कृष्ण आचार्य
वास्तवमा म झन्डै बेचिएको मान्छे हुँ । तर, आज यहाँसम्म आइपुगेको छु । त्यो दिन सम्झदा अहिले पनि आँखाबाट आँसु आउँछ । कुरा आजभन्दा १२ वर्ष पहिलेको हो, जतिबेला म कक्षा ४ मा अध्ययन गर्दथे । त्यस समयमा म चितवन नारायणघाटको बाल कुमारी कन्या उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्थे । अझ भनौ न म एक बालक नै थिए । ९ वर्षको उमेरमा हामी कस्तो थियौँ या हुन्छौँ त्यो हामी आफै पनि कल्पना गर्न सक्छौँ ।
मेरो स्कुल नारायणघाट बजारमा थियो तर म भने मेरो आदारणीय दिदी भिनाजुसँग बस्थे । मेरो आमाले धेरै विश्वास र आशाका साथ मलाई त्यहाँ बढ्न पठाउनु भएको थियो । सानैदेखि म धेरै बदमास भएकाले पनि होला घरबाट टाढा बस्यो भने सुध्रन्छ कि भन्ने मनसायले मलाई त्यहाँ पठाइएको । त्यस अनुरुप म राम्रो पढीरहेको पनि थियो र मेरा अगाडि राम्रो भविष्य पनि थियो ।
एकदिनको कुरा हो, म स्कुलबाट घरतर्फ आउँदै थिए । घर आउँदा जाँदा नारायणी नदीको पुल हुँदै धाउनु पर्ने हुन्थ्यो । त्यसदिन पनि म सदा झै पुलमाथि बाट यात्रा गरिरहेको थिए । एक्कासी मेरो अगाडि एकजना अपरिचित मानिस उभियो । पहिला मेरो नाम, बस्ने ठाउँ सोध्यो । म पनि बालक सबै कुरा भनिदिए । मलाई अहिले पनि याद छ त्यसपछि उसले भनेको थियो, ‘ए म चिन्छु, आउ बस एकछिन । तिमीलाई चिनेको जस्तै लागेर बोलाएको हुँ । सँगै जाँउला ।’ म बालक न थिए उसको कुरा कसरी नपत्याउनु । उसले पुल छेउबाट मलाई चाउचाउ किनिदियो अनि आफ्नो काखमा बेसरी च्यापेर राख्यो । मलाई अहिले पनि याद छ त्यस समय उसले मलाई जोडले च्यापेर राखेको थियो । मुखबाट रक्सीको गन्ध आइरहेको थियो । यताउता हेरिरहेको थियो केही कुराको पर्खाइमा बसेको जस्तोे ।
एकछिनपछि मैले म जान्छु दाई ढिला भयो भने । तर उसले सँगै जाने त हो नी किन आत्तिएको भन्न थाल्यो । काखमा जोडले समाएर नारायणी पुलमा राखेको छ मलाई । न म उबाट फुकिएर जान सक्छु न कसैसँग गुहार माग्न । र मलाई यो पनि थाहाँ छैन कि किन उसले मलाई यसरी कसेर राखेको छ । मलाई त यतीमात्र थाहा छ कि उ पनि मसँगै जान्छ केही क्षणमा । उसले पनि चिनेको छ मेरो दिदी भिनाजुलाई । हो त्योभन्दा अन्य कुरामा म अनविज्ञ छु । अब अगाडि के हुन्छ केही थाहाँ छैन मलाई । मेरो बालकपनले त्यो सबै सोच्न पनि सक्दैन थियो होला त्यस समय । भनिन्छ नि बालक भगवानको रुप हुन्छ । हो उसले सबै कुरा सत्य देख्छ र बोल्छ पनि त्यसैले पनि बालकलाई भगवानको रुपमा लिइन्छ । म पनि भगवान बनेको थिए एकछिन । मैले सत्यमात्र देखेको थिए किन कि म बालक थिए ।
