आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, February 11, 2016

नेपाली राजनीतिक परिदृश्यमाः नयाँ शक्तिको चर्चा र बहस सान्दर्भिकता

आला्ेक नेपाली
१.पृष्ठभुमीः 
नेपालीमा उखान छ, नयाँ गाईका लागि नौपुला घाँस, हामी मानव भएको र प्राकृतिक हिसाबले पनि कुनै पनि नयाँ चिजको उठान हुँदा अचम्म लाग्नु, त्यसको चर्चा परिचर्चा साथै आलोचना वा व्यंग हुनु स्वभाविक हो जस्तो लाग्छ । सकारात्मक रुपले हेर्ने हो भने नयाँ कुराको जन्म त्यतिबेला हुन्छ, जतिबेला पुराना कुरा, विषय, वा चिजले काम गर्न छोड्छ । हामीले हालसम्म विश्वमा भएका विभिन्न अविष्कारका कुरालाई लियौं भने यस्तै देखिन्छ जुन वैज्ञानिक अविष्कारसँग सम्बन्धित छ । यसलाई अझ भन्नुपर्दा जब कुनै पनि विद्यमान विषयप्रति असन्तुष्टि पैदा हुन्छ, अनि मानिसले नयाँ कुरा वा विषयको अविष्कार वा उत्पादनतिर लागेको देखिन्छ । राजनितिक नयाँ अविष्कार पनि जब जब विद्यमान राज्य शासन व्यवस्था वा त्यसका अवयवहरु वा राजनितिक दल वा त्यसका गतिविधिहरुले       पारेको नकारात्मक वा सकारात्मक प्रभावबाट नयाँ विषय उठान हुन्छ वा त्यसको नेतृत्व कसैले गर्छ र यसले सही कार्ययोजना, कार्यनिति तथा रणनीतिका साथ अगाडी बढ्दा जनताको अपार साथ र सहयोग प्राप्त हुन सक्छ तर फेरि पनि निहित व्यक्तिगत स्वार्थ भित्र रुमल्लेर रहने हो भने यस्ता नयाँ शक्ति कति आए, कति गए भन्ने जस्तो पनि हुन्छ । हाल नेपालमा शुरु भएको नयाँ शक्ति सबैका लागि पर्ख हेर जस्तै भएको छ । 
२. किन हुन्छ, नयाँ राजनितिक शक्तिको उदय ? 
जब एउटा राजनितिक पार्टीले लिएको लक्षित उद्देश्य वा जनता सामु गरेका प्रतिवद्धता सही र उपयुक्त तरिकाले पुरा गर्न सक्दैन साथै जनताले गरेअनुसारको आशा पुरा हुन सक्दैन त्यतिबेला समाजका निश्चित व्यक्तिहरुले जो सँग केही गरौं भन्ने हुन्छ, तिनिहरुको संयुक्त प्रयासमा नयाँ शक्तिको उदय हुन्छ । वा राजनितिक अभियानको दौरानमा अर्को     राजनितिक पार्टीको प्रतिस्पर्धामा पनि व्यक्तिगत वा निहित स्वार्थलाई पुरा गर्नका लागि पनि नयाँ    राजनितिक शक्तिको उदय हुन्छ । संसारमा विभिन्न कालखण्डमा विभिन्न खालका नयाँ नयाँ राजनितिक शक्तिहरुको उदय भएको ईतिहासहरु छन् । त्यस्ता शक्तिहरु त्यतिबेला मात्र उदय हुन्छन् जतिबेला विद्यमान शक्तिहरुको समाजमा प्रभाव विस्तारै कमी भईरहेको हुन्छ वा तिनीहरुको गतिविधिहरुले     नकारात्मक प्रभाव पारिरहेको हुन्छ । 
हामीले सामान्य रुपमा हेरयौं भने पनि भारतमा आम आद्मी पार्टी (आप) नामको  राजनितिक पार्टीको उदय भयो जसको पृष्ठभुमी भ्रष्ट्राचार निवारणसँग थियो । सामाजिक रुपमा भ्रष्ट्राचारलाई समुल नष्ट गर्ने अभियान स्वरुप शुरु गरिएको आन्दोलनको परिणाम अन्ततः राजनितिक पार्टीको रुप लियो र हाल दिल्लीमा यसको गहिरो प्रभाव परेको छ र यसले सामाजिक, साँस्कृतिक र आर्थिक आन्दोलका मुद्दाहरुलाई सशक्त रुपमा उठाउने प्रयास समेत गरेको छ भने यसको प्रभाव दक्षिण एशिया भरि सकारात्मक रुपमा परेको छ । यसको सिको स्वरुप विभिन्न मुलुकहरुमा पार्टीहरु गठन हुने वा परिचालन हुने कार्यहरु भईरहेका छन् । गरिब तथा सिमान्तकृत समुदायहरु जहिले पनि रुपान्तरण वा परिवर्तनको पक्षमा हुन्छन् । उनीहरुलाई विद्यमान कठोर जिन्दगी देखि असन्तुष्टि पैदा      भईरहेको हुन्छ र कुनै पनि आन्दोलनमा उनीहरु नै अग्र मोर्चामा लाग्ने र विद्यमान संरचनाको विरुद्धमा आफ्नो ज्यानको आहुति समेत दिने अभ्यास छ । यस्ता नयाँ शक्तिहरुमा पनि यिनै गरिब तथा विपन्न समुदायहरु नै अगाडी लाग्छन् वा आन्दोलनको नेतृत्व गर्छन् र जब परिणाम आउँछ त्यसको बाँडफाँड वा वितरण गर्ने फेरि पनि उनै टाठाबाठाहरुको हातमा पर्छ र हिजोका केही गरौं वा जनताको अपेक्षा भएको पार्टीले केही पनि नगरे पछि फेरि यस्ता नयाँ शक्ति वा पार्टीहरु बनाउनेलाई मलजल पुग्छ वा उदय हुन्छ भनौ । 
३. नेपालमा गठन भएको राजनितिक दल  नयाँशक्ति सम्बन्धी आम बुझाई 
नयाँ शक्ति उदयको पहिलो कुरा आर्थिक सामाजिक अर्थव्यवस्था वा संरचना र त्यसले पारेको असरबाट जनताको जीवनशैलीमा आएको परिवर्तन वा जीविकोपर्जनका सवालहरुले नै कुन शक्ति भन्दा पनि राजनितिक व्यवस्था फेर्ने कुरामा जनताको साथ जाँदो रहेछ भन्ने कुरा ईतिहासले देखाउँछ । जस्तो शाहवंशको यति लामो शासनकाल भित्र आएको राणाहरुको शासनलाई पनि जनताले पत्याए । राणा शासनको अन्त्य गर्न सबै लागे र वि.सं. २००७ मा एक प्रकारको सम्झौता भयो , त्यतिबेला नेपाली काँग्रेस वा कम्युनिष्ट पार्टीहरु अत्यन्तै नयाँ शक्ति जस्तै भए र जनताको साथ पनि पाए । यस्तै खालको अवस्थामा पञ्चायत पनि शुरु भयो, त्यसलाई पनि एक प्रकारले जनताले माने । झापा विद्रोह भयो, अनि नयाँ शक्ति जस्तै ने.क.पा. एमाले अनि प्रजातन्त्र आयो यस्तै यस्तै खालका आन्दोलहरु भित्र १० वर्षे जनयुद्ध भयो वा ०६२/०६३ को आन्दोलन जे जति भए पनि यी सबै तत्कालीन शासन व्यवस्थाको विरुद्धमा भएका नयाँ आन्दोलनहरु थिए र जुन संघर्षमा जनताको प्रत्यक्ष र   प्रभावकारी भुमिका रहेको थियो । 
हाल आएर नेपाली संचारमाध्यम र नेपाली राजनितिक परिदृश्यमा नयाँ शक्ति उदयको विभिन्न सकारात्मक र नकारात्मक विषवस्तुहरु उठिरहेको सन्दर्भमा यस पंंक्तिकारलाई पनि केही कुरा लेख्न वा उल्लेख गर्न मन लागेको अवस्था हो  । हालसम्म संचालन भएका विभिन्न राजनितिक आन्दोलहरुले ल्याएको परिवर्तन सार्थक भएन वा    राजनितिको एउटा मुद्धा सकियो वा नयाँ मुद्धालाई उठान गर्नका लागि नयाँ शक्ति शुरु गरिएको कुरा सुन्न पाईन्छ । एउटा कुरा के चाहिँ हो भने डा. बाबुराम भट्टराईले एमाओवादी पार्टी भित्र रहँदा नै नयाँ शक्तिको विषय उठाईरहेको पाईन्थ्यो र एमाओवादी लाई नै नयाँ बनाउने भन्ने पनि हल्लाहरु बाहिर आए । एकातिर उनी आफै पनि लामो समय कम्युनिष्ट आन्दोलन त्यसमा पनि जनयुद्धको नेतृत्वकर्ता जुन युद्धमा हजारौं हजार व्यक्तिहरु शहिद, वेपत्ता वा घाईते भएको जनसंघर्षको नेतृत्व गरेको व्यक्ति किन आफ्ना सबै योगदानलाई तिलाञ्जली दिए र नयाँ शक्तिको अभियानमा लागे भन्ने कुरा चासो को विषय चाहिँ हो । नेपाल मात्र होईन अहिलेको वर्तमान विश्वलाई नियाल्न सक्ने बौद्धिक तथा राजनितिक व्यक्ति किन यसरी टाढिए भन्ने कुरा त्यति चानचुने चाहि होईन तर यसको पछाडी सामान्य अन्य व्यक्तिहरुले लगाए जस्तो आरोप लगाउने पक्षमा म चाहिँ छैन । एउटा साँचो कुरा के हो भने हिजो जनयुद्ध संचालन गरिरहँदा जनतालाई बाँडेका सपना अनुसार नितिगत रुपमा केही  सुधारहरु भए पनि जनताको जीवनस्तमा