काठमाण्डु, १० भदौ । करिब ६ वर्ष एकीकृत माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा खटिएका रुकुम खोलागाउँका वीरेन्द्र बुढामगरले सोमबार नेपाली सेनाको उपसेनानी पदको दर्ज्यानी चिन्ह ग्रहण गरेका छन् ।वीरेन्द्र आधारभूत तालिम पूरा गरेका ७० जना पूर्वमाओवादी लडाकु मध्येका एक हुन् । दर्ज्यानी चिन्ह पाएका वीरेन्द्रसहितका अधिकृत अब तीन महिने व्रिजिङ कोर्षमा सहभागी हुनेछन् । सैनिक प्रशिक्षण प्रतिष्ठान खरिपाटीमा सोमबार आयोजित विशेष समारोहमा रक्षामन्त्रालयको समेत कार्यभार सम्हालेका मन्त्रिपरिषद् अध्यक्ष खिलारज रेग्मीले दर्ज्यानी चिन्ह प्रदान गरे । यसरी दज्र्यानी चिन्ह पाउनेमा यामबहादुर अधिकारीले महासेनानी, बासुदेव घिमिरे र पदमबहादुर तामाङले प्रमुख सेनानी तथा वीरेन्द्रसहित १३ जनाले सेनानी, ३० जनाले सह–सेनानी र २४ जनाले उप–सेनानीको जिम्मेवारी सम्हाल्नेछन् । दज्र्यानी चिन्ह प्रदान गर्न आयोजित समारोहमा उनीहरुका परिवारजन र आफन्तको पनि बाक्लो उपस्थिति थियो ।
०६२–०६३ को जनआन्दोलनअघि र पछिको अवधिमा वीरेन्द्रलाई एकीकृत माओवादीले प्रचण्डको सुरक्षा गर्ने मुख्य जिम्मेवारी दिएको थियो । ०६३ मंसिर ५ गते सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच भएको विस्तृत शान्ति सम्झौताअनुसार सात मुख्य र २१ सहायक शिविरमा बस्दै आएका पूर्वलडाकु गत चैत ३० गतेदेखि औपचारिक रुपमा नेपाली सेनाको मातहातमा थिए । उनीहरुको रेखदेख, पुनस्र्थापना र समायोजन गर्न गठित विशेष समिति औपचारिक रुपमा विघटन भएपछि पूर्वलडाकु नेपाली सेनाको मातहतमा तालिममा थिए । संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले प्रमाणीकरण गरेका १९ हजार ६ सय दुई लडाकुमध्ये एक हजार चार सय २२ जना नेपाली सेनामा समायोजन भएका छन् । अनमिनको निगरानीमा रहँदै आएका शिविर र लडाकु उसको बहिर्गमनसँगै ०६७ माघ ८ गतेदेखि विशेष समिति मातहत ल्याइएको थियो । अनमिनको पहिलो सूचीकरणमा ३२ हजार दुई सय ५० लडाकु शिविरमा दर्ता भएका थिए । सरकार र माओवादीबीच ०६३ मंसिर २० गते भएको हतियार तथा सेना व्यवस्थापन अनुगमन सम्झौताअनुसार लडाकु हुनका लागि ०६३ जेठ ११ अघि भर्ती भएको र ०४५ जेठ १२ गतेभन्दा पहिले जन्मिएको हुनुपर्ने प्रावधान थियो ।
उपसेनानीमा असफल महासेनानीमा सफल
कुनैबेला नेपाली सेनाको उपसेनानीमा भर्ती भई राष्ट्रको सेवा गर्ने लक्ष्य बोकेका यमबहादुर अधिकारी सोमबारदेखि औपचारिक रुपमा सेनाको महासेनानी बनेका छन् । एकीकृत माओवादीका एक हजार चार सय लडाकुको नेतृत्व गर्दै नेपाली सेनामा समायोजित भएका अधिकारी त्यस्ता व्यक्ति हुन्, जसले संघर्षका कुनै क्षण नभोगेको होस् ।
उत्तरी धादिङको मार्पाकमा बाबु बोरसिंह अधिकारी र आमा खड्ककुमारीको कान्छो छोराका रुपमा ०२९ असार १ गते जन्मिएका अधिकारीले ०४६ सालमा द्वित्तीय श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए । अधिकारी ०४६ सालको जनआन्दोलनपछि क्याम्पस पढ्न काठमाण्डु आए । काठमाण्डु आउनुअघि नै उनी तत्कालिन अखिल छैठौंको धादिङ जिल्ला सदस्य थिए । प्रवीणता प्रमाणपत्र तहको पढाइका लागि काठमाण्डुको पिपल्स क्याम्पसमा भर्ना भएपछि उनी आर्थिक संकटमा परे । पढ्ने खर्च जुटाउन उनले पर्यटन व्यवसायी ज्योति अधिकारीले सञ्चालन गरेको ठमेलस्थित ग्रीनलिप्स रेष्टुरेण्टमा काम गर्न थाले । त्यो कामप्रति सन्तुष्ट हुन नसकेपछि उनले काठमाण्डु–पोखरा रुटमा चल्ने स्वीस ट्राभल्समा टुरिष्ट गाइडको रुपमा पनि काम गरे ।
प्रवीणता प्रमाणपत्र तहको पढाइ पूरा गरेपछि पार्टीले उनलाई धादिङ बोलायो । विद्यार्थी संगठनको अध्यक्षको जिम्मेवारी दियो । त्यससँगै उनले आफैंले विद्यालयतहसम्म अध्ययन गरेको निरञ्जना मावि मार्पाकमा ०४७ वैशाख १ देखि ०४८ फागुन २० सम्म अँग्रेजी विषय पढाए । त्यतिबेला पनि उनी माओवादी धादिङ् जिल्ला सदस्य थिए । ०५१ सालदेखि शिक्षण पेशा छाडेर उनी पार्टीमा पूर्णकालीन भएर काम गर्न थाले । पार्टीमा काम गरिरहेकै बेला ०५९ मा पोखरामा उनी पक्राउ परे । कम्पनी कमाण्डर हिराकाजी प्याकुरेलको सहायक कमाण्डरका रुपमा अधिकारीले काम गरेका थिए । प्याकुरेल पक्राउ परेपछि उनले नै अधिकारीलाई बोलाएर पक्राउ गराएका थिए । अधिकारीलाई नेपाली सेनाले धादिङस्थित गजुरी ब्यारेकमा ल्यायो । सेनाले अधिकारीलाई हेलिकोप्टरमा राखेर धादिङको उत्तरी क्षेत्रमा माओवादी पक्राउन पनि लग्यो ।
वर्षातका बेला पानी परिरहेको थियो । सेनाको पहरामा हतकडीसहित दिसा गर्न उनी झाडीतिर लागे । उनलाई पहरा दिएर बसेका सेना हेरेको हे¥यै भए, अधिकारी फरार भए । सेनाबाट फुत्किएपछि अधिकारीले गण्डक क्षेत्रमा कमजोर हुँदै गएको सैन्य संगठनलाई बलियो बनाए । पूर्णकालीन भएदेखि उनले जनमिलिसिया, स्क्वायड, प्लाटुन, कम्पनी, बटालियन, ब्रिगेड हुँदै डिभिजन कमाण्डरसम्मको नेतृत्व गरेका छन् ।
०६३ मंसिर ५ को शान्ति सम्झौतापछि नवलपरासीको झ्याल्टुङडाँडास्थित चौथो डिभिजनमा सहायक कमाण्डर रहेका अधिकारी माओवादीले कमाण्डर गणेशमान पुनलाई वाइसीएल अध्यक्ष बनाएर काठमाण्डु ल्याएपछि स्वत कमाण्डर भएका थिए । डिभिजनमा कमाण्डर फेरबदल हुँदा इलामको चुलाचुलीस्थित पहिलो डिभिजनको कमाण्ड सम्हाल्न पुगेका थिए । थोरै बोल्ने,मृदुभाषी अधिकारी सकेसम्म अरुको चित्त दुखाउन चाहदैनन् । ०६१ मंसिर १ धादिङको कृष्णभीरमा नेपाली सेनासँगको भिडन्तमा माओवादी सेनाको बासु स्मृति चौथो ब्रिगेडका कमाण्डर थिए । नेपाली सेनाका जवानलाई नियन्त्रणमा लिएर स्थानीय पत्रकारलाई जिम्मा लगाएपछि उनी राष्ट्रिय चर्चामा आएका थिए । उपनाम प्रतीक्षा रहेका उनलाई कतिपय सञ्चारमाध्यमले समेत महिलाका रुपमा प्रचार गरे ।
सशस्त्र संघर्षकै बेला एकअर्कोलाई मन पराएर बिहे गरेकी श्रीमती सरस्वती पाण्डे ‘सीमा’ चितवन जवाङखोलामा नेपाली सेनासँगको भिडन्तमा मारिइन् । शान्ति प्रक्रियापछि उनले नवलपरासीकी तारा कुमालसँग एकीकृत माओवादीको मुख्यालय पेरिसडाँडामा प्रचण्ड, बाबुरा भट्टराईसहितका नेताहरुलाई साक्षी राखेर बिहे गरेका थिए । पूर्व माओवादी कार्यकर्ता तारा पेशाले स्टाफ नर्स हुन । प्रत्येकपटक घर जाँदा अधिकारी धादिङको आगिञ्चोकस्थित पूरानो ससुराली पुग्ने गर्छन् ।
दाजुभाई नै अधिकृत
दाजुभाई बीचको सम्बन्ध न टाढाको हुन्छ न नजिकको । उनीहरु भmगडा गर्दागर्दै मिल्छन् र मिल्दामिल्दै झगडा गर्छन, अन्ततः दाजुभाई मिल्छन् । जन्मदै कम्युनिष्ट भएर प्युठानमा जन्मिएका बासुदेव घिमिरे र माधव घिमिरे त्यस्ता दाजुभाई हुन् जो सशस्त्र संघर्षका बेला सँगै लडे, अहिले पनि सँगै राष्ट्रिय सेनामा रुपान्तरित भए । प्रमुख सेनानी हुने पक्का भएका बासुदेव र सेनानीको लाइनमा रहेका माधव सहोदर दाजुभाई हुन् ।दाई सेनामा, भाई वैद्यको पार्टीमा
एकीकृत माओवादी विभाजन हुँदा श्रीमान् श्रीमती र दाजुभाई फरकफरक पार्टीमा लागेका छन् । आफन्त गुमाएका नेता कार्यकर्ता फरक पार्टीमा लाग्दा पारिवारिक अप्ठ्यारो आएका घटना पनि छन् । १० वर्षे सशस्त्र संघर्षका बेला बुबा, दिदी र एक बहिनी गुमाएका वीरेन्द्रका एक मात्र भाई डिकम बुढामगर ‘विप्लव’भने एकीकृत माओवादीबाट विभाजन भई गठन भएको नेकपा–माओवादी दाङका प्रभावशाली नेता छन् ।
युद्धका बेला बालुवामा नक्सा रेखाङ्कन, भौगोलिक अवस्थाको सर्भे र हतियार निर्माणमा विशेष दख्खल राख्ने वीरेन्द्रले सशस्त्र युद्धका बेला अधिकांश सेनाका व्यारेक र प्रहरी चौकीको सर्भे गरेका थिए । त्यही गोप्य सर्भे रिपोर्टका आधारमा कहाँबाट र कसरी हमला गर्ने भन्ने योजना बनाइन्थ्यो ।
वीरेन्द्रले ब्राम्हण समुदायकी ईश्वरीसँग बिहे गरेका छन् । दाङ घोराहीस्थित तत्कालीन महेन्द्र क्याम्पसमा अध्ययनका क्रममा उनीहरुबीच चिनजान भएको थियो । पछि दाङ देउखुरीको गोवरडिहा गाविस–७ धैरेनीमा उनीहरुको प्रगतिशील विवाह भयो । अधिकांश माओवादी नेताका छोराछोरी निजी विद्यालय पढ्ने गरे पनि वीरेन्द्रले आफ्ना दुई छोरीलाई ललितपुरको एक सरकारी विद्यालयमा पढाएका छन् । उनले सुर्खेतबाट व्यवस्थापन संकायमा प्रवीणता प्रमाणपत्र तह पूरा गरेका छन् । घोराहीमा स्नातकतह पढ्दापढ्दै उनी भूमिगत भई माओवादीमा सक्रिय रुपमा लागेका हुन् । पार्टीमा मञ्जिल नामले परिचित छन् । २०५४ सालमा सल्यानको थारमारेबाट पक्राउ पर्दा वीरेन्द्रले आफूलाई अदुवाको सुठो र टिम्मुर व्यापारीका रुपमा चिनाएका थिए । जिल्ला प्रहरी कार्यालय घोराहीको हिरासतबाट वीरेन्द्रले एउटा पत्र प्रहरीहरुकै सहयोगमा गोप्यरुपले ससुरालीसमक्ष पु¥याउन सफल भएका थिए । उनका ससुरा शिक्षक थिए, श्रीमती त्यतिबेला गर्भवती थिइन् । प्रहरीले बोलाएका बेला हाजिर हुने सर्तमा बेलुका सात बजेतिर वीरेन्द्र हिरासत मुक्त भएका थिए । भरपर्दो र विश्वासिलो कमाण्डर पाएपछि माओवादी अध्यक्ष प्रचण्डले वीरेन्द्रको ससुरालीलाई मौखिक सन्देश पठाए ‘जनयुद्धको कुशल योद्धामध्येका एक मन्जिललाई सकुशल रिहा गराउन सफल भएकोमा पार्टीको तर्फबाट धन्यवाद । अनि बधाई पनि ।’ हिरासतमा पाएको यातनाले उनी हिँड्न नसक्ने अवस्थामा थिए ।
श्रीमान श्रीमती नै सेनामा‘लोग्ने स्वास्नीको झगडा परालको आगो’ भनेर गुरुप्रसाद मैनालीले श्रीमान श्रीमतीबीचको झगडालाई सामान्यीकरण गरे पनि श्रीमान श्रीमती छुट्टिएर सामाजिक विघटनको अवस्था सिर्जना हुँदै गएको छ । दुःखसुखमा साथ दिने कसम खाएर बिहे गरेका श्रीमान श्रीमती ससाना विषयमा झगडा गरी सम्बन्ध विच्छेद गरेर एकअर्काका पराई बन्न पुगेका घटना समाजमा प्रशस्त छन् ।
बन्दुकलाई साक्षी राखेर कहिल्यै नछुट्टिने प्रण गर्दै विवाह बन्धनमा बाँधिएका काभ्रेका रामबहादुर लामा र विमला पन्तले सशस्त्र संघर्षमा सँगसँगै लडाईं लडे । सशस्त्र संघर्षका बेला बिग्रेड कमाण्डर लामा र सहायक कमाण्डर पन्त अहिले सँगसँगै राष्ट्रको सेनामा रुपान्तरित भएका छन् । सेनानीको दज्र्यानी चिन्ह पाएका लामा र पन्त श्रीमान श्रीमती हुन् ।
उत्कृष्ट
समायोजनपछिको तालिममा पुरुषतर्फ बाजुरा साप्पाटाका केशवराज धामी र महिलातर्फ सोलेखुम्बु कागेलकी विनाकुमारी बस्नेत उत्कृष्ट भएका छन् । धामीलाई सोर्ड अफ अनर र बस्नेतलाई उत्कृष्ट महिला अधिकृत क्याडेट केन प्रदान गरिएको छ । साभार-kathmandutoday.com


4:00:00 AM
www.aahasanchar.com






0 comments:
Post a Comment