आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, September 16, 2014

पल्टन स¥यो, सम्बन्ध सकियो

सेनाको जवानसँग गाँसेको प्रेम र गरेको विवाह पल्टन सर्नेबित्तिकै टुङ्गिन्छ । यसको सबैभन्दा नराम्रो सिकार भएका छन् महिला ।                                                                                               हिमाल लम्साल
                                                                                                           
पोखरामा बसोबास गर्ने उर्मिला (नाम परिवर्तन) को पश्चिम पृतना विजयपुर ब्यारेकमा कार्यरत सिपाही डिलबहादुर विकसँग मन बस्यो । विवाह गरिन् । दुई वर्ष पहिले विवाह गरेको यो जोडी कोठा लिएर पोखरामा बसे । तर, ०६९ माघमा विजयपुर ब्यारेकबाट सरुवा भएर दीपायल गएका विकले त्यसपछि श्रीमती सम्झनै छाडे । ०७० जेठसम्म निरन्तर उर्मिलालाई फोन गर्ने विकले त्यसपछि उर्मिलाको फोन पनि उठाउन छाडे ।
पल्टन सरे पनि पैसा पठाइदिने र बेला–बेलामा भेट्न आउने वाचा गरेर गएका डिलबहादुर त्यसपछि सम्पर्कमा छैनन् । उर्मिला गर्भवती भइन्, बच्चा जन्माइन्, तर पनि विकले वास्ता गरेनन् । आफूले काम गर्न नसकेको अवस्थामा सहारा नपाएको, गर्भवती हुँदा र बच्चा जन्माउ“दासमेत वास्ता नगरेपछि उर्मिलालाई तनाव भयो । उनले भनिन्, ‘घरबेटीले अवैध गर्भ बोकेको लाञ्छना लगाएर घरबाटै निकाले । केही दिन त सडकमा भौँतारिएर हिँडँे । चिनजानको साथीले शरण दिए ।’
आफू असजिलोमा परेपछि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय कास्कीमा उजुरी गर्न गइन् । त्यहाँ उजुरी लिइएन । विजयपुर ब्यारेकमा निवेदन लिएर जाँदा डिलबहादुर दीपायल भएकाले उतै उजुरी गर्नु भन्ने जवाफ दिइयो । ०७० साउन २१ गतेदेखि उनी महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने एक संस्थाको शरणमा बसिन् । उर्मिलासँग अहिले एउटी छोरी छिन् ।
‘नानी यत्री भइसकी, केही गर्देको छैन,’ उर्मिलाले भनिन्, ‘कता जाने हो के गर्ने हो मलाई केही थाहा छैन । यस्तो अवस्थामा पु¥याएर छोड्नेलाई एकपल्ट भेट्ने रहर छ ।’ उनले भनिन्, ‘म न्याय चाहन्छु ।’ लामो समय श्रीमान्को खोजीमा भौँतारिएर कतैबाट सहयोग नपाएपछि उर्मिला अहिले बाबुको साथमा माइतीघर दाङ पुगेकी छिन् ।
कोपिला नेपालकी संयोजक बिना सिलवालले उर्मिलालाई उनकै बाबुको साथमा घर पठाएको बताइन् । ‘लामो समय उनको श्रीमान्को खोजीमा जुट्यौँ, तर भेट्न सकेनौँ,’ संयोजक सिलवालले भनिन्, ‘दाङबाट उनका बाबु लिन आएपछि माइती पठाएका हौँ ।’
पोखराकी २६ वर्षीय माया (नाम परिवर्तन) को तीन वर्षअघि पश्चिम पृतना विजयपुर ब्यारेकमा कार्यरत एक सिपाहीसँग प्रेम सम्बन्धपछि विवाह भयो । उनीहरूको सम्बन्धलाई श्रीमान्को परिवारले स्वीकार गरेन । केही समय सँगै बसोबास गर्दै आए पनि उनको श्रीमान् पल्टन सरुवा भएपछि मायालाई छाडेर गए ।
सरुवा भएर श्रीमान् कहाँ गए भन्नेसमेत खबर नपाएकी माया आफ्नो समस्याबारे खुलेर मिडियासामु आउन चाहन्नन् । ‘आर्मीकै हिंसाको सिकार भएकी छु । त्यो सार्वजनिक गर्न सक्दिनँ,’ उनले भनिन्, ‘बाहिर ल्याएर न्याय पाइने होइन, सार्वजनिक बेइज्जतीबाहेक केही हँुदैन ।’ आफ्नो लडाइँ आफँै लड्ने उनको सोच छ । उनले थपिन्, ‘भोग्नु पीडा मैले भोगेँ, अब समाजलाई भन्न चाहन्नँ ।’ मायाले उनका श्रीमान्विरुद्ध कास्की जिल्ला अदालतमा अंश मुद्दा दिएकी छिन् । अहिले मुद्दा विचाराधीन छ ।
‘सेनासम्बन्धी उजुरी प्रायः प्रहरीले लिँदैन,’ पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रवक्ता भोजराज ओझाले भने, ‘सेनाको जबर्जस्ती करणी र ज्यान मुद्दा भए पनि अनुसन्धान गरेर सेनालाई नै कारबाहीको सिफारिस गर्छौं ।’ सैनिक ऐनअन्तर्गत सेनाको परिचालन र व्यवस्थापन हुने हुँदा त्यसमा प्रहरीको केवल समन्वयकारी भूमिका मात्रै हुन्छ । ‘सुरक्षा निकायकै सिपाहीबाट गर्भवती बनाएर छोड्ने, बहुविवाह तथा विवाह गर्ने आश्वासन दिएर महिलालाई शारीरिक तथा मानसिक रूपमा उपयोग गर्नेहरू बग्रेल्ती भेट्टिन्छन्,’ महिला अधिकारकर्मी तथा अधिवक्ता सरला पाण्डेले भनिन्, ‘कडा सुरक्षाको घेरामा रहनेबाटै महिला हिंसामा पर्नु दुःखद् हो ।’
अधिवक्ता पाण्डेका अनुसार सुरक्षा निकायमध्ये नेपाली सेनाबाट महिला हिंसाको सिकार भइरहेका छन् । सेनाबाट सोझा, सीधा महिला तथा किशोरी धेरै हिंसामा पर्छन् । तर, उनीहरूलाई कानुनी उपचारबारे थाहा नहुँदा बाहिर खुलेर आउन सक्दैनन् । सुरक्षा निकायसँग जोडिएका हिंसाका उजुरी सहजै लिन नमान्दा पनि त्यस्तो समस्या आइपरेको अधिवक्ता पाण्डेको भनाइ छ ।
सैनिक जनसम्पर्क निर्देशनालयका निर्देशक एवम् प्रवक्ता जगदीशचन्द्र पोखरेलले निवेदन दिएपछि छानबिन प्रक्रिया अघि बढाएर कारबाही गरिने बताए । पोखरेलले भने, ‘गण अथवा पृतनापतिलाई नै भेटेर निवेदन दिनुहोस्, अवश्य नै लिनुहुनेछ ।’ निवेदन लिएपछि हेडक्वार्टरमार्फत देशको जुनसुकै ठाउँमा कार्यरत भए पनि झिकाएर सम्भव भएसम्म मेलमिलाप गराउने, नभए पीडितले अदालती न्याय चाहे अदालतबाटै न्याय पाउने पोखरेलको भनाइ छ । सैनिक प्रवक्ता पोखरेलले भने, ‘सैनिक मुख्यालयसम्म आधिकारिक उजुरी आए विभागबाटै न्याय दिलाइनेछ ।’ सेनामा रहेको सिपाहीले बहुविवाह गरेको रहेछ भने जागिरबाट आएको कमाइलाई दुई वा तीन भागमा बाँडेर पनि समस्या समाधान गर्न सकिने प्रवक्ता पोखरेलले जानकारी दिए ।
पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराको महिला सेलमा कार्यरत प्रहरी हवल्दार सुमित्रा जीसीले नेपाली सेनाबाट पीडित महिला उजुरी गर्न नआएको बताइन् । ‘सेनाबाट पीडितको उजुरी आएको छैन, तर प्रहरीबाट पीडितको उजुरी आउने गर्छ,’ प्रहरी हवल्दार जीसीले भनिन्, ‘बहुविवाह ग¥यो, खानलाउन दिएन भनेर प्रहरीकै श्रीमतीहरू उजुरी गर्छन् ।’ आर्थिक वर्ष ०६९÷७० मा पश्चिम क्षेत्रीय प्रहरी कार्यालयमा बहुविवाह तथा खानलाउन दिएन भनेर ६ वटा उजुरी परेको कार्यालयले जनाएको छ ।   (सञ्चारिका फिचर सेवा) (हिमाल, कास्की आवाज दैनिक कास्कीका संवाददाता हुन्)

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |