आहा सञ्चार
खलंगा
माओबादी नेता तथा सार्बजनिक लेखा समिति सभापति जनार्दन शर्माले रुकुममा गाउँगाउँमा सहकारी उत्पादनलाई जोड दिनुपर्ने बताएका छन । एकिकृत उत्पादनका दृष्टिले सहकारी मार्फत सञ्चालन गरिएको कृषि तथा तरकारी व्यवसाय राम्रो हुने भएका कारण त्यस तर्फ जिल्लाका कार्यक्रमहरु केन्द्रित गर्न समेत अनुरोध गरेका छन ।
शनिबार जिल्ला कृषि बिकास कार्यालय रुकुमले आयोजना गरेको आर्थिक बर्ष २०७२÷७३ मा जिल्लामा सञ्चालन हुने कार्यक्रम सार्बजनिकीकरण कार्यक्रममा आफ्नो धारणा राख्दै शर्माले सहकारी मार्फत हुने उत्पादनलाई प्रोत्साहन गर्न जोड दिए । ‘सबै प्रकारका तरकारी थोरैथोरै एउटै ब्यक्तिले मात्र गर्नु सामान्ती कृषि प्रणाली हो’ उनले भने, ‘सामुहिक रुपमा सहकारी मार्फत खेती गरे उत्पादन पनि राम्रो हुने र राज्यले दिने सेवा सुबिधा लिन पनि सजिलो हुन्छ ।’ जिल्ला कृषि विकास कार्यालय मार्फत बेलाबेला धेरै ब्यक्तिलाई सानोसानो तालिम दिनुभन्दा एक गाउँमा एउटा ब्यक्तिलाई राम्रो तालिम दिएर कृषि प्राबिधिक सम्म काम गर्ने जनशक्ति उत्पादन गर्नुपर्ने पनि उनले सुझाब दिए । त्यस्तै कार्यक्रममा बोल्दै रुकुमका स्थानीय विकास अधिकारी भरत कुमार शर्माले जिल्लामा कृषिको क्षेत्रमा धेरै बजेट तथा कार्यक्रम आएपनि सदुपयोग हुन नसकेको बताए ।
किसानका लागि बिउ बिजन कार्यक्रम मार्फत जिल्लामा करोडौं बजेट भएपनि जिल्लाका कृषि योजनाका लागि प्रस्ताबहरु नआउँदा जिल्लामा आएको बजेट फिर्ता हुन लागेकोमा स्थानीय विकास अधिकारी शर्माले दुख समेत ब्यक्त गरे । कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय रुकुमका बरिष्ठ कृषि बिकास अधिकृत सहदेब प्रसाद हुमागाईले कार्यालय मार्फत जिल्लामा सञ्चालन भैरहेका आयोजनाहरुबारे सरोकारवाला निकायहरुलाई जानकारी गराएका थिए ।
0 comments:
Post a Comment