आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, January 27, 2016

कार्यकर्ताहरुको व्यवस्थापन, क्षमता बृद्धि र नगर विकासका लागि मेरो उम्मेदवारी

वि.स. २०२७ साल कात्तिकमा आमा पुष्पा केसी र बुवा इन्द्र वहादुर केसीको दोस्रो सन्तानका रुपमा हालको मुसिकोट नगरपालिकामा जन्मेका महेन्द्र केसी सानै उमेरदेखि सामाजिक कार्यमा रुची राख्थे । २०४२ सालमा स्थापना भएको साईकुमारी बहुउदेश्य क्लवको संस्थापक महासचिव बाट सामाजिक कार्य सुरु गरेका केसीले हाल आधा दर्जन बढी संस्थामा आबद्ध भैसकेका छन । स्नातक तह सम्मको अध्ययन गरेका केसी रुकुम जिल्लामा सामाजिक परिचालन, सुशासन प्रवर्धन, पुर्वाधार निर्माण, उर्जा तथा वातावरण, सामाजिक समावेशीकरण तथा लैङगीक   शसक्तिकरण लगायतका क्षेत्रमा जिल्लाका २२ गाविसमा कार्य गरिरहेको सिस्ने युवा क्लवको संस्थापक सदस्य तथा हालका अध्यक्ष समेत हुन । २०७१ सालमा त्रिभुवन जनता उच्च माविको आयोजनामा सम्पन्न भएको १०८ राष्ट्र शान्ती महायज्ञमा बिद्यालयको भौतिक सुधार तथा अध्ययन गर्ने गरिव, विपन्न तथा जेहेन्दार विद्यार्थीको हितको लागि १ लाख ५१ हजारको छात्रवृत्ति कोष समेत स्थापना गरिदिएका छन । 
त्यस्तै मुसिकोट खानेपानी तथा सरसफाई उपझोक्ता समितिका अध्यक्ष, सामुदायिक सेवा केन्द्रका अध्यक्ष तथा मुसिकोट खलंगा खानेपानी तथा सरसफाई उपझोक्ता संस्थाका समेत अध्यक्ष केसी मुसिकोट नगरपालिको खानेपानी तथा सरसफाइको दिगो विकासका लागि अग्रसर भई साना शहरी विकास परियोजना कार्यन्वयनमा योगदान गरिरहेका छन । नेपाल रेडक्रस सोसाईटि रुकुमको सभापति समेत भई सकेका केसी निर्माण ब्यावसायी समिति रुकुमको महासचिवका रुपमा सफलतापुर्वक जिम्मेवारी सम्पन्न गरिसकेका छन । वहुदलिय ब्यवस्थाको उदय संगै   राजनीतिमा पनि चासो राखेर प्रजातान्त्रिक विचारको अनुसरण गदै आएका उनी २०४६ साल पछि रुकुम जिल्लामा गठन भएको नेपाल विद्यार्थी संघको संस्थापक भएको समेत बताउछन । 
क्याम्पस ईकाइको विद्यार्थी राजनिति हुदै २०४९ सालमा नेपाली कांग्रेसको क्रियाशिल सदस्यता, २०६६ सालमा तरुण दलको सदस्य र २०७२ सालदेखि उपाध्यक्ष भएका उनी पछिल्लो समय नेपाली कांग्रेसको सक्रिय राजनीति तथा बिभिन्न गतिविधिमा आवद्ध रहदै आएका छन । सकारात्मक सोच, योजनावद्ध कार्य गर्ने सिप तथा इमान्दार मानिने उनी आम व्यवसायी तथा युवाहरुमा लोकप्रिय मध्यकै सूचीमा पर्छन । सामाजिक तथा राजनैतिक क्षेत्र सगै उनी जिल्लाकै सफल व्यवसायी पनि हुन । विगत तिन वर्ष देखि सदरमुकाम मुसिकोट खलंगामा रहेको आफ्नै घरमा सुविधा सम्पन्न एसियन होटल समेत सञ्चालन गरिरहेका छन । पछिल्लो समय उनी सामुदायिक सेवा केन्द्र तथा सिस्ने युवा कलवका जिम्मेवारी छाडेर आसन्न नेपाली कांग्रेसको महाधिवेशनमा मुसिकोट नगरपालिकाको नगर सभापतिका रुपमा उम्मेदवारी दिने निर्णय समेत गरेका छन । 
