उपेन्द्रलाल कामी
प्रसंग १, आजको एक्काइसौं शताब्दीमा बिज्ञान र प्रबिधिको यति धेरै बिकास भइसकेको छ कि यस जगत भित्रका अनेकौं खोज, अध्ययन र आविष्कारबाट पनि बाहिरिएर मानिसले अन्तरिक्ष यात्रा, कृष्णबिवर (ब्ल्याकहोल) यात्रा, काल (समय) यात्रा गर्नेदेखि लिएर अर्को कृतिम ब्रम्हाण्डको सृष्टि गर्न सकिने कुरा समेत बैज्ञानिकहरुले आफ्नो सोधपत्रमा उल्लेख गरेका छन् ।
प्रसंग २, बिज्ञान र प्रबिधिको बिकाससंगै मानवीय मूल्यमान्यतमा आउने गम्भीर बिचलनका कारण बैज्ञानिकहरुले गरेका आविष्कारहरु गलत ठाऊँमा प्रयोग भइदिंदा मानव जाती मात्र नभई यस जगतका प्राणीहरु समेतको जीवन समाप्त हुने गरि जापानको नागाशाकी र हिरोसिमामा भएको परमाणु बम बिष्फोटनबाट लाखौंको नरसंहार जस्ता थुप्रै प्रकारका कहाली लाग्दा दुर्घट्नाहरु पनि बेहोर्दै आउनु परिहेको छ । केही शताब्दीदेखि यता पृथ्वीमा नै महाप्रलय आउने गरि भइरहेको जलवायु परिवर्तनमा समेत मानवीय क्रियाकलाव तथा औद्योगिक बिकासको कारण नै प्रमुख रहेको छ ।
प्रसंग ३, यस जगतमा कयौं यस्ता बिषयहरु छन् जुन बिज्ञानको प्रयोगशालामा पुष्टि नभएका र हुन नसक्ने अदृष्य शक्तिका चमत्कारिक घट्नाहरु हरक्षण कुनै न कुनै रुपले प्रकट भइरहेका छन् । जसलाई ईश्वरीय शक्तिका कारण हुने गरेको आध्यात्मिक एवं काल्पनिकहरुको मत रहेको छ । जुन बिश्वदृष्टिकोण र बिश्वासको आधारमा बिभिन्न धार्मिक सम्प्रदायहरु जन्मेर आआफ्नो संस्कृति,मूल्यमान्यताहरु निर्माण गरेर चलिरहेका छन् ।
प्रसंग ४, आध्यात्मिक बिश्वदृष्टिकोण अन्तरगत बनेका बिभिन्न धार्मिक सम्प्रदायहरु बीचमा देखापर्ने रुढीवाद, अन्धबिश्वास, यति धेरै जब्बर रुपमा रहेको छ कि त्यसबाट उत्पन्न जातीय तथा लिङ्गिय बिभेद र अन्तरधार्मिक असहिष्णुताका कारण साम्प्रदायिक लडाइहरु भएर लाखौं मानिसहरुको जीवन समाप्त भइसकेको छ । धर्मको नामबाट भइरहेका हिंसात्मक लडाइ तथा आतंकवाद बिश्वका मानव जातीकै लागी गम्भीर चूनौतिको बिषय बनेको छ ।
प्रसंग ५, दुई बिश्वदृष्टिकोण अन्तरगत अध्यात्मकवाद र द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादलाई अलगथलग रुपमा अंगिकार गरेकाहरुको बीचमा देखापर्ने केही समानता र अन्तरबिरोधी ढोंगी चिन्तनगत प्रबृत्तिलाई हेर्ने हो भने जसले बिचारमा आध्यात्मिक धार्मिक चिन्तनमा बिश्वास राख्छन् तर ब्यवहारमा बिज्ञान र प्रबिधिलाई नै बढी अवलम्बन गरिरहेका हुन्छन् भने जसले बिचारमा बैज्ञानिक बिश्वदृष्टिकोणलाई अवलम्बन गरेका हुन्छन् तर ब्यवहारमा अमुक ब्यक्तिद्वारा प्रतिपादित सिद्धान्तलाई ब्यक्तिसंग वादको संज्ञा दिएर मन्त्र झै भट्याउने र ब्यक्तिलाई देवत्वकरण गरेर पुजा गरिरहेका हुन्छन् । कसैले अलौकिक शक्तिमाथि बिश्वास गरेर पुजा गर्छन भने कसैले भौतिक रुपमा ब्यक्तिलाई देवत्वकरण गरि सिद्धान्तलाई मन्त्र बनाएर पुजा गर्दछन् । यि दुईको बीचमा कयौं समानता र अन्तरभेदका अन्तरबिरोधहरु रहेका छन् ।
उपर्युक्त यि पाँच वटा प्रसंगमा एकपटक राम्ररी बिचार बिमर्श एवं चिन्तन मनन गरेर छलफल बहसलाई ब्यवस्थित ढंगले अगाडी बढाउने हो भने निश्चय पनि नयाँ निष्कर्षमा पुग्न सकिन्छ । नयाँ शक्ति पार्टी नेपालले अगाडि सारेको सैद्धान्तिक अवधारणामा स्पष्ट गरेको छ कि अहिलेको बिश्व राजनीतिक परिस्थितिमा नै बैचारिक क्षेत्रमा अभूतपुर्व संकट आएको छ । कम्यनिष्टहरुले अंगिकार गरेको दर्शन,बिचार÷सिद्धान्त र गैर(कम्युनिष्ट लोकतन्त्रवादीहरुले अंगिकार गरेको दर्शन, बिचार÷सिद्धान्तले अहिलेको सामाजिक अन्तरबिरोध एवं समस्याहरुको हल गर्न सकिरहेको छैन । मानव जातीको हितको निम्ती धेरै विद्वान, दार्शनिक, बैज्ञानिक तथा बिचारकहरुले धर्मशास्त्र, दर्शनशास्त्र, समाजशास्त्र, राजनीतिशास्त्र लगायतका असाधारण बैज्ञानिक आविष्कारहरु गरिसकेका छन् । गतिशिल समय र परिवर्तशिल समाजको आवश्यकताले नयाँ(नयाँ सिद्धान्त र बिचारहरुको जन्म हुने गर्दछ । कुनैपनि चिजको जन्मपछि मृत्यु अवश्यंभावी भए जस्तै मानव जातीले प्रतिपादन गरेका सिद्धान्त एवं बिचारको हकमा पनि यो कुरा लागु हुन्छ ।
कुनैपनि सिद्धान्त वा बिचार साश्वत सही वा गलत हुन सक्दैन । साश्वत सही वा गलत हुने भए अहिलेसम्म सर्वोत्कृष्ट भनेर अवलम्बन गरेका सिद्धान्त एवं बिचारहरुले सिङ्गो मानव समाजमा एकछत्र राज गरेको हुनुपथ्र्यो । भलै सबै मानिसहरुले सिद्धान्त÷बिचार बुझ्न नसक्लान् तर बुझेकाहरुले पनि त ति सिद्धान्त÷बिचारहरुको प्रयोग गर्दैजाँदा पुरानोको औचित्य समाप्त भइसकेको र त्यसबाट नयाँ जन्मनु अपरिहार्य बनिसकेको हुन्छ । बरु हामीले आत्मसात गर्ने कुरा के भने जुन सिद्धान्त÷बिचारको औचित्य समाप्त भएको हुन्छ ठिक त्यही पृष्ठभूमिको गर्भबाट नयाँ सिद्धान्त÷ंबिचारहरु जन्मिएका हुन्छन् । यस प्रकृयालाई सामान्य भाषामा सिद्धान्त ÷ं बिचारको बिकास भएको भन्ने गरिन्छ । तर यो कुरा सिद्धान्त÷बिचारलाई साश्वत सत्य मान्ने आदर्शवादी र भौतिकवादीहरुले सहजै स्वीकार गर्न सक्दैनन् । किन की जुन सिद्धान्त÷बिचारको आधारमा अथाह मेहनेत गरि संरचनाहरु निर्माण गरिएको हुन्छ त्यसलाई आफैले भत्काउन निश्चय पनि अप्ठ्यारो लाग्छ तर त्यसको औचित्य समाप्त भइसकेपछि सचेत पहल गरेर भत्काउन ढिलाइ गर्ने हो भने केहि समयपछि त झन त्यो केहीपनि काम नलाग्ने गरि नष्ट भएर जान्छ । सचेत पर्यत्नद्वारा समयमै भत्काएर नयाँ निर्माण गर्नतिर लाग्ने हो भने पुरानो संरचनामा भएका गुणस्तरीय चिजहरुलाई नयाँ संरचनामा मिलाउन सकिन्छ । प्रेममा पागल भएका महादेवले मरेकी सतीदेवीको कुहिएको शवलाई काँधमा बोकेर महिनौं दिनसम्म संसार घुमेको दन्त्य कथाको दुःखद अन्त्य भए झै सिद्धान्त÷बिचारमा जड हुनेहरुको हालत पनि त्यस्तै हुने गर्दछ । मरेका मानिसहरुको योगदानको रक्षा बाँचेकाहरुले गर्नुपर्ने दायित्व हुने भएकोले पुराना सिद्धान्त÷बिचारको बिकास नयाँमा रुपान्तरण गरेर मात्रै सम्भव हुन्छ । मानव जातीको इतिहासका महत्वपूर्ण कालखण्डहरुमा बिभिन्न विद्वान, दार्शनिक, बैज्ञानिक, बिचारकहरुले अभूतपुर्व खोज, अध्ययन र मेहनेत गरेर आविष्कार गरेका सिद्धान्त÷बिचारहरु नयाँ पुस्ताका लागी महत्वपूर्ण खजाना हुन् । हामीले कसैका पनि सिद्धान्त÷बिचारलाई अवमूल्यन गर्नु हुदैन ।
सबै खाले महान बिचारक, बैज्ञानिक र दार्शनिकहरुले प्रतिपादन गरेका सिद्धान्त÷बिचारलाई प्रयोग गर्ने नाममा नयाँ शक्तिले सबैकुरा हुबहु अवलम्बन गर्न सक्दैन । समयको माग र इतिहासको आवश्यकता अनुसार सबै खाले सिद्धान्त÷बिचारहरुको अध्ययन, अनुसन्धान र सृजनात्मक प्रयोगबाट मात्र नयाँ सिद्धान्त÷ बिचारको आविष्कार गरेर पुर्नसंश्लेशण गर्न चाहन्छ । जसरी कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले त्यसबेला दुई बिपरित ध्रुर्वका अपूर्ण अवस्थामा रहेको हेगेलको द्वन्दवाद र फायरवाखको भौतिकवादलाई सम्बृद्ध गरेर द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादको सिद्धान्तमा संश्लेशन गरेका थिए । उक्त सिद्धान्तलाई अहिले सम्मकै उत्कृष्ट समाज बिज्ञानको सिद्धान्त मानिएको छ । अहिलेसम्म मानव समाजमा आध्यात्मकवाद र भौतिकवाद दुईखाले बिश्वदृष्किोण अस्तित्वमा रहदै आएका छन् । यि दुई बिश्वदृष्टिकोण अलग(अलग ध्रुर्वमा रहेको जस्तो देखिएको भएता पनि एउटै सिक्काको दुईवटा पाटा जस्तै हुन् । एउटा सिक्कालाई आकाशतिर उफ्राई हत्केलाभित्र लिएपछि छोपेर राखेको सिक्कालाई गाई कि त्रिशुल भन्ने केटाकेटीहरुले खेल्ने खेल जस्तै भइरहेको दुई भिन्न बिश्वदृष्टिकोण बारेको बहस कहिल्यै पनि नटुङ्गिने हुस्सु विद्वानहरुको झगडा जस्तै बन्न गएको छ । कार्ल माक्र्स र एङ्गेल्सले दर्शनको संश्लेशन गर्नु अघि द्वन्दवाद र भौतिकवाद बिपरित ध्रुर्वका सिद्धान्त जस्तै मानिन्थे । तिनै सिद्धान्तको आधारमा टेकेर गरिएको गहिरो खोज, अध्ययन र अनुसन्धानबाट द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवाद सिद्धान्तको आविष्कार भयो । शास्त्रहरुको बिशेषता के हुन्छ भने धर्मशास्त्र( मानिसको परम्परा र बिश्वासको आधारमा टिकेको हुन्छ भने कला, मानवीय संवेदना, भावना र सृजनामा टिकेको हुन्छ । बिज्ञान, तथ्य, प्रयोग र प्रबिधिको आधारमा रहेको हुन्छ भने दर्शनशास्त्र तथ्याङ्क, तर्क र बिश्लेशनमा आधारित हुन्छ ।
यसबाट के बुझ्न सकिन्छ भने मानवीयता बिनाको भौतिक बिज्ञान र ब्यवहार बिनाको आध्यात्मिक दर्शन मुटु र मस्तिष्क बिनाको मानिस जस्तै हो । यस ब्रम्हाण्ड तथा संसारमा जतिपनि अस्तित्वका दुई धु्रर्वहरु छन अन्तत्वगत्वा एउटै हो । हामी सत्यवादी बन्ने या बिश्वासवादी हुने ? भन्ने प्रश्नको दुई धु्रर्वमा बिभाजित भएर माथापच्ची गरिरहेका छौं । कुनै कालखण्डमा प्रमाणित भएको सत्य पछि आएर असत्य हुन सक्दछ र काल्पनिक बिश्वास कहिलेकाँही सत्यमा परिणत पनि हुन सक्दछ भन्ने कुराको हामीले हेक्का राख्नै पर्दछ । यि कयौं घट्नाहरु हामीले आफ्नो दैनिक जीवन ब्यवहारमा देख्दै र भोग्दै आइरहेको भएता पनि यसको खोज, अध्ययन र अनुसन्धान गर्ने कष्ट गरेका छैनौ । किन की हाम्रा पुर्वज एवं अग्रजहरुले जे बताएका छन् त्यसकै वरिपरिमा रहेर हामीले आफ्ना धारणा बनाएर ब्याख्या बिश्लेशन गरिरहेका छौं । दर्शनलाई बुझ्ने र प्रयोग गर्ने सवालमा हाम्रो समाजमा पाँच प्रकारका मतहरु रहेका छन् । पहिलो बितृष्णावादी मत यस मतले दर्शनशास्त्र केहीपनि होइन, बिभिन्नखाले सिद्धान्तका वादहरुले मानिसको जीवन नै वर्वाद गरिदिएको छ भनेर दर्शनको महत्वलाई वेवास्ता गर्दछ । दोश्रो भरोसावादी मत यस मतले दर्शनको अध्ययन,अनुसन्धान र आविष्कार गर्ने काम कुनै अमुक दार्शनिक,बिचारकहरुको हो र उनीहरुले प्रतिपादन गरेको सिद्धान्तलाई हामीले मानिदिने हो भन्ने मान्यता राख्दछ । तेश्रो ब्यवहारवादी मत यस मतले ब्यवहार नै सबथोक हो र ब्यवहारमा गइसकेपछि सिद्धान्त आफै जन्मन्छ भन्ने मान्यता राख्दछ । चौथो सिद्धान्तवादी मत यस मतले सिद्धान्त नै मुख्य कुरा हो र सिद्धान्तमा कतैपनि तलमाथि गरिनु हुदैन । सिद्धान्तको रक्षा गरिएन र सिद्धान्तमा केहि तलमाथि भयो भने सबै बर्बाद हुन्छ भन्ने मान्यता राख्दछ । पाँचौ द्वन्दवादी मत यस मतले गतिशिल समय र परिवर्तनशिल समाजको नियममा आधारित भएर देश,काल र परिस्थिति अनुसार, खोज, अध्ययन,अनुसन्धान गरि सृजनात्मक प्रयोगद्वारा सिद्धान्तको आवश्यक परिमार्जन, सम्बृद्धिकरण र नयाँ आविष्कार गर्नुपर्दछ भन्ने मान्यता राख्दछ । नयाँ शक्तिले यही पाँचौ मतलाई अंगिकार गरेर द्वन्दात्मक भौतिकवादको सम्बृद्धिकरण गर्न चाहन्छ । नयाँ शक्तिले जस्ताको तस्तै कुनैपनि सिद्धान्तलाई ग्रहण गर्दैन र कुनैपनि सिद्धान्तको निन्दा पनि गर्दैन । प्रकृति प्रदत्त बस्तुलाई मानिसले न जन्माउन सक्छ न त मार्न नै सक्छ केवल मानिसले उपयोग मात्र गर्न सक्ने भएकोले भौतिक परिवेश सापेक्ष सिद्धान्त र बिचारको बिकास गर्न अहिले सम्मका बिचार, सिद्धान्त र दर्शनहरुको सृजनात्मक प्रयोगबाट पुर्नसंश्लेशण गरि बिश्व राजनीतिमा नै देखिएको बैचारिक संकटको समाधान गर्न नयाँ शक्तिले बिकल्प दिने सोंच सहित अग्रसर भइरहेको छ । यो कुनै चानचुने बिषय नभइ निकै ठुलो चूनौतिको कोर्ष पुरा गरेर मात्रै लक्ष्यमा पुग्न सकिने छ । लेखक कामी नयाँ शक्ति पार्टी नेपाल केन्द्रीय परिषद सदस्य तथा केन्द्रीय प्रशिक्षण बिभाग सदस्य हुन् ।
0 comments:
Post a Comment