नेपाली कांग्रेसको केन्द्र देखि गाउँ स्तर सम्म एकैसाथ अधिबेशनहरु हुदैछन । पार्टि भित्रको आन्तरिक बिबाद तथा राजनैतिक परिस्थितिका कारण समय समयमा तोकिएको अधिबेशनहरु स्थगित समेत भैसकेका छन । यसपटक पनि मिति तोकिएसगै केन्द्र देखि स्थानीय स्तरसम्म कसले नेतृत्व आफ्नो पोल्टामा पार्ने भन्ने रणनीतिका साथ देशभर चहलपहल संगै पार्टि भित्र आन्तरिक किचलो पनि शुरु भैसकेको छ । यस सम्बन्धमा समग्र रुकुमको अवस्था र पार्टि भित्र देखिएको बिबाद र आगामी नेतृत्वको बिषयमा नेपाली काग्रेस रुकुमका सभापति मानबहादुर नेपालीसंग आहा सञ्चार साप्ताहिकका लागि पत्रकार गणेश बिकले गरेको कुराकानी ।
# नेपाली कांग्रेसको १३ औं महाधिवेशन सुरु हुनै लाग्यो, तयारी के भैरहेको छ ?
नेपाली कांग्रेसको ऐतिहाँसिक १३ औं महाधिवेशन निर्धारित समयमा पार्टीले आफ्नो ध्यान नयाँ संविधानमा केन्द्रित गर्नु पर्ने अवस्था सृजना भएको कारण हुन नसकेता पनि अब हामी पार्टीको महाधिवेशन तर्फ केन्द्रित भएका छौं । भर्खरै सम्पन्न पार्टीको केन्द्रिय समितिको बैठकले नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा प्रयोगमा ल्याएको विधान अन्य पार्टीको तुलनामा पूर्ण समावेशी र लोकतान्त्रिक रहेको कुरा अनूभुती सबैलाई भएको छ । यस पटक नेपाली कांग्रेसको नेतृत्वमा नयाँ संविधान निर्माण भएको अवस्थामा संविधानको गतिलाई परिपुुर्ति गर्नका लागि विधान सोही वमोजिम संशोधन गर्ने काम देश भरी राय छलफल गरी विधान संशोधनको कार्य अगाडी बढिरहेको छ । केन्द्रका विभिन्न विभागहरु महाधिवेशन सम्पन्न गर्ने तयारी समितिहरु सक्रिय छन् । जिल्ला गाउँहरुमा पार्टी भित्र महाधिवेशनको तयारी सक्रिय रुपमा अगाडी बढेको छ । गाउँ अधिवेशन माघ २५ गते देश भरी एउटै मितिमा सम्पन्न हुदै छन् । केन्द्रिय महाधिवेशन फागुनमा निर्धारित मितिमा हुदैछ ।
# केन्द्रको जस्तै विवाद जिल्लामा पनि छ नी ? कसरी यी विवाद समाधान हुन्छ ?
एउटा जीवन्त पार्टी भित्र लोकतान्त्रिक संगठनमा वादविवाद मतहरु रहनुलाई स्वभाविक रुपमा लिनु पर्दछ । तर विवादहरुलाई विचार, संगठन, नीति र योजनामा समयको माग गति वमोजिम थप उर्जा दिने गरी बैचारिकरण हुन आवश्यक छ । अहिले राजनीतिक संगठनहरुमा नैतिक मूल्य त्याग, समर्पण र संघर्षमा कमी आउँदै गरेको महशुस भएको छ । सत्ता नेतृत्व प्रति विचारको जगवाट नभई विभिन्न गलत पद्दतीमा बलजफ्ती हत्याउने चरित्रहरु देखिदै आएका छन् । राजनीतिक समाज सेवा हो । पार्टी नेतृत्व त्यसैले पाउँछ, जसले मुल्य मान्यता र चरित्र कायमगर्न सक्छ भन्ने मान्यतालाई स्थापित गर्न सकेमा हामीले हाम्रो विचार वाट समाजको परिवर्तन अग्रमन सामाजिक रुपान्तरको आवश्यकतालाई हामी कहिलै पुरा गर्न सक्दैनौं । त्यसैले हामीले महाधिवेशन स्वभाविक रुपमा पार्टीको जीवनका त्यागतपस्या वलिदानी गरेका योग्य साथीहरुको आकांक्षालाई म विवाद भन्ने पक्षमा छैन् तर अभ्यासहरु भावनात्मक वैचारिक रुपमा आउन आवश्यक छ ।
# किन यसरी पार्टी भित्र विवाद भै रहन्छन ?
विवाद नै पार्टी जीवन हो । कुनै अधिनायवादी, निरंकुशशैलीको पार्टीले यसलाई अस्वीकार गर्ला । तर प्रश्न के हो भने नेपाली कांग्रेसका मुल विचार राष्ट्रियता, लोकतन्त्रमा र समाजवादमा वैचारिक अतिक्रमण गरिएको छ । सत्ताका लागि राष्ट्रियता विरुद्ध जाने, लोकतन्त्रलाई समाप्ती गर्न ढाल बन्ने पुजीवादमा रमाएर समाजवादलाई उच्चारण गर्न नचाहने प्रवृत्ती अहिलेको महाधिवेशनमा असफलता हुन्छ । अन्य केही साना टुक्रे कुरालाई आधार बनाएर आवेश उत्तेजनामा पार्टी पद्धती र अनुशासनलाई उलंघन गरेर मालिकलाई खुशी पार्ने प्रवृतीका व्यक्तिहरुको झुण्डले कतै विवाद गरेका होलान् । त्यस्ता विवादले पार्टीका खास अर्थ राख्दैन् । हामीले आफ्नो स्वमूल्यांकन गर्नु पर्ने समयमा हामी छौं ।
# तपाई पार्टी सभापतीको हैसियतले किन समस्या समाधानको प्रयास गर्नू भएको छैन् ?
सभापती लगाएत त्यही तहका सबै नेताको सामूहिक नेतृत्वमा पार्टी चलिरहेको हुन्छ । त्यसैले हामी सधै प्रगति उन्मुख शान्ति र विवाद रहित ढंगले पार्टी सञ्चालन गर्न जिम्मेवारी लागिपरेका छौं, सोचिरहेका छौं ।
# अबको अधिवेशनमा जिल्लाको नेतृत्व कसरी चयन हुन्छ ?
रुकुमको छटौं जिल्ला अधिवेशन सम्पन्न हुदै गर्दा राजनीतिक वातावरण शक्ति सन्तुलनमा व्यापक फेरवदल आएको छ । हिजो हिंसाको बलमा विचारलाई निषेध गर्न खोज्ने अतिवादीहरु र सत्ताको वलमा लोकतन्त्र मास्न चाहने सामन्ती तत्वहरु लोकतन्त्रको मार्गमा छन् । हामी लोकतन्त्रवादी हुनुको नाताले सबैलाई यसका मुलभुत मान्यतामा व्यवहारिक रुपमा ल्याउन सक्ने त्यो खालको क्षमता राख्नेहरुका विच लोकतान्त्रिक पद्धतीमा असल नेतृत्वको चयन हुन्छ ।
# नेतृत्वको आकांक्षी त धेरै देखिन्छन् नी ? कसरी कुरा मिल्छ ?
आंकाक्षा इच्छा प्रतिवद्धता देखाउनु त्यस्तो जनशक्ति तयार पार्टीले बनाउन सक्नु सकारात्मक कुरा हो । यसमा आफ्नो विधानका परिभाषित प्रतिनिधि भित्र प्रयाप्त छलफल र समयको आवश्यकता अनुरुप लामो समय पार्टीमा दुःख कष्ट गरेका साथीहरुको निर्णयवाट सौहादताका नेतृत्व छनौट गर्नु हामी सबैको कर्तव्य हुन्छ ।
# तपाई पनि फेरी नेतृत्वको दावी गर्ने विचारमा हुनुहुन्छ की ?
नेपाली कांग्रेसमा लामो अनुभव प्राप्त अघिल्लो पुस्ता हामी संगै छ । हामी एउटै समयमा पार्टीमा काम गरेका साथीहरु छौं । एउटा हामी पछिको युवाहरुको पुस्ता पनि छ । हिजो पाचौं जिल्ला अधिवेशनमा माथी उल्लेखित तिनै पुस्ताको समर्थनमा म पार्टी सभापती भए उहाँहरु सबैको सहायतामा काम गरे । त्यसैले यो कुनै लहरको भरमा आवेश उत्तेजना महत्वाकांक्षले प्राप्त हुने जिम्मेवारी होइन । यो कस्ले के इच्छा राख्ने भन्दा साथीहरुको निर्णय के हुने भन्ने कुरा महत्वपूर्ण हुन्छ । म यो पार्टीमा विद्यार्थीको इकाई देखि भातृसंस्था हुदै पार्टीको सबै ठाउँमा नेतृत्वमा बसेको छु । मलाई जहाँ बसेर काम गर्ने साथीहरुले भन्नुहुन्छ त्यही तयार छु ।
# तपाइलाई किन र कसरी नेतृत्वको लागि विश्वास गर्ने ?
हामी राजनीति गर्नेहरुले के ख्याल गर्नु पर्छ भने, हाम्रो निष्ठा, कार्यक्रम, योजना नीति विचारहरु कार्यन्वयन गर्दा कति सृजनात्मक, रचनात्मक, जनमूखी र कार्यकर्तामुखी हुन सकियो भन्ने कुरा हो । अर्काे कुरा जिल्लाको राजनैतिक विशिष्टतालाई कति सुझबुझका साथ विश्लेषण गरियो त्यो बमोजिम पार्टी पंतिलाई हाक्न सकियो यस्तो योग्यता सबैले तयार गर्नु पर्छ । पद मात्र नेतृत्व नभई कस्तो विचारले पार्टी चलेको छ वा चल्न सक्छ त्यो महत्वपूर्ण कुरा हो ।
# अबको विकल्पमा नेपाली कांग्रेस रुकुमको नेतृत्व गर्ने पालो कस्को ?
नेतृत्व भन्ने कुरा कुनै कथामा प्रसाद बाढ्ने कुरा जस्तो होइन । वि.पी. कोइरालाले उमेर युवा वा बुढो भन्ने भन्दा उसको विचार नयाँ छ वा पुरानो त्यसैले निर्धारण गर्छ भन्नु भएको छ । त्यसैले कस्को पालो मुख्य भन्दा पार्टीको आवश्यकता पुर्ति कसरी हुन्छ भन्ने मुख्य कुरा हो ।
# नेतृत्वको आकांक्षी धेरै देखिएपनि कार्यकर्ताहरुको प्रेमप्रकाश ओली र कृष्णवहादुर रोकायतिर मात्रै बढि ध्यान केन्द्रित छ नी ?
उहाँहरु पनि पार्टीमा दुःख कष्ठ गरेको हाम्रो पुस्ताका असल साथीहरु नै हो । तर कार्यकर्तालाई वि.पी.ले भन्नु भएको छ नेपालका तरुणहरुलाई पथ भ्रष्ट पार्ने व्यक्तिवादी प्रवृती नै हो । यहाँ कुनै पनि कार्यकर्ता व्यक्तिका नीजि सम्पत्ती कहिल्यै हुन सक्दैनन् । त्यसैले निर्णय गर्दा हामीले धेरै असल साथी विचवाट सबै भन्दा असल साथी छान्नु पर्छ ।
# यी दुई व्यक्ति मध्ये कसको विचार र नीति तपाई अनी आम कार्यकर्ताको फलदायी हुनसक्छ ?
त्यो अत्यन्तै व्यक्ति केन्द्रित प्रश्न हो । सबै नेतृत्व गर्न सक्षम साथीहरुले सबै कार्यकर्ताले गर्ने निर्णय र विश्वासलाई अन्तिम मान्नु पर्छ ।
# रुकुममा पनि दुई लाइन देखिन्छ, यसैले त विवादलाई बढि लम्ब्याएको होला नी ?
लोकतन्त्रको अवगुणमा एक गुटबन्दी पनि हो । यसलाई वैचारिक कोणवाट हेर्नु पर्छ । मैले अगाडी भने नेपाली कांग्रेसको मुलसिद्धान्त र आदर्शतामा विचलित भएका हुन सक्ने शंकाको घेरामा रहेका लाइनको वैचारिक संघर्षवाट असफल भई वाहिरिदै आएका छन् । यस पटक पनि त्यही हुन्छ ।