सदरमुकामको नेपाली काग्रेसको राजनीतिक गतिशिलता, कार्यकर्ताको सुरक्षा तथा संगठन सुदृढिकरणका लागि पनि आफ्नो नेतृत्व जरुरी देखिएको उनी बताउछन । मुसिकोट क्षेत्रको विकासका लागि विगत देखि गदै आएको योगदान तथा युवाहरु विचको लोकप्रियताले यस अधिवेशनमा थप मद्धत पुग्ने उनको विश्वास छ । मुसिकोट नगरपालिकामा निर्माणधिन विभिन्न परियोजनाहरुमा उनको सहभागिता रहँदै आएकाले नगर सभापतिका रुपमा जिम्मेवारी पाएपछि झनै नगर क्षेत्रको दिगो विकास डटेर लाग्ने योजना छ । धेरै जिम्मेवारीका विच अर्को नयाँ जिम्मेवारी थप हुन लागेकोमा उनी  पुराना जिम्मेवारीवाट विदा लिएर नयाँ जिम्मेवारी मात्र सम्हाल्ने योजनामा छन । 

आसन्न नेपाली काग्रेसको महाधिबेशनमा मुसिकोट नगरपालिकाको नगर सभापतिका रुपमा उम्मेदवार दिने चर्चा चलिरहेको सन्दर्भमा सामाजिक क्षेत्रमा भैरहेका गतिविधि तथा कांग्रेसको महाधिवेशनमा नगर सभापतिका रुपमा दिन लागेको उम्मेदवारीका विषयमा आहा सञ्चार साप्ताहिकले केसीसंग गरेको कुराकानी । 

आजभोली के मा ब्यस्त हुनुहुन्छ ?
अन्य कार्य त छदै छन । विशेष गरि नेपाली कांग्रेसको आसन्न महाधिबेशनको तयारीमा छौ । अहिले पार्टिको संगठन सुधार सगै युवा नेतृत्वको लागि स्थानीय तह देखि नै अभियान थालिएको छ ।
लामो समय सामाजिक क्षेत्रमा क्रियासिल तपाई अब राजनैतिक क्षेत्रमा अली बढी सक्रिय हुन थाल्नुभएको हो ?
सामाजिक जिम्मेवारीले गर्दा विगतमा पार्टिका जिम्मेवारीहरुमा मेरो सहभागिता अलि कम भएको भएपनि अव अरु सामाजिक जिम्मेवारी छाडेर राजनीतिक जिम्मेवारीका लागि हाम्रो पार्टि तथा युवाहरु बाट दवाव आएकाले यस पटकको पार्टिको अधिवेशनमा थप जिम्मेवारी पाउने कुरामा विश्वस्त छु ।
अबको सक्रिय राजनैतिक यात्रा कसरी शुरु हन्छ ?
नेपाली कांग्रेसका युवाहरुको अनुरोधमा मैले मुसिकोट नगरपालिकाको नगर सभापतिका रुपमा         जिम्मेवारी पाउँने छु । धेरै युवा तथा कांग्रेस कार्यकर्ताको अनुरोधमा मैले यस जिम्मेवारीका लागि उम्मेदवारी दिदै छु ।
नगर सभापतिको उम्मेदवारी दिने घोषणा त गर्नु भयो, कांग्रेसको नगर सभापतिका अरु पनि आकांक्षी होलान कसरी व्यवस्थापन गर्नु हुन्छ ? 
