रुकुम उद्योग बाणिज्य संघ रुकुमका उद्योगी व्यापारीहरुको हकहितको लागि काम गर्ने एउटा छाता संस्था हो । रुकुमको व्यवसायीहरुको विकासका लागि दिर्घकालिन नीति तथा कार्यक्रम बनाउने देखि तत्काल बजारमा देखिएका समस्याहरुलाई उपभोक्ता र व्यवसायीहरुको हितमा काम गर्नु उसको दायित्व हो ।
संघको निर्बाचन क्रममा मत आफ्नो पोल्टामा पार्न नेतृत्वकर्ताले समयसमयमा बिभिन्न आश्वासन समेत दिने गरेका छन । के रुकुम उद्योग बाणिज्य संघले रुकुमका सम्पुर्ण व्यापारीहरुको हित र आवश्यकताको पक्षमा काम गरिरहेको छ त ? संघको नेतृत्वमा आगामी दिनहरुमा के कस्ता नयाँ गतिबिधिहरु गरिदैछन ? यी र यस्तै बिषयमा संघका बरिष्ठ उपाध्यक्ष दिनेश केसीसंग आहा सञ्चार साप्ताहिकका सम्पादक मेगराज खड्काले गरेको कुराकानी ।
रुकुम उद्योग बाणिज्य संघले के कस्ता नियमित क्रियाकलापहरु गर्दै आएको छ ।
रुकुम उद्योग बाणिज्य संघ रुकुमको विकास, समृद्धि र व्यापार व्यवसायहरुको प्रर्वद्धनका लागि बेलाबेला बिभिन्न गतिबिधीहरु गर्दै आईरहेको छ । हामीले साना व्यापारी देखि ठुला व्यवसाय सम्म र जिल्ला स्थित यस सम्बन्धी सरोकार राख्ने निकाय देखि गाउँका किसानहरुलाई समेत ध्यानमा राखि बिभिन्न गातिबिधीहरु गरिरहेका छौं । किसानका लागि बिउ बिजन कार्यक्रम बिगतदेखि नै सञ्चालनमा छ भने एक गाउँ एक उत्पादन कार्यक्रम छिटै शुरु गर्दैछौं । त्यसका साथै रुकुमेली व्यवसायीहरुलाई अझ सशक्त र प्रभाबकारी बनाउन बस्तुगत उपसमितिहरु बनाउने कार्यमा सहयोग र हौसला दिईरहेका छौं । तपाईले पनि सुनिरहनु भएको होला हामीले रुकुममा खाद्य व्यवसाय, ईलेक्टोनिक्स व्यवसाय, मासु व्यवसाय लगायतका अन्य व्यवसायहरुलाई संगठित बनाउने अभियानमा छौ । जसले गर्दा उनीहरु पनि आफै सशक्त हुदै गएका छन । त्यसका साथै बिभिन्न संघसंस्थाहरु संग मिलेर बिभिन्न रचनात्मक कार्यक्रमहरु गरिरहेका छौं । जिल्लाको पर्यटन विकासको कुरा गर्नुहुन्छ भने हामी भर्खरै बाँफिकोटको स्यार्पुतालमा नेपाली सेना, सरोकारवाला अन्य
निकाय संगै जिल्ला स्थित उद्योगी व्यवसायीहको तर्फबाट सक्दो सहयोग र सहकार्य गरेका छौं ।
संघबाट सानातिना कार्यक्रमहरु गरेको त बताउनुभयो । तर रुकुमको गाउँगाउँसम्म रहेका व्यवसायहरुको हितका लागि अझै उद्योग बाणिज्य संघले प्रभाबकारी कामहरु गर्न सकिरहेको छैन भन्ने आरोप पनि छ नी ?
हो, तपाईको कुरामा म पनि सहमत छु । हामीले बिगतका टिम भन्दा अली धेरै काम गरेको जस्तो लाग्छ तर अझै पनि गाउँगाउँका व्यापारीहरुको लागि धेरै गर्न बाँकी छ । त्यो हामीलाई पनि बेलाबेला महसुस हुन्छ भने हामीले त्यो समस्या समाधान गर्न बेलाबेला पहल पनि गरिरहेका छौं । जस्तो की हाम्रो सोलाबाङका व्यापारीहरुले ल्याण्डलाईन फोन बिस्तार गनुप¥यो भनेर डेलिकेशन दिएको धेरै भयो, हामी पनि आफ्ना ठाउँबाट लागिपरहेका छौ र त्यसको समस्या समाधान पनि छिटै हुन्छ । त्यस्तै जिल्लो आठविसकोटका व्यवसायी साथीहरुले हाम्रो गाउँगाउँमा कुनैपनि बैंकहरु छैनन् कारोबार गर्न समस्या भैरहेको छ । दुर्गम गाउँहरुमा लुटपातको समेत समस्या बेलाबेला दोहरिन्छ भनेर भन्नुहुन्छ हामी पनि लागिरहेका छौ तर समस्या समाधान भैसकेको छैन । त्यसकारण गाउँगाउँका व्यापारीरुहरुको हकहित, सचेतना, प्रबिधी बिस्तारको लागि हामीले पक्कै पनि प्रभाबकारी ढंगले काम गर्न सकिरहेका छैनौ तर प्रयास भने जारी राखेका छौ । एक न एक दिन समस्या समाधान भएरै छाड्नेछ ।
रुकुम उद्योग बाणिज्य संघले प्रभाबकारी ढंगले काम गर्न नसक्नुका पछाडि संघ भित्रै किचलो र जिम्मेबारीबोध छैन भनेर बाहिर टिप्पनी गरिन्छ नी ?
हो तपाईले भनेको कुरा केहि प्रतिशत सम्म म सहमत छु । सबै मान्छेमा गल्तीकमजोरी हुन्छ त्यो हाम्रो संस्थामा पनि छ, हामी भित्रका टिममा पनि छ र म भित्रै पनि छ । ति समस्यामा समाधान एकैपटक र एकैछिनमा सर्लक्क सुध्रिने भन्ने पनि हुदैन तर त्यसका लागि हामी पनि निरन्तर लागिरहेका छौ । हाम्रो संस्थालाई राम्रो बनाउने या नराम्रो् बनाउने हाम्रो टिमका सबैको भर पर्छ । त्यसकारण हामी सबै जीम्मेवार भन्नुपर्छ । हाम्रो काँधमा हाम्रो पसल, हाम्रो सन्तान वा ब्यक्तिगत कुरामात्र होईन समग्र रुकुम जिल्लाको आम व्यवसायीहरुको जिम्मा पनि हामी संग छ । त्यसकारण हामीमा भएको कमीकमजोरीहरुलाई हटाएर सबै पदाधिकारी साथिहरु गम्भीर भएर सोच्न र केहि नयाँ कामहरु गर्न आवश्यक छ ।
अन्त्यमा, तपाई आफै रुकुम उद्योग बाणिज्य संघको बरिष्ठ उपाध्यक्ष पनि हुनुहन्छ तर पछिल्लो समय तपाईले बिगतदेखि गर्दै आएको व्यवसायहरु क्रमस छोडिरहेको जस्तो देखिन्छ । बजारमा पनि त्यस्तै हल्ला सुन्निन्छ । तपाई व्यवसाय बिनाको नेता भन्ने सोचमा हो ?
यो एकदम गलत कुरा हो । मेरो यसमा ध्यानकार्षण समेत भएको छ । मैले पनि तपाईले प्रश्नमा भनेजस्तै कुराहरु कताकता सुने मलाई निकै नराम्रो लाग्यो । तर एउटा चाहि के सत्य हो भने मैले पहिले देखि गर्दै आईरहेको व्यवसायमा केहि चेन्ज गरेको त पक्कै हो तर व्यवसाय नै छोड्न थालेको भन्ने एकदम गलत भ्रम हो ।
उद्योग बाणिज्य संघको नेतृत्व भएपछि जिल्ला तथा जिल्ला बाहिर हुने बिभिन्न तालिम, गोष्ठी, सेमिनारहरुमा पनि सहभागी हुनै प¥यो । त्यसका साथै म फेरी पहिलेको भन्दा अली फरक तरीकाले व्यवसाय गर्ने सोचमा भएका कारण त्यससम्बन्धी केहि नयाँ बिषयहरु सिक्न म तालिमको सिलसिलामा पनि म केहि समय बाहिर रहे जसले गर्दा यसले त पसल गर्न छोड्यौ है भनेर गरिएको हल्ला मात्र हो । म व्यवसाय छोड्न लागेको होईन की अझ बिस्तारित र व्यवस्थित बनाउदै छु । फरक र नयाँ तरिकाले ज्ञान सिप आर्जन गरेर व्यवसाय गर्दैछु । उद्योग बाणिज्य संघको बरिष्ठ उपाध्यक्ष मात्र बन्ने तर व्यवसाय नगर्ने भन्ने कदापी हुन सक्दैन । व्यवसाय नगर्ने हो भने त म कसरी व्यवसायीहरुको नेतृत्व गर्नसक्छु । काउन्टर बेसको व्यापार भएन भनेर व्यवसाय नै छोड्यो भन्नु राम्रो कुरा होईन । अझै पनि केहि समय म फेरी जिल्ला बाहिर जाँदैछु, नयाँ व्यवसाय सञ्चालनका लागि योजना र गर्ने तरिकाबारे केहि ज्ञानसिप सिक्न । त्यसपछि जिल्लामै बसेर डिलरबेसको व्यवसाय त जारी नै छ ।
0 comments:
Post a Comment