# अब तपाइको कार्यकालको कुरा, तपाइको कार्यकाललाई कसरी लिनु भएको छ ?
रुकुम जिल्ला नेपाली कांग्रेसको आधार भएको शान्तिकामी लोकतन्वादीहरुको वाहुल्य भएको जिल्ला हो । विगतको माओवादी हिंसा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुलाई लक्षित थियो । त्यसैका कारण सयौं नेताहरुलाई हामीले माओवादी हिंसाका कारण गुमाएका छौं । सयौं साथीहरु घाइते अपाङ्ग हजारौंको संख्यामा विस्थापित सम्पत्ती क्षति समेत हाम्रा कार्यकताले व्यहोर्ने परिस्थिति वन्यो । त्यसैको जगमा माओवादी शान्ति प्रक्रियामा आउँदा पनि पैसा, गुण्डाको वलमा पद कब्जा गर्ने माओवादीको गैर लोकतान्त्रिक चरित्रको कारण ०६४ र ७० को संविधान सभाका निर्वाचनमा गरिएका धादली अराजकता हामी सबै रुकुमेली साक्षी छौं । त्यसै कारण हामीले भने जस्तो निर्वाचनमा परिणाम ल्याउन दिइएको छैन् । तर हामीले माओवादीका अलोकतान्त्रिक व्यवहारलाई पार्टीको शक्ति लगाएर प्रतिवाद गर्ने सर्वसाधारण जनताको रक्षाका मुख्य ध्यान दिएका छौं । यसको संगसंगै म दावा साथ के भन्छु भने नेपाली कांग्रेसको रुकुममा पार्टी स्थापना देखी हाल सम्म सबै भन्दा नविनतम सांगठनिक अभ्यास हामीले शुरुवात गरेका छौं । कम्तीमा हाम्रा विरोधीका सामुमा हाम्रो पार्टी भातृसंस्था शुभेच्छुक संस्था कस्तो हुनु पर्छ भन्ने हाम्रा समर्थक शुभचिन्तकहरुको आकाक्षलाई अधिकतम रुपमा सम्बोधन गरेका छौं ।
# तपाइले भनेजस्तो त्यति राम्रो भूमिका निर्वाह गर्नु भएन भन्ने आरोप छ नी पार्टी भित्र ?
पार्टीका उमेर समूह जे भए पनि पुरानो रुढीग्रस्थ विचार र नयाँ अग्रगामी विचारका विचमा सधै सबै पार्टीमा संघर्ष छ । यसैको पृष्ठभूमीमा हामीले अगाडी सारेका वैचारिक सांगठनिक राजनैतिक अभियानहरुलाई स्वीकार गर्न नसक्नेहरुवाट लगाएको कपोकल्पीत मिथ्या आरोप मात्र हुन ।
# रुकुम टुक्राएको बिरोधमा दिएको राजीनामाले काम त गरेननै उल्टै पार्टी भित्रै बाट तपाई विवादमा तानिनुभएको त हो नी ?
रुकुम जिल्ला भौगोलिक प्राकृतीक साँस्कृतिक रुपमा सुन्दर र धनि जिल्ला हो । यो हाम्रो जन्मभूमी हो । संघीयतामा जाँदै गर्दा कुनै किसिमको वैज्ञानिक आधार विना जनसंख्या, भुगोल, आर्थिक सार्माथ्य, प्राकृतिक स्रोत, विकासका पूर्वाधार जस्तै मापदण्डमा नटेकेर खाली रुकुम जिल्ला ६ नं. प्रदेशमा स्वघोषित सम्राट हुने जर्नादन शर्मा लगाएत कांग्रेस एमालेका नेताहरु गलत अभिप्रायका कारण रुकुम जिल्ला विभाजन गरिएका कुरा इतिहासमा कतै छिप्ने छैन् । माथीका रिमोट कन्ट्रोलवाट चल्ने केही कांग्रेसका जिल्ला नेताहरु लागेको भन्ने खबर छ । तर हाम्रो पार्टी पूर्व वर्तमान जनप्रतिनिधि सहित एमाले माओवादी नेताहरुको सामुहिक प्रयत्नमा अन्तिम सम्म रुकुमेली जनताले जिल्ला एक वनाउन आन्दोलनलाई सार्थक बनाउन अन्तिम प्रयास गरेका थियौं । तर सत्ता शक्तिको अगाडी रुकुमेली जनताको आन्दोलन पराजय भएको छ तर देशका कुनै जिल्ला विभाजन नहुने चोर अभियानले नक्सा काटे जस्तो गरी जिल्ला विभाजन गर्न मतियार हुनेहरुलाई जनताले कारवाही गर्नु पर्छ । मलाई विश्वास छ जिल्ला एकताको रुकुमेलीको सपना ढिलो भए पनि पुरा हुने छ ।
# अन्तमा केहि भन्नु छ ?
रुकुमको अग्रणी र प्रभाबशाली छापा सञ्चारको रुपमा आफ्नो स्थान स्थापित गरिसकेको आहा सञ्चार साप्ताहिक मार्फत मेरा विचार राख्ने मौका दिएकोमा हार्दिक आभार व्यक्त गर्दछु , धन्यवाद ।
0 comments:
Post a Comment