आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Sunday, July 12, 2015

खाराका द्वन्द्वपीडितलाई शान्ति चिनो


आहा सञ्चार संबाददाता
रुकुम 
‘सरकारी राहत भन्दा शान्तिको चिनो प्यारो लाग्यो’ शनिबार रुकुमको खारामा आयोजित विगत सशस्त्र द्वन्द्वको क्रममा मृत्युवरण गरेका सहिदका परिवारहरुको लागी गरिएको सम्मान तथा शान्ति चिनो प्रदान कार्यक्रममा सम्मानित भएपछि खारा ५ कि राति ओलीले भनिन्, ‘मेरो श्रीमान् र छोरासँग माया यहि चिनो हेरेर साट्छु ।’ सम्मानित हुँदा आँखा भरि आँशु पारेकि उनले थपिन्, ‘मेरो लोग्ने र एक छोरा गुमाए देखि आज सम्म पनि जिउँमा घाम लागेको छैन, यो शान्ति चिनो, ओढाएको खादा, लगाएको फूलमाला र अबिरले आज देखि आँशु झर्न दिन्न ।’ 
द्वन्द्वमा आफ्नो जीवन संगिनी गुमाएका खारा ७ का चन्द्रबहादुर खड्काले प्रतिक्रिया मन्तव्यमा सरकारले दिएको नगद ५ लाख भन्दा पनि कार्यक्रममा सम्मान र चिनो पाउँदा गर्व लागेको बताए । उनले थपे, ‘धन पैसा, आज छ भोलि छैन, तर यो चिनोले पुस्तौ सम्म हाम्रो आत्मसम्मान उचो बनाउने छ, राष्ट्रका लागी हाम्रा सन्तानले बगाएको रगत अमुल्य बन्नेछ ।’ 
सरकारले नमूना बस्तिको रुपमा विकास गर्ने लक्ष्य सहित घोषणा गरेको खारा नमूना गाँउमा स्थानीय शान्ति समिति रुकुमले आयोजना गरेको ‘विगत सशस्त्र द्वन्द्वको क्रममा मृत्युवरण गरेका सहिदका परिवारहरुको लागी गरिएको सम्मान तथा शान्ति चिनो प्रदान कार्यक्रम’मा बोल्दै प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले द्वन्द्व पीडितहरुको समस्या समाधानका लागी राज्य लागीपरेको बताए । पीडितहरुको आँखा रसाएको देखि भावुक बनेका प्रजिअ सिलवालले ३४ बर्षे जागिरे जीवनको क्रममा एउटा पृथक कार्यक्रममा सहभागी हुन पाएको जनाए । 
द्वन्द्वको बेला खारा जलेको थियो, राज्य र तत्कालिन बिद्रोहिको दोहोरो भिडन्तमा परेको थियो, बस्ति जलाईएको थियो, सर्वसाधारणलाई लाईन लगाएर गोलि हानिएको थियो । कहालीलाग्दो इतिहास बोकेको खारा सम्झदै स्थानीय विकास अधिकारी भरत कुमार शर्माले कार्यक्रममा भावुकता प्रकट गरे, ‘जतिबेला खारा पुत्ताइरहेको थियो, हाम्रो मन पनि जलिरहेको थियो, मुटु पोलिरहेको थियो, आँसु झरिरहेको थियो । त्यो शोकलाइ अब शक्तिमा बदल्नु पर्छ, खारा नमुना बनाउनु पर्छ ।’
कार्यक्रममा स्थानीय शान्ति समिति रुकुमका संयोजक खड्कबहादुर डाँगीले हिजोको बैमनष्यता त्यागेर दिगो शान्ति र समृद्धिका लागी सबैजना एकजुट हुनुपर्ने बताए । उनले आग्रह गर्दै भने, ‘टुहुरा वालकको भविष्य बनाउन, एकल÷बिधवा दिदिबहिनीको साथ जुटाउन, काख रित्तिएका आमाबुवाको सहारा बन्न, लुटिएका र क्षतिग्रष्ट संरचनाको पुनर्निमाण गर्न तेरो र मेरो, राज्य र बिद्रोहि भन्ने सोच त्यागेर एक ढिक्का हुन जरुरी छ ।’
कार्यक्रमको प्रशंसा गर्दै नेपाली काँग्रेसका बिरबहादुर ओली, नेकपा एमालेका देवी ओली र एनेकपा माओबादीका देवीलाल गौतमले राज्यले पीडितहरुको घाउ यसरी नै टाल्दै जानुपर्नेमा जोड दिए । सशस्त्र द्वन्द्व पछिको उपलब्धि खेर गएमा द्वन्द्व पीडितहरुको आत्म ठेस लाग्ने भएकोले राज्य यस बारेमा गंभिर बन्न उनीहरुले ध्यानाकर्षण समेत गराए । 
खारामा मात्रै २९ जनाले द्वन्द्वका क्रममा मृत्युवरण गरेको तथ्यांक हामीसँग छ, स्थानीय शान्ति समिति रुकुमका सचिव राजु लामिछानेले कार्यक्रमकारे प्रष्ट्याउदै भने, राहतले मात्रै पीडितहरुले आफ्नो कहाली लाग्दो विगत भूल्न नसक्ने अवस्था छ, समाजमा सम्मानित वातावरण सिर्जना गर्न, सामाजिक कार्यमा थप अग्रसर बनाउन र पीडामा मल्हम लगाउन, पीडासमन गर्न राहतसँगै परिपूणको कार्यक्रमको पनि आवश्यकता छ ।’ 
द्वन्द्व पीडितहरुलाई राहत प्रदानमा समन्वयकारी भूमिका खेल्दै आएको स्थानीय शान्ति समिति रुकुमले उनीहरुलाई परिपूरणको आवश्यकता बोध गरी उक्त कार्यक्रम आयोजना गरेको बताएको छ । खाराबाट सुरु गरिएको उक्त कार्यक्रम आगामी बर्ष अन्य गाविसहरुमा पनि गर्दै लिने र पीडितहरुको आत्मसम्मान उच्च राख्न अन्य रचनात्मक क्रियाकलाप समेत गर्ने शान्ति समितिले उल्लेख गरेको छ । 
द्वन्द्वकालमा रुकुमको खारामा तत्कालिन राज्य र बिद्रोहि बिचमा दुई पटक भिडन्त भएको थियो भने, १५ जनाको सामुहिक हत्या गरी खारा बस्तिमा आगो लगाईएर सखाप पारिएको थियो । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |