आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Friday, May 16, 2014

यार्सागुम्बाको लाभमा स्थानीय सरोकार

विकास ज्ञवाली

यार्सागुम्वालाई विश्वकै सवैभन्दा महगों आयुर्वेदिक वनस्पतिको मध्य एकको रुपमा लिइन्छ जुन नेपालको अमुल्य वनस्पतिक सम्पदा मध्ये एक हो । जाडो याममा यो जिवको रुपमा देखा पर्दछ भने विस्तारै वनस्पतिमा रुपान्तरित हुदै जान्छ । प्राचिन चिनिया आयुर्वेदशास्त्रमा यसलाई शरीरको प्राणलाई सुचारु गर्ने, प्रतिरोधात्मक क्षमतालाई बृद्धि गर्ने र यौन क्षमता बृद्धि गर्ने वनस्पतिको रुपमा उल्लेख गरेको पाइन्छ । त्यसको कारणले एशियाका विभिन्न क्षेत्रमा यार्सागुम्वाको माग बढ्दै गएको छ ।
नेपालका उच्च पहाडी तथा हिमाली क्षेत्रका चरनभुमिहरुमा यार्सागुम्वा पाइने गर्दछ । यो बार्षिक औसत ३५० मि.मि देखि ४०० मि.मि सम्म बर्षा हुने ३६०० मिटर उचाईदेखि ४४०० मिटर उचाइको क्षेत्रफलमा पाईने गर्दछ । रुकुम जिल्लाको उत्तरी भाग र डोल्पा जिल्ला नेपालमा सवैभन्दा बढी यार्सागुम्वा पाइने क्षेत्र हो । यार्सागुम्बालाई स्थनीय स्तरमा ‘‘जीवनबुटि’’नामले चिनिने भएकाले पनि स्थनीय जीवनमा यसको महत्वलाई प्रष्ट पार्ने गर्दछ ।  यस वनस्पतिको विश्व वजारमा बढ्दै गएको मागसंगै यो उपलब्ध हुने क्षेत्रमा आर्थिक अवसरहरु सृजना हुदै गएका छन् । यार्सागुम्बा जस्ता वनस्पति तथा गैरकाष्ट वन पैदवारले स्थनीय जनजीवनको अर्थिक क्षेत्रमा मात्र नभई सामाजिक र सांस्कृतिक पक्षमा पनि प्रभाव पार्दै आएका छन् ।   
नेपालको सन्दर्भमा विकट पहाडी इलाकामा अन्य सम्भावनाहरु न्यून भएका समुदायको जीवनस्तर उकास्न यस्ता जडिबुडि तथा गैरकाष्ठ वन पैदवारले महत्वपुर्ण भुमिका खेलेको देखिन्छ । आय आर्जनका अन्य विकल्प नहुदाँ पनि यस्ता जडिबुडि र गैर काष्ट वन पैदावारको माध्यमबाट विकट वस्तिका समुदायलाई गरिवीको रेखाबाट माथि उकास्न विभिन्न प्रयासहरु भईरहेका छन् । तर, नेपालको सन्दर्भमा सरकारी तथा गैरसरकारी संघ सस्थाबाट भएका ती प्रयासहरु प्रभावकारी हुन सकिरहेका छनन् ।
यस्ता वनस्पतिको व्यापारमा स्थनीय जनताको पहुँच सुनिस्चित गर्न नसकिएको हुँदा लाभको केन्द्रमा स्थनीय जनतालाई स्थापित गर्न सकिएको छैन । यस्ता उत्पादनसँग प्रत्यक्ष रुपमा सम्वन्धित स्थनीय समुदायले व्यापारीको रुपमा नभइ श्रमिकको रुपमा काम मात्र काम गरेको समेत देख्न सकिन्छ । व्यापारमा स्थनीय भन्दा पनि बाह्य व्यापारीहरुको बढ्दो प्रभावले त्यसको उच्च प्रतिफल हासिल गर्न स्थनीय समुदाय सफल भएको देखिदैन । यसको व्यापारमा बाह्य पक्ष हावि हुने प्रबृत्तिसँगै यसको संरक्षणमा पनि नकारात्मक प्रभावहरु दैखिदै गएका छन् । उदाहरणको रुपमा, यार्सागुम्बा परिपक्क नहुदै टिप्दा त्यसको पुनर्उत्पादनमा नकारात्मक असर पदर्छ तर, व्यापारी विचको अस्वस्थ प्रतिस्पर्धा र कलिलो यार्साको मूल्य अधिक हुने भएको कारणले परिपक्क नहुदै यार्सागुम्बा टिप्ने प्रचलन रहेको देख्न सकिन्छ ।
यस्ता समस्याहरुलाई व्यबस्थित गर्न स्थनीय जनसमुदायलाई नै यार्सागुम्बा संकलन, विक्री वितरण र संरक्षणका कार्यहरुको केन्द्र बिन्दुमा राख्नु पर्ने आवश्यकता देखापरेको छ । यस्ता उत्पादनसँग सम्बन्धित अधिकार तथा कर्तव्यको बारेमा स्थनीय जनतालाई सचेत पार्न सकिएमा यसको दीर्घकालीन उपयोग र संरक्षण गर्न सकिने छ । स्थनीयस्तरबाट नै यस्ता समस्याहरुको समाधानको लागि उपयुक्त हुने मिति तथा कार्यक्रमको तर्जुमा गर्नुपर्ने देखिन्छ । त्यसको लागि स्थनीय जनतालाई व्यापारको चक्रको बारेमा जानकारी, मूल्यको बारेमा जानकारी दिनुको साथै त्यससँग सम्बन्धित राष्ट्रिय तथा अन्तराष्र्टि«य ऐन कानुन तथा कार्यक्रम र योजनाहरुको बारेमा जानकारी दिनु पर्दछ ।