नेपाली काग्रेस एउटा ठुलो पार्टि भएकाले नगर सभापति लगायतका पदमा इच्छा राख्ने धेरै ब्यक्ति हुनु स्वभाविक हो । तर मैले मुसिकोट क्षेत्रको दिगो विकासका विभिन्न अभियानमा सक्रिय रुपमा लागिरहेको र धेरै युवाहरुको अनुरोधमा उम्मेदवारी दिदै छु । सकेसम्म निर्बिरोध नै जिम्मेवारी प्राप्त हुन्छ यदि त्यसो भएन भने पनि सबै वडाहरुमा पार्टिका कार्यकर्ता तथा युवाहरुको मेरो पक्षमा जनमत रहेकाले आसन्न कांग्रेसको नगर अबिधेशनवाट मैले नगर सभापतिको जिम्मेवारी पाउँछु ।
सामाजिक क्षेत्रमा लागेर राम्रो छबि बनाईसक्नु भएको मान्छे अनी फेरी राजनीति तिर किन नी ?
सामाजिक जिम्मेवारी र राजनीतिक जिम्मेवारी अलग कुरा हुन । तपाईले भने जस्तै मैले यस नगर क्षेत्रका विभिन्न सामाजिक संघ संस्थाका धेरै जिम्मेवारी पुरा गरिसकेकाले कांग्रेसको दिगो संगठनात्मक विकास गर्न र काग्रेसका गतिविधि नगर क्षेत्रमा अझ ब्यापक बनाउन र युवा सहभागिता बलियो पार्न यस क्षेत्रका कार्यकर्ताको आग्रहमा नै मैले सभापतिको जिम्मेवारी पाउनु पर्छ भन्ने हो । यो सगै मैले मुसिकोट      नगरपालिकाको दिगो विकास तथा पुर्वाधार निर्माणमा समेत क्रियाशिल छु । मैले मुसिकोट क्षेत्रको खानेपानी तथा सरसफाई, सडक, ढल निकास तथा अन्य विभिन्न कार्यका लागि १० बर्षे योजना बनाएको छु, यसको कार्यान्वयनमा थप सहभागिताका लागि पनि मेरो जिम्मेवारीको आवश्यकता भएको हो । 
सामाजिक संस्था चलाउनु र पार्टी चलाउनु त फरक कुरा होला, यदि भईहाल्नु भयो भने पनि नगर सभापतिको जिम्मेवारी कसरी सम्हाल्नु हुन्छ ? 
हो । विगत देखि नै म विभिन्न सामाजिक संघ संस्थामा आवद्ध छु । म जति सस्थाहरुमा आवद्ध छु तिनै संस्थाको दैनिक कार्यहरु सफलतापुर्वक सम्पन्न भैरहेका छन । म सिस्ने युवा क्लवमा अध्यक्ष, सामुदायिक सेवा केन्द्रको अध्यक्ष लगायत मुसिकोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्ष छु त सबै संस्थाहरु सफलतापुर्वक काम भैरहेका छन । तपाई कतै मेरो दायित्वका कारण कार्य असहज भएको सुन्नु भाछर । काम एउटा सिस्टममा हुने कुरा हो । नेतृत्व सधै सहयोगी र नीतिगत कुरामा सञ्चालित हुनु पर्छ । फेरी मैले यी जिम्मेवारी वाट बिदा लिने समय पनि आईसकेको छ । ६÷७ महिना पछि मैले अरु सबै जिम्मेवारी लोकतान्त्रिक प्रकृया अनुसार नयाँ टिम लाई हस्तान्तरण गर्छु । बाँकि मैले सम्हाल्ने   जिम्मेवारी भनेको नगर सभापति नै हो ।
तपाई र अरु कुनै ब्यक्ति नगर सभापति हुँदा के नै फरक पर्ला र ? जो भएपनि योगदान गरेका काग्रेस कार्यकर्ता न हुने हो नि ? 
पदका लागि मात्र हो भने अरु र म हुँदा फरक त नपर्नु पर्ने होला तर जिम्मेवारी पुरा गर्ने कुरा र कांग्रेस बलियो बनाउने कुरा फरक बिषय हो । जसरी मैले यस क्षेत्रको विकासका लागि विगत देखि गदै आएको सवल अभ्यासलाई निरन्तरता दिन म हुनु र अरु हुनु मा धेरै फरक छ । अर्को कुरा म संग कार्यकताको सुरक्षा, सहयोग तथा सवलिकरण, सुरक्षा तथा संगठन विस्तारको लागि जति योजनाहरु छन त्यो अरु संग पनि हुनु पर्छ । शैक्षिक योग्यता र सामाजिक बिषय पनि अहिलेको प्रमुख बिषय हो । 
उम्मेदवार हुँदा सबैले यस्तै गर्ने तर पछि खासै वास्ता नगर्ने प्रचलन त जहाँकहि नै छ नि ? 
त्यसो होइन । हामीहरुले गर्नु पर्ने धेरै काम बाँकि नै छन । ससाना जिम्मेवारी इमान्दारीताका साथ पुरा गर्दा नै आम नागरिकहरुको सेवा गर्ने अवसर प्राप्त हुन्छ । मैले बिगतमा जति जिम्मेवारी लिएको छु ति सबै जिम्मेवारी इमान्दारीताका साथ पुरा गदै आएको छु  । कार्यकर्ताको सुरक्षा, संगठनको सुधार लगायतका विषयमा मेरो नै काम गरेको अनुभव छ । म निर्वाचित भएको एक साता भित्र आम कार्यकर्ता तथा सुभचिन्तकहरुको भेलाको आयोजना गरि कार्ययोजनाका आधारमा मैले ति सबै कार्यको सुरुवात गर्ने सोचेको छु । 
नगर सभापति भैसकेपछि मुसिकोट नगरपालिको विकास सगै अन्य राजनैतिक दलसंग पनि  प्रतिष्प्रर्धा गर्नुपर्ने होला, त्यसमा सक्षम हुनुहुन्छ ? 
हो । मुसिकोट नगरपालिको धेरै विकास गर्नु पर्ने छ । मैले यस क्षेत्रका धेरै सामाजिक निकायमा काम      गरेको अनुभव छ । सायद यो अरु संग छैन । यसका विभिन्न निकाय संग सम्वन्ध भएकोले विभिन्न निकायको समन्वय सहकार्यमा विकासका लागि स्रोत ब्यबस्थापन गर्न सकिन्छ । अर्को कुरा यस              नगरपालिकामा सबै राजनैतिक दलहरुको उपस्थिति भएको क्षेत्र हो । हाम्रो पार्टिले अरु राजनैतिक दल संग प्रतिस्प्रर्धा गर्नु पर्ने हुन्छ । त्यसका लागि पनि प्रतिस्प्रर्धा गर्न सक्षम हुनु पर्छ यसका लागि पनि मेरो उम्मेदवारी आवश्यक छ ।   
अन्तमा ?
मेरो केहि कुराहरु आम नागरिक तथा कार्यकर्ताहरु माँझ राख्ने अवसर प्रदान गर्नु भएकोमा आहा सञ्चार साप्ताहिकलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु । साथै मुसिकोट नगरपालिका तथा यस क्षेत्रका कांग्रेस कार्यकर्ताहरुको सुरक्षा, क्षमता बृद्धि र विकासका लागि मैले योजनावद्ध काम गर्ने बाचा गदै यसका लागि आसन्न नेपाली कांग्रेसको नगर अबिधेशनमा आफ्नो अमुल्य मत मलाई दिएर अत्याधिक मतले निर्वाचित गर्नुुहुन सबैमा अनुरोध गर्दछु ।  जय नेपाल ।।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |