आहा सञ्चार
रुकुम
रुकुमको खारा गाविसमा संक्रमणकालीन न्याय र शान्ति निर्माण सम्बन्धी तिन दिने तालिम सम्पन्न भएको छ । मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस) नेपाल रुकुमको आयोजनामा भएको उक्त तालिममा द्वन्द्व, यसले महिला र बालबालिकामा पर्ने असर, द्वन्द्व समाधान र शान्ति निर्माणमा नेपालमा भएका अभ्यासहरु, संक्रमणकालीन न्याय, यसको संरचना तथा प्रक्रिया, सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगका वारेमा जानकारी गराईएको छ ।
त्यस्तै तालिममा न्याय प्राप्तीका लागी विधि तथा प्रक्रियाहरु, पिडित पक्षको भुमिका, नागरिक समाज, स्थानीय शान्ति समितिको भुमिका र राज्यको दायित्वका विषयमा समेत छलफल गरिएको छ । तालिममा खारा गाविस स्तरीय संक्रमणकालीन न्याय तथा शान्ति मञ्चका पदाधिकारी अन्य सरोकारवाला गरी २० जनाको सहभागिता रहेको थियो । तालिमपछि सहभागीहरुले संक्रमणकालीन न्यायको प्रक्रियाका बारेमा आफूहरुले सिकेको कुरा सम्पूर्ण द्वन्द्वपीडितहरुलाई जानकारी गराउने बताएका छन् ।
तालिम हरप्लेसद्वारा कार्यक्रम लागु भएका ५ गाविसमध्ये यसअघि भलाक्चा, रुँघा, पेउघामा सम्पन्न भईसकेको र यसपछि मुरु गाविसमा सञ्चालन गरिने हरप्लेस नेपाल रुकुमका जिल्ला कार्यक्रम संयोजक सुरेन्द्र खत्रीले जानकारी दिए । पछिल्लो समयमा सत्य निरुपण तथा मेलमिलाप आयोगले विगत द्वन्द्वको समयमा भएका गम्भीर मानव अधिकार उल्लंघनका घटनाको छानविन गर्ने तयारी गरिरहँदा पीडितहरुलाई उक्त प्रक्रियामा सहभागी गराउने उद्देश्यले यस तालिमको आयोजना गरिएको उनको भनाई छ । तालिमको सहजिकरण जिल्ला स्थित कानून व्यवसायी अधिवक्ताहरुले गरेको बताईएको छ ।
0 comments:
Post a Comment