त्यो मान्छे एकदमै आत्तिएको थियो । मलाई विभिन्न प्रश्न गर्दै थियो । तर, म पहिलेभन्दा अलि परिवर्तन भएको थिए । उसको सबै प्रश्नको उत्तर दिदैनथे म । उसले मलाई एकोहारो मेरो भिनाजुसँग भएको चिनजानका बारेमा सुनाउँथ्यो सायद मेरो विश्वास जित्न होला । उसका कुराबाट मलाई पनि हो जस्तै लाग्थ्यो किन कि उहाँ व्यवसाय गर्ने मान्छे यसरी चिनजान हुनु त कुनै ठूलो कुरा थिएन । तर पनि मलाई असहज भइरहेको थियो । म उसको काखबाट फुस्कन खोज्दै थिए । रक्सीको गन्धले मलाई पेलिरहेको थियो ।
त्यो दृश्य नजिकैबाट मेरो छिमेकी दाईले हेरिरहनु भएको रहेछ । अहिले उहाँको नाम त थाहाँ छैन मलाई तर उहाँ मेरो लागि त्यतिबेला भगवान बनेर आउनु भएको थियो । उहाँले आएर सोध्नु भयो, ‘भाई को हो यो ।’ मैले चिन्दिन भने । त्यसपछि उहाँले छाड मेरो भाईलाई भनेर त्यसलाई गाली गर्नु भयो । त्यो मानिस दौड्दै भाग्यो । दाई पनि त्यसलाई पछ्याउँदै हुनुहुन्थ्यो । ठीक त्यही समयमा एउटा भ्यान आयो । भ्यानले त्यसलाई देख्ने बित्तिकै रोक्यो र त्यो मान्छे त्यसमा चढेर गयो ।
दाईले मलाई गाली गर्दै भन्नुभयो, ‘नचिनेको मान्छेसँग यसरी किन बसेको । मैले नदेकेको भए यही भ्यानमा हालेर लगेर बेच्थ्यो तिमीलाई । पहिले पनि तिमी जस्तैलाई बेचिसेका छन् यस्तै मान्छेले ।’ आदि आदि सबै याद छैन अहिलेसम्म मलाई । मैले कसरी मूल्याङकन गर्ने त्यस समयमा त्यो मेरो बाध्यता थियो, बुझ्ने पनि कस्ले । तर, अहिले सम्झदा याद आउँछ जोडजोडले कराएको भए के हुन्थ्यो म । हुन त कराउ पनि कसरी, कुन आधारमा मलाई के थाहाँ कि उसले मलाई बेच्न लग्दै थियो भन्ने । यात कतै लगेर के गर्थ्यो यात गराउँथ्यो यात अपहरण न पो गर्दै थियो कि । त्यसपछि म घर आए । आँखाभरी आँसु थियो मेरो । घरमा आएर रुदै भन्न थाले म अब स्कुल जान्न । मेरो घर दाङ हो त्यसैले म आफूलाई दाङ पठाइदिन आग्रह गर्दै थिए । के भयो भनि सोध्दै हुनुहुन्थ्यो दिदी तर म के भन्ने मलाई नै थाहाँ थिएन । म केबल रोइरहेको थिए । अनि भन्दै थिए साईकल नभइ अब म पढ्न जान्न । यस्तै यस्तै केके भने मैले मलाई नै याद छैन अहिलेसम्म ।
धेरैपछि मैले सबै कुरा भने । दिदी जसले मलाई असाध्यै माया गर्नुहुन्थ्यो र अहिले पनि गर्नूहुन्छ । मेरो यो कुरा सुनेर उहाँको आँखा पनि रसाय । अनि मलाई अंगालोमा लिएर रुनु भयो उहाँ पनि । मलाई केही राहत मिल्यो र मेरो धड्कन केही कम भयो त्यसपछि ।
अनि अर्को दिनदेखि म त्यो बाटो कहिल्यै हिडेर गइन । त्यो बाटोे हिड्दा डर पनि लाग्ने गर्दथ्यो । पछिसम्म पनि मलाई याद आइरह्यो त्यो मान्छे र त्यो बाटो । साँच्चि म झन्डै बेचिएको मान्छे हुँ । तर बाँचे म । त्यो दाईलाई म कहिल्यै भुल्न सक्दिन । जसले मलाई नयाँ जीवन दियो । त्यसपछि म दिदीकोमा लामो । परिक्षमा राम्रो अंक आउँदा आउँदै पनि म दाङ गए । यो कुरा आमालाई तत्काल भनिएन तर पछि थाहाँ पाउँदा उहाँ पनि चिन्तित देखिनु भयो र मलाई सुधार्ने सपना छाडेर आफूसँगै राख्ने निर्णय लिनुभयो ।
0 comments:
Post a Comment