    यार्सागुम्बाको संकलनबाट स्थनीय स्तरमा उच्च आम्दानी भईरहेको छ, तर बचत गर्ने अभ्यासको अभाव, बचत गर्ने संरचनाको अभाव र लगानीका उचित क्षेत्रहरुको बारेमा जानकारीको अभावको कारणले प्राप्त आम्दानी जाँडरक्सी, जुवातास जस्ता अन्य अनावश्यक खर्चमा प्रयोग हुदैं गरेको देख्न सकिन्छ । स्थानीय स्तरमा बचत गर्न सकिने संरचनाको व्यबस्थापन गर्न सकियो भने उक्त आम्दानीलाई उनी कपडाको कारखाना खोल्ने, तरकारी तथा फलफुल खेती, मौरी पालन, उच्च शिक्षामा लगानी, स्वास्थ्य उपचारमा लगानी आदि जस्ता उत्पादनशील कार्यमा उक्त आम्दानीलाई प्रयोग गर्न सकिन्छ । यस्ता उत्पादनमुखि कार्यले स्थानीय समुदायको जीवनस्तर दृधकालिन रुपमा सकारात्मक बृद्धि गर्न उल्यखनीय भूमिका खेल्न सक्दछ । यस्ता उत्पादनको व्यापारबाट स्थानीय जनतालाई जति बढि लाभ प्रदान गर्न सकिन्छ त्यति नै बढि उनीहरु त्यसको संरक्षण र संबद्र्धनमा सक्रिय रुपमा सहभागि हुन सक्दछन् ।
यार्सागुम्बा जस्ता वनस्पतिहरु आजसम्म पनि परम्परागत व्यबस्थापनका विधिहरुबाट संरक्षण हुदै आएका छन् । यस्ता वनस्पतिको संरक्षण कसरी गर्ने भन्ने बारेमा वैज्ञानिक विधिहरुको अभाव रहदै आएको छ । जलवायु परिवर्तनको चपेटामा पर्दै गएका यस्ता वनस्पतिको संरक्षण गर्नको लागि परम्परागत ज्ञान तथा साधनलाई अग्रस्थानमा राख्दै त्यसलाई वैज्ञानिक प्रविधि तथा विधिले सवलीकरण गर्नु पर्ने देखिन्छ । यसका लागि स्थानीय समुदायलाई परम्परागत ज्ञानको महत्वको बारेमा जानकारी दिदैं वैज्ञानिक विधिको आवश्यकता र त्यसको उपयोगको बारेमा सचेत गराउनु पर्ने आवश्यक्ता देखिएको छ ।
यस्ता वनस्पतिको उपयोग र संरक्षणमा स्थानीय जनताको सहभागितालाई बृद्धि गर्न सकिएमा विकट वस्तिमा बसेका जनजाति दलित, महिला, तथा विपन्न वर्गका जीवनस्तर उकास्नमा सहयोग पुग्ने देखिन्छ । यसले गरिबी निवारणको शहस्राब्दी विकास लक्ष्य हासिल गर्ने मार्गमा गतिलो अस्त्र सावित हुन सक्दछ । यस्ता कार्यले उनीहरुको शिक्षा, स्वास्थ्य तथा रोजगारी जस्ता आधारभूत अधिकारको सुनिश्चितता गर्न सकिन्छ ।
यार्सागुम्बा जस्ता वनस्पति, जडिबुटि तथा गैर काष्ठ वन पैदावारहरुको संरक्षण र प्रबद्र्धनमा स्थानीय जनताको सहभागितालाई सुनिश्चित गर्न यस क्षेत्रमा कार्यरत सम्पूर्ण सरकारी, गैरसरकारी, व्यापारी तथा सामुदायिक संघ संस्थाहरु एकताबद्ध भएर लाग्न जरुरी देखिन्छ । अन्यथा, यस्ता बहुमुल्य वनस्पति, जडिबुटी तथा गैर काष्ठ वन पैदावारहरु लाखौं मूल्यमा बजारमा विक्री हुदै जानेछन् र त्यसको झिनो लाभमा नै स्थनीय समुदायले चित्त बुझाउनु पर्ने छ ।
(ज्ञवाली बहुसरोकारवाला बन कार्यक्रम र ग्रामिण युवा सरोकार केन्द्र रुकुमद्वारा यार्सागुम्वाको संरक्षण र संम्बद्र्धनका लागि सञ्चालित कार्यक्रमका कार्यक्रम संयोजक हुन् ।)

1 comments:

Unknown said...

Yarsagumba ko bare ma najaneka dherai kura padna paiyo.. Lekhak Mitra Bikash lai dherai dherai dhanyabad yesto khojmulak lekh ko lagi .. Keep it Up Bikash

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |