मनलाल ओली
उपाध्यक्ष, राप्ती साहित्य परिषद्
जिल्ला शाखा रुकुम
मिति २०७२ जेठ २ गते शनिबार मुसिकोट नगरपलिका वडा नं.१० स्थित साँखमा सम्पन्न हुने रुकुम साहित्य मालाको १२ औं श्रृङ्खलामा सहभागी बन्न सम्पर्क स्थान साहित्यकार मुकुन्दप्रसाद शर्माको निवासमा पुग्दा राप्ती साहित्य परिषद, जिल्ला शाखा रुकुमका सल्लाहकारहरु मुकुन्दप्रसाद शर्मा र हरिप्रसाद खनालजीसँग भेट भयो । केही समय पछि अध्यक्ष सहितको टोली आईपुग्यो । हाम्रो जिल्लाबाट सहभागी बन्ने चौध जनाको समुह मध्यपहाडी राजमार्गमा पैदल हिड्दै अगाडी बढ्यो । पाखा र पखेरीमा पाकेका ऐशेलु र काफललाई फोटोमा कैद गरेर घरमा ल्याई सुतिसुति खान मिल्ने प्रविधिको उपयोग गर्दै र हात्ले भेटेजतिका फलहरु टुपुक्क टिप्दै कुपुक्क निल्दै हिडियौं । चारैतिरको भौगोलिक अवस्थाको अवलोकन, प्राकृतिक सम्पदाको अध्ययनमा रमाउदै र सहित्यिक भलाकुसारी गर्दै हिडेर साँखको गाउँमा पुग्यौं ।
सडक किनारा साँख गाउँमा अवस्थित जनजागृत माद्यमिक विद्यालय प्राङ्गनमा प्रवेश गर्यौं । त्यहाँ १२ औं रुकुम साहित्य माला कार्यक्रमका व्यबस्थापक इश्वर शाह, डम्मर पाण्डे लगायतका महानुभावहरु हाम्रो स्वागतको लगि प्रतिक्षामा बसेको पायौ । उहाँहरुले प्रदान गरेको न्यानो स्वागतलाई ग्रहण गर्दै औपचारिक परिचय गर्यौ । कार्यक्रम पर्यटकीय स्थल साँख दह किनारमा गर्ने सहमति गरेर हामी सबै दहतर्फ लम्कियौ ।
उक्त कार्यक्रमका व्यबसथापक इश्वर शाहले विशेष तयारी गर्नु भएको थियो । पञ्चेबाजाको समूहले हाम्रो स्वागत गरेको थियो । यहाँको कला, संस्कृति र सङ्गीतले साहित्य प्रस्फुटन गराउन मद्धत गरेको थियो । यो साहित्यिक माहोलले साहित्य अनुरागी बालबालिका, युवायुवति र बृद्धबृद्धा लगायत सबै उमेर समूहका व्यक्तित्वहरुलाई आकर्षण गरेको थियो । साँखको छातीलाई छिचोलेर गएको मध्पहाडी राजमार्ग, ठूलीदह, साँखदह, बैलादह, खारादह, अग्ला अग्ला पहाडी श्रृङ्खला लगायतका आकर्षक पर्यटकीय स्थलले भरिपूर्ण यो क्षेत्र आन्तरिक तथा बाह्यै पर्यटकहरुलाई आकर्षण गार्न सक्ने प्रचुर सम्भावना देखिन्थ्यो । साँख लोकगाथा, लोककथा, लोकगीत, लोकनृत्य, पापीनि नाँच, सोरठी नाँच, सिंगारु नाँच लगायतका संस्कृतिले भरिपूर्ण भएको क्षेत्र रहेछ । परापुर्व कालखेखि नै यहाँ साहित्य र संस्कृतिले भरिपूर्ण भएकोले कला, संकृति र संगीतको उर्वर क्षेत्र मानिदोरहेछ ।
यो कार्यक्रम रुकुम साहित्य मालाको १२ औं श्रृङखलासँग सम्बन्धित भएकोले जिल्लाबाट हामी चौध जना साहित्यकारहरु र साँखबासी स्थानीय साहित्यकारहरु दर्जनौंको उपस्थितिमा सम्पन्न भएको थियो । सिर्जना शर्माले सञ्चालन गरेको उक्त कार्यक्रकमको अध्यक्षता राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुमका अध्यक्ष गिरिप्रसाद बुढाको रहेको थियो । सो कार्यक्रममा प्रमुख अतिथि मुसिकोट नगरपालिकाका कार्यकारी अधिकृत तथा साहित्यकार कमलमणि देवकोटाको रहेको थियो । अतिथिहरुमा हरिप्रसाद खनाल, मुकुन्द शर्मा, मनलाल ओली, इश्वर शाह, प्रकास के.सी, डम्मर पाण्डे लगायतको रहेको थियो । साँखमा साहित्य माला कार्यक्रम राख्नको औंचित्य बारेमा प्रकाश पार्दै कार्यक्रमका ब्यवस्थापक साहित्यिक व्यक्तित्व इश्वर शाहले साँखमा प्राचीन कालदेखि कला, साहित्य र संस्कृतिको खानी रहेको साथै पछिल्लो पीढिलाई लोकसाहित्यको जर्गेना गर्दै साहित्यप्रति रुची भएका बालबालिकाहरुमा रहेको साहित्यिक भावनालाई प्रस्फुटन गराउन सहयोग गर्ने उदेश्यले रुकुम साहित्य मालाको १२ औं श्रृङ्खलाको व्यबस्थापक भएको धारणा राख्नु भयो । वास्तबमा इश्वर शाह साँच्चिकै साहित्यिक भावना भएको ब्यक्ति हुनुहुन्छ । एक न एक दिन मानवको जीवन मरेर जाने चोला हो । एक चिम्टी सास रहुन्जेलसम्म यो धर्तीमा केही न केही गर्नु पर्छ भन्ने सोचका धनी साहित्यिक ब्यक्तित्व इश्वर शाहले रुकुम साहित्य माला जस्तो पवित्र तथा ओजन्दार कार्यक्रमको ब्यवस्थापक भएर रुकुमको साहित्यिक उन्नयनमा आफ्नो नाम दर्ज गराउन सफल हुनु भएको छ । कार्यक्रममा स्थानीय र जिल्लाका स्रष्टाहरुका रचनालाई छ्समिस गराएर वाचन गर्न लगाइएको थियो । समकालीन घटना र परिवेशमा आधारित आफ्ना रचनाहरु जन्माउनु साहित्यकारको विशेषता हो । यतिबेला हाम्रो देश नेपाल भूकम्पको बिनासकारी धक्काबाट घायल भई थिलोथिलो भएको छ । प्राकृतिक बिपत्तिको प्रकोप भूकम्पमा परी मृतुवरण गरेका हजारौं देशबासीको सम्झनामा १ मिनेट मौनधारण समेत गरिएको थियो । यहाँ वाचित दर्जनौं कविता, गजल, गीत लगायतका अधिकांश रचनाहरु भ्ूाकम्पसँग सम्बन्धित थिए । मैले पनि भूकम्पमा परी ज्यान गुमाउनेहरुको सम्झनामा श्रद्धाञ्जली नामको कविता वाचन गरेको थिएँ । भूकम्पमा परी जीवन गुमाउने मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना तथा मृतकका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएका रचनाहरु वाचन गरिएका गिए । कविता, गजल, गीत, मुक्तक, कथा लगायतको साहित्यिक रसले साँख दह साँच्चिकै साहित्यमय भएको थियो । आफ्नै स्वर तथा संगीतमा स्थानीय स्रष्टाहरुका सकालको बारीमा तोरी हरियो, लाग्दैन बारुली माया मरियो जस्ता सिंगारु भाकाका लोकगीतले साहित्य कार्यक्रम सुनमा सुगन्धित बनेको थियो । गीत गाएर कार्यक्रमलाई थप आकर्षण बनाएका थिए ।
सिमसिम पानी परिरहेको थियो । यसले कार्यक्रम छोट्याउन दवाव दिइरहेको थियो । कार्यक्रम समापन लगत्तै व्यबस्थापक इश्वर शाहले पाहुनाहरुलाई स्थानीय परिकारद्धारा तयार पारिएको भोजन ग्रहण गर्न आग्रह गर्दै विद्यालय भवनभित्र लिनु भयो । हामी भित्र पसेर गोलमेचमा बस्यौं । कार्यक्रमका अध्यक्ष अर्थात राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुमका अध्यक्ष गिरीप्रसाद बुढाले मैले वर्षाको कारण कविता सुनाउन भ्याएन अहिले सुनाउछु है भन्नु भयो । हलले एकमतका साथ कविता वाचन गर्न स्वीकृति दियो । गिरी सरले मीठो स्वरमा छन्दोबद्ध कविता वाभन गर्नु भयो । सन्देशमूलक तथा रसैरसले भरिएको कविता सुनेर तालिले सम्मान गर्यौं । यतिबेला इश्वर सरको निर्देशनमा स्थानीय साहित्यकारहरुले उसिनेका आलुको साथ नुनमा खुर्सानी र टिम्मुर मिसाएको नास्ता चखाउनु भयो । साहित्यकारको लागि अत्यन्त अनुकूल तथा स्वास्थ्यको लागि हित्कर यो भोजनले सहरबजारमा खुवाइने ग्यास्टिकको मसलालाई चुनौती दिइरहेको थियो । यो नसिद्धिदै रोटी र दहीको सगुन टुप्लुक्कै आयो । आलु खाइरहेको यो बोजारी खाप्चोले रोटी र दही पनि कुप्लुक्कै खायो । मुख पुच्दै हात मल्दै अर्को पनि आउछ कि ? मैले भने । केही बेर कोठा हाँसोमय भयो ।
रुकुम साहित्य मालाको १२ औं श्रृङ्खलामा सहभागी हुँदा साँख दहको साहित्यिक रसस्वादनको यो आनन्दलाई केसँग तुलना गर्न मिल्ला र ? सिमसिमे वर्षा पनि यतिबेला भागीसकेको थियो । सूर्य पश्चिमको क्षितिज पारी जान आतुर देखिन्थ्यो । भोजन पश्चात विद्यालय प्राङ्गनमा सामूहिक तस्बिर सिचायौं । हामी औपचारिक रुपले साँखबासी साहित्यकारबाट बिदाबारी भई मुसिकोटतर्फ लाग्यौं । हामी मध्यपहाडी राजमार्ग छोडेर पुरानो घोडेटोमा इश्वर सरसँगै फर्कियौं । ठाडा ढुङ्गा स्थित सरको निबासमा विश्राम गर्यौ । कमलमणि सरले विभिन्न क्षेत्रका व्यक्तिहरुको क्यारीकेचर गरेर मनोरञजन गराउनु भयो । इश्वर सरले सानी छोरीलाई पानी पिलाउन निर्देशन दिनु भयो । सन्नानीले भित्रबाट अम्खरामा चिसो पानी ल्याएर दिइन । तिर्खा मेटाएर हामी पुनः साहित्यिक भलाकुसारीमै जुटेका थियौं । नानीले पहाडको पवित्र मीठो काफल चखाइन । काफल निल्दै कमलमणि सरले विविध भाषिकासँग सम्बन्धित साहित्यिक अनुभूतिहरु सुनाउनु भयो । हामी इश्वर सरसँग बिदा भई अगाडी बढ्यौं । गोधुली साँझमा सेरीगाउँ पुगी आआफ्नो निबासतर्फ छुट्टियौं ।


2:48:00 AM
www.aahasanchar.com






0 comments:
Post a Comment