मेगराज खड्का
रुकुम ६, चैत
रुकुम जिल्लाका पाँचवटा गाउँ विकास समितिहरु रुँघा, खारा, मुरु, पेउघा र भलाक्चाका एक÷एक वटा माध्यमिक तहका विद्यालयमा यस शैक्षिक सत्रदेखि शान्ति शिक्षा सञ्चालन हुने भएको छ । मानव अधिकार संरक्षण तथा कानूनी सेवा केन्द्र (हरप्लेस) रुकुमद्वारा सञ्चालित संक्रमणकालीन न्याय र शान्ति निर्माणका लागि स्थानीय क्षमता विकास कार्यक्रम अन्तर्गत कक्षा सञ्चालन हुन लागेको हो ।
उक्त कक्षामा द्वन्द्व, हिंसा, द्वन्द्व विश्लेषण, विभिन्न कारणबाट समाजमा हुनसक्ने द्वन्द्व र समाधानका उपाय, संक्रमणकालीन न्याय, यसका संवैधानिक र कानूनी संरचना, दीगो शान्ति निर्माणका आधार र आयाम, द्वन्द्वको सृजनात्मक व्यवस्थापन तथा रुपान्तरण, संक्रमणकालीन न्याय प्राप्तिका विधि तथा प्रक्रिया लगायतका विषयवस्तुबारे विद्यार्थीलाई प्रशिक्षण दिईनेछ । यी विषयवस्तुबारे प्रशिक्षणको साथै समूह छलफल, घटना अध्ययन, द्वन्द्वपीडितले न्याय पाए÷नपाएको अवस्थाबारे स्थलगत अनुगमन लगायतका कार्यमा विद्यार्थीलाई जोडिने हरप्लेसले जनाएको छ । ३ वर्षसम्म नियमित रुपमा यो शिक्षा सञ्चालन गरेर स्थानीय स्तरमा हुने द्वन्द्व रुपान्तरण तथा दीगो शान्ति निर्माण कार्यमा विद्यार्थीहरुको सहभागिता बृद्धि गर्ने लक्ष्य राखिएको छ । कक्षा ८ र ९ का विद्यार्थीहरुलाई लक्षित गरी तयार गरिएको उक्त पाठ्यक्रम अनुसार यो विषय हप्तामा एउटा कक्षाका दरले वर्षमा ४० वटा कक्षा संचालन हुनेछ । हाल हरप्लेस क्षेत्रीय कार्यालय नेपालगञ्जले पाठ्यपुस्तक छपाई गर्ने काम गरिरहेको र केही दिनमै पाठ्पुस्तक जिल्लामा पुगेपछि पठनपाठन सुरु गरिने हरप्लेस रुकुमले जनाएको छ ।
शान्ति शिक्षाका लागि हरप्लेको कार्यक्रम लागु भएका गाविसहरु रुँघाको दिव्यचक्ष्यु मावि तलिगाउँ, खाराको अन्धनाशक उमावि खुम्चेरी, मुरुको साधारण उमावि मुरुडाँडा, पेउघाको जनप्रिय मावि पेउघा र भलाक्चाको जनकल्याण मावि काँसपोखरी विद्यालय छनोट गरिएको हरप्लेस रुकुमका जिल्ला कार्यक्रम संयोजक सुरेन्द्र खत्रीले जानकारी दिए । शिक्षक, विद्यार्थी र अभिभावकको समेत सक्रियता र गाविसका विद्यार्थीको पहुँचका आधारमा जिल्ला शिक्षा कार्यालय, गाउँ विकास समिति र गाविस स्तरका संक्रमणकालीन न्याय तथा शान्ति मञ्चको सल्लाहमा विद्यालय छनोट गरिएको बताईएको छ ।
0 comments:
Post a Comment