्यपी , साँघुरो कार्यालय परिसर र अप्ठ्यारो कार्यालय विन्यासका कारण एउटै कक्षमा मुद्दा फाँट र प्रशासन फाँटबाट सेवा प्रवाह गर्नु पक्कै पनि सजिलो छैन । जिल्लामा प्र.जि.अ, स्थानीय विकास अधिकारी तथा सम्बद्ध अधिकृतबाट उजुरी र गुनासा तत्कालै सुनुवाई हुनु ज्यादै सकारात्मक पक्ष हो ।
कार्यालय परिसरमा रहेको नागरिक वडापत्र अद्यावधिक गरी सबैले देख्ने ठाउँमा राख्ने व्यवस्था मिलाउन भने ढिलो गरिनु हुन्न । अर्को तर्फ जि.वि.स. कार्यलयमा योजना निर्माण , कार्यान्वयन , अनुगमन मूल्यांकन , उपभोक्ता समिति गठन , पञ्जिकरण , सामाजिक परिचालन लगायत विकास व्यवस्थापन सम्बन्धी धेरै कुराहरु अध्ययन र अनुभव गर्ने मौका मिल्यो । मालपोत कार्यालय रुकुममा मोठ भिडाउने , रजिष्ट्रेशन पास गर्ने , नामसारी गर्ने सम्बन्धी काम सौहार्दपूर्वक वातावरणमा कार्यालय प्रमुखका सहयोगमा गरियो ।
दुई महिनाको रुकुम बसाईमा यहाँको सामाजिक साँस्कृतिक जीवन आंशिक रुपमा भएपनि नजिकबाट नियाल्ने मौका मिल्यो । त्यस्तै,सार्वजनिक विदाका दिनहरुमा स्थानीय युवाहरुसँगको भेटधाट, विहानी सत्रको ब्याडमिन्टन कोर्टमा हुने भलाकुसारी, राष्ट्रिय भूकम्प स्मृति दिवस, राष्ट्रिय पत्रकारिता दिवस , रेडक्रस दिवस , गणतन्त्र दिवस लगायत थुप्रै राष्ट्रिय पर्वमा भएको अन्र्तक्रियाबाट जिल्लाका आम सेवाग्राहीको चाहना र अपेक्षाबारे जान्ने अवसर पनि जुर्यो । सेवाप्रवाहमा हुने ढिलासुस्ती, झन्झटिलो प्रक्रिया र कर्मचारीबाट हुने कम प्रिय लाग्ने व्यवहारले पारस्परिक सम्बन्धलाई कमजोर बनाएको तथ्यलाई नजरअन्दाज गर्नु अवश्यै राम्रो पक्ष होईन । यसर्थ नागरिक वडापत्र, गुनासो व्यवस्थापन, सार्वजनिक सुनुवाई, सार्वजनिक परीक्षण लगायतका संयन्त्रको प्रभावकारी उपयोग गर्नु जरुरी छ ।
समग्रमा दुई महिनाको रुकुम बसाई पेशागत ज्ञान, सीप र क्षमता अभिवृद्धि गराउन मात्रै नभई अन्र्तव्यैयक्तिक सम्वन्ध एवम् सकारात्मक सोच बढाउन पनि कोसेढुङ्गा सावित भएको छ । त्यसैले त, निजामति सेवा प्रवेश सँगैको कार्यालय आवद्धताको दौरानमा सिकेका, देखेका र भोगेका विविध पाटाहरु सेवामा रहुन्जेल मनमस्तिस्कमा राखी कार्यसम्पादन गर्ने प्रण गरेका छौं । भविष्यमा रुकुम फर्केर सेवा गर्ने चाहना र संभावना त छँदै छ, यसको अलावा देशको कुनै पनि कुनामा गएर सेवा प्रवाह गर्दा यो दुई महिने सिकाई उपलव्धि अवश्य नै उपयोगी हुनेछ ।
राष्ट्रसेवक कर्मचारीका रुपमा मुलुकका दूरदराजका कार्यालयमा गई सेवा गर्दा यो वसाईमा अनुभुत गरिएको रुकुमेली जनताको अपेक्षा, अनुभुति र चाहनालाई सन्दर्भको रुपमा स्मरण गर्नेछौं । फेरि पनि, यो भूमिमा हासिल गरेको ज्ञान र अनुभवले खारिएर कार्यालयहरुमा पदस्थापन भई कार्यसम्पादन गर्दै रहँदा रुकुमेली सार्वजनिक सेवा प्रदायक र सेवाग्राहीवीच सुमधुर सम्वन्ध एवम् यहाँका जनताका विकासप्रतिको चाहनाको वारेमा सोचिरहेका हुनेछौं, रुकुम जिल्लाको समृद्धितर्फको यात्राको अविरल रुपमा कामना गरिरहेको हुनेछौं ।
0 comments:
Post a Comment