भने खासै परिवर्तन आएको छैन । सबभन्दा मुख्य कुरा १ थान संविधान आयो त्यसको विरोधमा संचालित आन्दोलनहरु अहिले सम्म चलिरहेका छन् । टिकापुर देखि पूर्व सम्म चलेका आन्दोलनमा सयौंको ज्यान समेत गईसकेको छ , आर्थिक अवस्था कुन हालतमा छ यसलाई हेर्ने हो भने पनि कुनै त्यस्तो खालको नयाँ भिजन, नयाँ रणनीति वा नया कार्यनितिको जरुरी छ भन्ने आभास आउँछ । अहिले त यस्तो भयो कि गरिबहरु फेरि पनि गरिब र धनीहरु  रातारात धनी भईरहेको अवस्था छ । जनतामा  निराशा छ, लाखौं लाख यूवाहरु विदेशमा छन् । यस आ.व.लाई मात्र हेर्ने हो भने १००० जना यूवाहरुको विदेशमा मृत्यु भयो । त्यसकारण अहिलेको नेपालको परिदृश्यमा युवा रोजगार, आर्थिक विकास , सहभागी, समावेशी लोकतन्त्र सहितको कुरा जस्तो काम गर्ने राजनितिक पार्टी भएमा सायद जनताको केही आशा जाग्न सक्छ । 
तर सरसर्ती केलाउँदा नयाँ शक्तिमा आएका केही सुकिला, मुकिला, प्रशासक, वा अन्य भलाद्मीहरु मात्र आएर वा हिजोका माओवादीहरु मात्र आएर नयाँ शक्ति त बन्दैन । विश्व भुराजनितिक अवस्थामा अहिले त एउटा राम्रो वा नराम्रो दुवै   कुरा संसारमा एकछिनमा प्रसार हुन्छ, यस्तो अवस्थामा निश्चित राजनितिक स्वार्थ पुरा गर्ने र नयाँ वोतलमा पुरानै रक्सी भन्ने उखानलाई  चरितार्थ गर्ने हो भने नयाँ शक्ति त के कुनै पनि शक्ति चल्दैन । तर विद्यमान अवस्थामा विधिको शासन, जनतालाई उत्तरदायि र जवाफदेही बनाउने संयन्त्र, स्थानीय श्रोतको अधिकतम परिचालन, भ्रष्ट्राचारको समुल नष्ट, नातावाद, कृपावादबाट टाढा रहने र हाम्रो देशको माटोमा सुन फलाउन सकिन्छ भन्ने उत्प्रेरणा जस्ता बैज्ञानिक तथा वस्तुवादी रणनितिक योजनाहरु भएमा सायद सबैजनाको मन पर्न सक्छ । यतिबेला मैले नयाँ शक्तिको बारेमा यो भन्दा बढी लेखिन किन भने    गरेर देखावस भन्ने मेरो पहिलो कुरा हो । म व्यक्तिगत रुपमा चाहन्छु कुनै गरिब, एकल महिला, विपन्न व्यक्तिको गोजीमा दैनिक रु. २ आउने कार्यक्रमहरु हुन् , कुनै एकजना नानी खुला सडक रातिमा पनि निष्फिक्री हिड्न पाउने सुरक्षा होस् । गलत गर्नेलाई तु कारबाही होस् , गरिखाने बाटो मिलोस् र अन्ततः हामी ................... देशका नागरिक हौं भन्दा गर्वले छाति फुलोस् । यो मेरो कुनै नयाँ शक्तिलाई मात्र होईन हामी सबै नेपालीहरुको लागि हो । नयाँ शक्तिको बारेमा फेरि लेख्दै गरौंला । 
४. निष्कर्ष 
मैलै अध्ययन गरेको थियो व्यवहार परिवर्तनका लागि ६ एफ (6F)  चाहिन्छ ती हुन् बल (Force)  , डर (Fear)  तथ्य (Fact) अनुभुति (Feeling)  , भविष्य (Future) वा पृष्टपोषण (Feedback)  त्यसकारण पनि यदि संसारलाई रुपान्तरण गर्ने हो भने त शुरुवात आफैबाट गर्ने हो । त्यसकारण पनि हामी नयाँ शक्तिका कुरा गर्छौ यसका सकात्मक भन्दा पनि नकारात्मक कुराहरु धेरै बजारमा आएका छन् । मैले त एक मात्र कुरा गर्छु कि यसको कुरा काट्ने समय शूरु नै भएको छैन तर हामी सर्वसाधारण जनता चाहन्छौ कि यसले कुनै नयाँ व्यवस्था वा राजनितिक संस्कारको शुरुवात गरोस् र फेरि नयाँ नेपाल बनाउने सपना पुरा     गरोस् किन भने हामी सबैले नेपाल र नेपालीको भलो गर्ने हो । सल्लाह तथा सुझाव ः aloknepali123@gmail.com

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |