५ पुस, बागलुङ । चार दिनअघि अशक्त अवस्थामा जन्मेकी एक शिशु अहिले मृत्युसँग जुधिरहेकी छिन् । जिल्लाको ताराखोला गाविस- ८ करिमेलाका हीरालाल सुवेदी र हरिकला सुवेदीको कोखबाट जन्म लिएकी शिशुको शारीरिक अवस्था ज्यादै नाजुक भएपछि परिवारले निको हुने नठानेर अस्पतालबाट घर फर्काएका छन् ।
बीस वर्षीया आमा हरिकलाको कोखबाट ती शिशुले यही पुस १ गते दिउँसो ४:३० बजे धवलागिरि अञ्चल अस्पतालमा जन्म लिएकी थिइन् । अस्वभाविक शारीरिक संरचना भएकी ती शिशुको मलद्वार नभएको, मेरुदण्ड कमजोर भएको र पिसाब गर्ने अङ्ग पनि कोखमा भएको उनका बुबा हरिलाल सुवेदीले बताउनुभयो । अस्पातलमा जन्मदा मात्रै बच्चा त्यस्तो अवस्थामा रहेको थाहा पाएको सुवेदीले बताउनुभयो ।
आमा गर्भवती भएको ठीक नौ महिना पुगेर दश महिनामा प्रवेश गर्दाकै दिनमा बच्चाको अस्पतालमा जन्म भएको थियो । जन्मनु बित्तिकै अस्पतालका डाक्टरले बच्चाको अवस्था नाजुक रहेकाले तुरुन्त काठमाडौँ लैजान सुझाव दिएपनि खर्च अभावले आफूहरुले घर फर्काएको सुवेदीले बताउनुभयो । पहिलो सन्तानको रुपमा जन्म लिएको बच्चा नै अशक्त जन्मेपछि सुवेदी दम्पती चिन्तित बन्नुभएको छ । सुवेदीका बुबा हरिदत्त सुवेदीले बच्चाको उपचार हुन नसक्ने ठानेर काठमाडौँ नलगिएको बताउनुभयो ।
“यस्तो अवस्थाको बच्चा उपचार गरेर निको होला जस्तो पनि लागेन, यदि बाँचिहाले पनि कस्तो अवस्था होला, सुवेदीले भन्नुभयो “फेरि हामीसँग काठमाडौँ, पोखरा लैजाने खर्च पनि छैन ।” धवलागिरि अञ्चल अस्पतालका डाक्टरले निको हुनेसम्भावना कम भए पनि एकचोटी काठमाडौँ लैजान सुझाएको उहाँको भनाइ छ । दुई दिनसम्म बच्चाले आमाको दूध पनि नखाएको र बुधबारदेखि बच्चाले दूध चुस्न थालेको बताइएको छ । पिसाब भइरहेको भए पनि दिसा हुन नपाउँदा पेट सुन्निएको आमा हरिकला सुवेदीले बताउनुभयो ।
मलद्वार हुने ठाउँमा ठूलो घाउ रहेको र घाउबाट रगत पनि बगिरहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै उक्त शिशुको दुवै खुट्टा एकअर्कामाथि खप्टिएको अवस्थामा छन् । छातीभन्दा माथिको भाग भने सामान्य शिशुको जस्तै रहेको छ । परिवारजनले बच्चाको उपचारका लागि सबैसँग सहयोगको याचना गरेका छन् । रासस
- See more at: http://www.onlinekhabar.com/2013/12/146905/#sthash.k0PSInCP.dpuf
0 comments:
Post a Comment